विकासन्युज

बाढीपीडितको सहयोगार्थ सिद्धार्थ क्यापिटलको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । भोटेकोशीलगायत नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित नागरिकको उपचारमा सहयोग पु‍र्याउने उद्देश्यले सिद्धार्थ क्यापिटलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बाढीका कारण मानवीय तथा भौतिक क्षति भएपछि प्रभावितको उपचारमा आवश्यक रगतको अभाव हुन नदिन सिद्धार्थ क्यापिटलले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँगको समन्वयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सिद्धार्थ क्यापिटल लिमिटेडका कर्मचारी, सिद्धार्थ बैंक लिमिटेडका कर्मचारी, विभिन्न मर्चेन्ट बैंकका कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दिप कार्कीले विपद्को समयमा आवश्यक रगतको अभाव हुन नदिन तथा बाढीबाट प्रभावित नागरिकको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता तथा सहयोगीप्रति सिद्धार्थ क्यापिटलले आभार व्यक्तसमेत गरेको छ । 

पत्रकार थामीको खोजी गर्न परिवारको आग्रह

काठमाडौं । नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी केरुङबाट ‘सम्पर्कविहीन’ भएका छन् । बुधबार बिहानबाट सम्पर्कमा नरहेको थामीकी श्रीमती पत्रकार कालिका खड्काले जानकारी दिइन् । महासंघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका थामी गत सोमबार अफिसबाट चार दिनका लागि बिदा लिएर केरुङ हुँदै तिब्बततर्फ गएका थिए । थामी केरुङबाट तिब्बततिर जाने क्रममा सम्पर्कविहीन बनेका हुन् । कालिका भने राससमा कार्यरत छिन् । उनीहरू दुवै जना लामो समयदेखि पत्रकारीतामा आबद्ध छन् । त्यसैगरी, नुवाकोट विदुर- ७ का पत्रकार निराजन पौडेलका परिवारका ५ जना सदस्य सम्पर्कविहीन भएको महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । पौडेलका बुबा, आमा, काका, काकी र बहिनी सम्पर्कविहीन भएको पत्रकार पौडेलले जानकारी गराएका हुन् । उनीहरूको खोज(उद्धारका लागि महासंघले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

गोर्खा ब्रुअरीले बाढीपीडितका लागि दियो १० करोड रुपैयाँ

काठमाडौं । रसुवालगायत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ नगद सहयोग गरेको छ । गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हुने सहयोग रकम एकद्वार प्रणालीमार्फत परिचालन गर्ने व्यवस्था गरिएको छ । सोहीअनुसार अर्थमन्त्री वाग्लेले सहयोग रकम बुझ्न थालेका हुन् ।

प्रधानमन्त्री राहत कोषमा राष्ट्र बैंक कर्मचारी संघले दियो १ लाख ५१ हजार

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार १५१ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । संघले बिहीबार जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासीका नदी तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले बाढीमा ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकको शीघ्र खोजी, प्रभावित परिवारको उद्धार र राहतका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ । साथै विपद्को कठिन घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र सहानुभूति व्यक्त गरेको छ । विज्ञप्तिमा बाढीबाट बैंक, बीमा, वित्तीय संस्थालगायत विभिन्न निकायका कार्यालय, कर्मचारी र उनीहरूका परिवार प्रभावित भएको उल्लेख गर्दै प्रभावित नागरिकका लागि खाद्यान्न, स्वास्थ्य सामग्री, लत्ताकपडा तथा अन्य अत्यावश्यक वस्तुको व्यवस्था गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न राज्यका निकायलाई प्रभावकारी रूपमा परिचालन गर्न माग गरिएको छ । संघले प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले राहत र उद्धार कार्यलाई तीव्र बनाइरहेको सन्दर्भमा त्यस अभियानमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार १५१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रामहरि घिमिरे र महासचिव कृष्णप्रसाद खरालले विपद्मा ज्यान गुमाउनेहरूप्रति पुनः श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै विपद्को यस कठिन घडीमा सम्पूर्ण नेपालीलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पनि संघले अपिल गरेको छ ।

वार्षिकोत्सवमा नेपाल लाइफले गर्‍यो ६३७ उत्कृष्ट अभिकर्ता र एजेन्सी म्यानेजरलाई सम्मान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरेको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६’ कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका ६३७ अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।  भदौ ३ गतेदेखि दरबारमार्गस्थित होटल याक एण्ड यतीमा ‘एभरेस्ट इयर– क्लाउड्स एन्ड बियोन्ड’ मूल नारासहित आयोजना गरिएको कार्यक्रममा कम्पनीका सञ्चालकहरू कमलेशकुमार अग्रवाल, विमलप्रसाद ढकाल, प्रवीणप्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।  कार्यक्रममा सञ्चालक कमलेशकुमार अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा उद्योगमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताए । उनले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको जानकारी दिए ।  सञ्चालक विमलप्रसाद ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन, नियामकीय व्यवस्था तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रावधानको पूर्ण पालना गर्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिए । कम्पनीको दीर्घकालीन सफलताको आधार विश्वास, पारदर्शिता र व्यावसायिक नैतिकता रहेको उनको भनाइ थियो ।  प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ लाई कम्पनीका लागि ऐतिहासिक वर्ष भएको उल्लेख गर्दै आगामी दिनमा डिजिटल रूपान्तरणलाई तीव्र बनाउने घोषणा गरे । ग्राहकमैत्री डिजिटल सेवा, तथ्यांकमा आधारित निर्णय प्रणाली र व्यावसायिक प्रक्रिया स्वचालनमार्फत ग्राहक अनुभव अझ प्रभावकारी बनाइने उनले बताए ।  कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई पदक, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । साथै नेपालभर उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई विशेष सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ ।  नेपाल लाइफले २५ वर्षको अवधिमा जीवन बीमा कोष २८५ अर्ब रुपैयाँ पुर्‍याएको, मृत्युदाबी भुक्तानी दर ९९.१३ प्रतिशत कायम गरेको र हालसम्म ५५.७९ लाखभन्दा बढी बीमा पोलिसी जारी गरेको जनाएको छ । कम्पनीले हालसम्म ३६२ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेको तथा नेपाल सरकारलाई १७.७१ अर्ब रुपैयाँ कर तिरेको उल्लेख गरेको छ ।   

रसुवा बाढीः २ सय ५८ जनाको शव फेला, ९ सय १० सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म २ सय ५८ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीवार दिउँसो २ बजेसम्म देशभर २ सय ५८ जनाको शव फेला परेको हो ।  यस्तै, ९ सय १० जना सम्पर्कविहीन रहेको उनले जानकारी दिइन् ।  उनका अनुसार चितवनमा सबैभन्दा धेरै १ सय ८ वटा शव फेला परेका छन् ।  नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोट र तनहुँमा १२–१२, तथा रसुवामा २ वटा शव फेला परेको उनले जानकारी दिइन् । यस्तै, नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छन् ।   रसुवाका अन्य १६१ जना नागरिक र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको तथ्यांक प्राप्त भएको उनले जानकारी दिइन् । उनका अनुसार बाढीका कारण ३५ देशका ५ सय १७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ । नेपाल घुम्न आएका तर विदेशमा बसोबास गर्ने १ सय २७ जना नेपाली पनि सम्पर्कविहीन रहेको उनले जानकारी दिइन् । उनका अनुसार खोज तथा उद्धारका लागि नेपालका तीनवटै सुरक्षा निकायबाट ९ हजार २६० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।  नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका ४ हजार २ सय र सशस्त्र प्रहरी बलका १ हजार ७४२ जना सुरक्षाकर्मी फिल्डमा खटिएका छन् ।  प्रवक्ता महतका अनुसार बिहीबार दिउँसो २ बजेसम्म हेलिकप्टरमार्फत ३ सय ५१ जना प्रभावितको उद्धार गरिएको छ ।  उद्धारका लागि बिहीबार मात्रै ६९ वटा हवाई उडान भएको उनले जानकारी दिइन् । उद्धार गरिएकामध्ये ४६ जना विदेशी नागरिक समेत रहेका छन् ।  प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । –न्युज एजेन्सी नेपाल

बाढी प्रभावितका लागि आइएमई लाइफको १ करोड सहयोग

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढी र डुबानका कारण सयौं नागरिकको ज्यान गएको, कैयौं बेपत्ता भएको तथा बस्ती र पूर्वाधारमा ठूलो क्षति पुग्दा सयौं परिवार विस्थापित हुनुपरेको उल्लेख गर्दै कम्पनीले प्रभावित नागरिकप्रति हार्दिक सहानुभूति व्यक्त गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराइने १ करोड रुपैयाँ नेपाल सरकारमार्फत उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका कार्यमा परिचालन गरिने कम्पनीले जनाएको छ । कम्पनीले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी र राष्ट्रिय संकटका बेला सहयोग गर्दै आएको उल्लेख गर्दै यसपटकको सहयोगले प्रभावित क्षेत्रको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनर्स्थापनामा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । आइएमई लाइफले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै बेपत्ता नागरिकको शीघ्र खोजी, घाइतेहरूको स्वास्थ्यलाभ र उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा सुचारु गर्न जेनेरेटर र प्राविधिक टोली परिचालन

काठमाडौं । बाढीका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा सुचारु गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेनेरेटर, इन्धन तथा प्राविधिक जनशक्ति परिचालन गरेको छ । रसुवाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर तथा ब्याट्री पठाएर आसपासका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा पुनः सञ्चालन गरिएको छ । त्यस्तै, धुन्चेमा जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरी सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ।  नुवाकोट र धादिङका मदनपुर, बट्टार, विदुर बसपार्क तथा बैरेनी–ठमेल डाँडालगायतका क्षेत्रमा पनि जेनेरेटर, इन्धन तथा प्राविधिक जनशक्ति परिचालन गरी सेवा सुचारु गर्ने काम जारी रहेको छ। महत्त्वपूर्ण दूरसञ्चार साइटहरूमा सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जेनेरेटर, इन्धन र कर्मचारीको व्यवस्था गरिएको छ।  साथै सञ्चालनमा रहेका मोबाइल नेटवर्क टावरमा नेटवर्क पहुँच, क्षमता वृद्धि तथा नेटवर्क व्यवस्थापन तथा सुधार गरी सेवा थप प्रभावकारी बनाइएको छ। यसैबीच बाढी तथा पहिरोबाट प्रभावित सेवाग्राहीलाई उपलब्ध गराइएको निःशुल्क दूरसञ्चार सुविधाको अवधि थप तीन दिन बढाइएको छ।  अब भदौ १२, १३ र १४ गतेसम्म प्रभावित क्षेत्रमा फोन कल निःशुल्क हुनुका साथै प्रतिदिन २ जीबी डेटा इन्टरनेट र ५० वटा एसएमएस निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको छ। विपद्का कारण सञ्चार सम्पर्क प्रभावित भएका क्षेत्रमा उद्धार, राहत तथा समन्वयका लागि दूरसञ्चार सेवा महत्वपूर्ण हुने भएकाले नेटवर्कलाई यथाशीघ्र पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।