काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म २ सय ५८ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीवार दिउँसो २ बजेसम्म देशभर २ सय ५८ जनाको शव फेला परेको हो ।
यस्तै, ९ सय १० जना सम्पर्कविहीन रहेको उनले जानकारी दिइन् ।
उनका अनुसार चितवनमा सबैभन्दा धेरै १ सय ८ वटा शव फेला परेका छन् ।
नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोट र तनहुँमा १२–१२, तथा रसुवामा २ वटा शव फेला परेको उनले जानकारी दिइन् ।
यस्तै, नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छन् ।
रसुवाका अन्य १६१ जना नागरिक र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको तथ्यांक प्राप्त भएको उनले जानकारी दिइन् ।
उनका अनुसार बाढीका कारण ३५ देशका ५ सय १७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ । नेपाल घुम्न आएका तर विदेशमा बसोबास गर्ने १ सय २७ जना नेपाली पनि सम्पर्कविहीन रहेको उनले जानकारी दिइन् ।
उनका अनुसार खोज तथा उद्धारका लागि नेपालका तीनवटै सुरक्षा निकायबाट ९ हजार २६० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका ४ हजार २ सय र सशस्त्र प्रहरी बलका १ हजार ७४२ जना सुरक्षाकर्मी फिल्डमा खटिएका छन् ।
प्रवक्ता महतका अनुसार बिहीबार दिउँसो २ बजेसम्म हेलिकप्टरमार्फत ३ सय ५१ जना प्रभावितको उद्धार गरिएको छ ।
उद्धारका लागि बिहीबार मात्रै ६९ वटा हवाई उडान भएको उनले जानकारी दिइन् । उद्धार गरिएकामध्ये ४६ जना विदेशी नागरिक समेत रहेका छन् ।
प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । –न्युज एजेन्सी नेपाल