काठमाडौं । बाढीका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा सुचारु गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेनेरेटर, इन्धन तथा प्राविधिक जनशक्ति परिचालन गरेको छ ।
रसुवाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर तथा ब्याट्री पठाएर आसपासका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा पुनः सञ्चालन गरिएको छ ।
त्यस्तै, धुन्चेमा जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरी सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ।
नुवाकोट र धादिङका मदनपुर, बट्टार, विदुर बसपार्क तथा बैरेनी–ठमेल डाँडालगायतका क्षेत्रमा पनि जेनेरेटर, इन्धन तथा प्राविधिक जनशक्ति परिचालन गरी सेवा सुचारु गर्ने काम जारी रहेको छ।
महत्त्वपूर्ण दूरसञ्चार साइटहरूमा सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जेनेरेटर, इन्धन र कर्मचारीको व्यवस्था गरिएको छ।
साथै सञ्चालनमा रहेका मोबाइल नेटवर्क टावरमा नेटवर्क पहुँच, क्षमता वृद्धि तथा नेटवर्क व्यवस्थापन तथा सुधार गरी सेवा थप प्रभावकारी बनाइएको छ।
यसैबीच बाढी तथा पहिरोबाट प्रभावित सेवाग्राहीलाई उपलब्ध गराइएको निःशुल्क दूरसञ्चार सुविधाको अवधि थप तीन दिन बढाइएको छ।
अब भदौ १२, १३ र १४ गतेसम्म प्रभावित क्षेत्रमा फोन कल निःशुल्क हुनुका साथै प्रतिदिन २ जीबी डेटा इन्टरनेट र ५० वटा एसएमएस निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको छ।
विपद्का कारण सञ्चार सम्पर्क प्रभावित भएका क्षेत्रमा उद्धार, राहत तथा समन्वयका लागि दूरसञ्चार सेवा महत्वपूर्ण हुने भएकाले नेटवर्कलाई यथाशीघ्र पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।