वार्षिकोत्सवमा नेपाल लाइफले गर्‍यो ६३७ उत्कृष्ट अभिकर्ता र एजेन्सी म्यानेजरलाई सम्मान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरेको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६’ कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका ६३७ अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । 

भदौ ३ गतेदेखि दरबारमार्गस्थित होटल याक एण्ड यतीमा ‘एभरेस्ट इयर– क्लाउड्स एन्ड बियोन्ड’ मूल नारासहित आयोजना गरिएको कार्यक्रममा कम्पनीका सञ्चालकहरू कमलेशकुमार अग्रवाल, विमलप्रसाद ढकाल, प्रवीणप्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । 

कार्यक्रममा सञ्चालक कमलेशकुमार अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा उद्योगमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताए । उनले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको जानकारी दिए । 

सञ्चालक विमलप्रसाद ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन, नियामकीय व्यवस्था तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रावधानको पूर्ण पालना गर्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिए । कम्पनीको दीर्घकालीन सफलताको आधार विश्वास, पारदर्शिता र व्यावसायिक नैतिकता रहेको उनको भनाइ थियो । 

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ लाई कम्पनीका लागि ऐतिहासिक वर्ष भएको उल्लेख गर्दै आगामी दिनमा डिजिटल रूपान्तरणलाई तीव्र बनाउने घोषणा गरे । ग्राहकमैत्री डिजिटल सेवा, तथ्यांकमा आधारित निर्णय प्रणाली र व्यावसायिक प्रक्रिया स्वचालनमार्फत ग्राहक अनुभव अझ प्रभावकारी बनाइने उनले बताए । 

कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई पदक, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । साथै नेपालभर उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई विशेष सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ । 

नेपाल लाइफले २५ वर्षको अवधिमा जीवन बीमा कोष २८५ अर्ब रुपैयाँ पुर्याएको, मृत्युदाबी भुक्तानी दर ९९.१३ प्रतिशत कायम गरेको र हालसम्म ५५.७९ लाखभन्दा बढी बीमा पोलिसी जारी गरेको जनाएको छ । कम्पनीले हालसम्म ३६२ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेको तथा नेपाल सरकारलाई १७.७१ अर्ब रुपैयाँ कर तिरेको उल्लेख गरेको छ ।   

Share News