बाढी प्रभावितका लागि आइएमई लाइफको १ करोड सहयोग

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

बाढी र डुबानका कारण सयौं नागरिकको ज्यान गएको, कैयौं बेपत्ता भएको तथा बस्ती र पूर्वाधारमा ठूलो क्षति पुग्दा सयौं परिवार विस्थापित हुनुपरेको उल्लेख गर्दै कम्पनीले प्रभावित नागरिकप्रति हार्दिक सहानुभूति व्यक्त गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराइने १ करोड रुपैयाँ नेपाल सरकारमार्फत उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका कार्यमा परिचालन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी र राष्ट्रिय संकटका बेला सहयोग गर्दै आएको उल्लेख गर्दै यसपटकको सहयोगले प्रभावित क्षेत्रको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनर्स्थापनामा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

आइएमई लाइफले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै बेपत्ता नागरिकको शीघ्र खोजी, घाइतेहरूको स्वास्थ्यलाभ र उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।

Share News