बाढीमा फसेका ११७ पर्यटकको उद्धार
काठमाडौं । बाढीका कारण विभिन्न स्थानमा फसेका ११७ जना पर्यटकको उद्धार गरिएको छ । बुधबार भोटेकोसी नदीमा आएको भीषण बाढीले अलपत्र परेका पर्यटकलाई सम्बन्धित सुरक्षा निकाय तथा स्थानीयको समन्वयमा उद्धार गरिएको हो । नेपाल पर्यटन बाेर्डका अनुसार उद्धार गरिएका पर्यटकहरूमा ८५ जना भारतीय नागरिक, ९ जना दक्षिण कोरियाका, १६ जना चीनका र २ जना इटलीका र ३ जना अन्य विदेशी नागरिक रहेका छन् । बाढीका कारण पर्यटकको आवागमन प्रभावित भएपछि सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन तथा आवश्यकताअनुसार उद्धारका लागि सम्पर्क गर्न आग्रह गरेको छ । पछिल्लो अपडेटअनुसार बाढीका कारण ६ सय भन्दा बढी पर्यटक सम्पर्कविहीन छन् ।
रसुवागढी जलविद्युत केन्द्रमा फसेका ४ कर्मचारीको सकुशल उद्धार
काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ । प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालेको हो । उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन् । यसैबीच, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धारका लागि आवश्यक तयारी अघि बढाइएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको जनाइएको छ । यता, बाढीबाट प्रभावित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारका लागि ‘डेडिकेटेड हेलिकप्टर’ परिचालन गरिएको छ । टनेलभित्र रहेका व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहितको टोली आयोजनातर्फ पठाइएको छ । माथिल्लो त्रिशुलि ३ ए (६० मेगावाट), जलविद्युत केन्द्रको मर्मतको क्रममा फसेका कर्मचारीहरूको पनि उद्धार सुरु भएको छ । उक्त अण्डरग्राउण्ड पावर हाउस भित्र जाने केबल टनेलको पुरिएको मुख खोल्न नेपाली सेना र दक्ष जनशक्ति सहित उत्खनन कार्यमा आवश्यक उपकरणहरू प्रयोग गरी तीव्र रूपमा काम भइरहेको छ। प्रतिकूल मौसमका कारण उद्धारमा केही ढिलाइ भए पनि जोखिममा रहेका व्यक्तिको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। प्रभावित जलविद्युत् आयोजनामा आवश्यक जनशक्ति, उपकरण तथा उद्धार सामग्री परिचालन गरी उद्धार अभियानलाई निरन्तरता दिइएको ऊर्जा मन्त्रालयले जनाएकाे छ ।
नुवाकोटमा ९० प्रतिशत विद्युत् पुनःस्थापना, रसुवामा शनिबारसम्म बिजुली बाल्ने तयारी
काठमाडौं । भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेका रसुवा र नुवाकोट क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले तीव्र गतिमा विद्युत् पुनःस्थापनाको काम अघि बढाएको छ । बाढीले विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुर्याउँदा ४३० मेगावाटभन्दा बढी बिजुली राष्ट्रिय प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले देशैभरको लोड व्यवस्थापन गर्न सफल भएको जनाएको छ । बाढीबाट प्रभावित क्षेत्रमध्ये नुवाकोटमा वैकल्पिक व्यवस्था मिलाएर बिहीबार दिउँसोसम्ममै करिब ९० प्रतिशत विद्युत् प्रवाह पुनःसञ्चालन भइसकेको छ । त्रिशूली पारिको क्षेत्रमा बाटो र पुल बगेर सञ्चार तथा पहुँच विच्छेद भए पनि धादिङको सल्यानटारबाट फिड गराएर बिजुली पुर्याइसकिएको प्राधिकरणले जनाएको छ । यसैबीच, पूर्ण रूपमा विद्युत्विहीन बनेको रसुवाको धुन्चे र आसपासका क्षेत्रमा भने शनिबारसम्म बिजुली बाल्ने लक्ष्यका साथ प्राधिकरणले प्राविधिक टोली खटाएर अनेक विकल्पमा अध्ययन थालेको बताएको छ । प्राधिकरणका अनुसार बेत्रावती क्षेत्र वरपर ५ देखि ७ वटा टावरहरू बगेकाले सडकमार्ग खुल्नेबित्तिकै ६६ केभीए लाइनमार्फत चिलिमे-त्रिशूली संरचना प्रयोग गर्ने पहिलो विकल्प राखिएको छ । यस्तै, साञ्जेन पावर हाउसलाई आइसोलेटेड मोडमा चलाएर हाकु क्षेत्रमा एयरलिफ्ट गरी १० वटा पोल जोड्ने वा नुवाकोटबाटै खोलाको किनारैकिनार एउटा फिडर रसुवातर्फ लैजाने अन्य विकल्पहरूमा पनि काम भइरहेको प्राधिकरणको भनाइ छ । शुक्रबार बिहानैदेखि प्राविधिक टोली गम्भीर अध्ययन र मर्मतमा खटिएकाले शनिबारसम्ममा रसुवामा पनि बिजुली पुनःस्थापना हुनेमा प्राधिकरण आशावादी छ ।
चीनको सिजाङमा पहिरो : उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो
काठमाडौं । चीनको दक्षिण-पश्चिमी क्षेत्र सिजाङ (तिब्बत) को केरुङ काउन्टीमा गएको विनाशकारी पहिरोपछि शुक्रबार उद्धार टोली अति प्रभावित क्षेत्रमा पुगेको छ । गत बुधवार गएको भीषण पहिरोका कारण सो क्षेत्रको भौगोलिक अवस्था नराम्ररी क्षतिग्रस्त भएको छ । उद्धारका क्रममा अग्नि नियन्त्रकहरूले डोरी, डुङ्गा र ड्रोनको प्रयोग गरी कठिन मार्गहरू पार गर्दै प्रभावित स्थलसम्म पहुँच पुर्याएका छन् । जटिल भूबनोट र ठूलो क्षतिका बाबजुद उद्धारकर्मीहरूले खोज तथा राहत कार्यलाई तीब्रता दिएका छन् ।
भोटेकोशी बाढीपीडितलाई नेपाल एसबीआई बैंकको राहत सहयोग
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहत सामग्री वितरण गरिएको बैंकले जनाएको छ । विपद्को कठिन घडीमा प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको हो । बैंकले यस पहलमार्फत सामाजिक उत्तरदायित्व र मानवीय कल्याणप्रतिको आफ्नो प्रतिबद्धता थप सशक्त बनाएको जनाएको छ । मानवीय सेवा, सहानुभूति तथा ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै प्राकृतिक विपद्बाट प्रभावित समुदायको पुनःस्थापना, पुनरुत्थान तथा समग्र कल्याणमा योगदान पुर्याउने बैंकले जनाएको छ । संकटको समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउन बैंक प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । नेपाल एसबीआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ इकाइ, ७ प्रादेशिक कार्यालय, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
सय किलोको दुई वटा ड्रोनबाट सुरुङमार्गमा फसेका कामदारलाई हेर्दैछौः अध्यक्ष तामाङ
काठमाडौं । रसुवाको हाइड्रोपावर भित्रको सुरुङमा फसेका कामदारलाई निकाल्न दुई वटा ड्रोन प्रयोग गरिने भएको छ । सय किलोको ड्रोन प्रयोग सुरुङमार्गको कामदारलाई उद्धार गर्न लागिएको हो । गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले सुरुङमार्गमा फसेका कामदारलाई उद्धार गर्न ड्रोन प्रयोग गर्न लागिएको जानकारी दिए । सुरुङबाट निकालेर हेलिकोप्टरबाट उद्धार गर्न लागिएको उनले बताए । सुरुङ भित्र फसेका कामदारको उद्धार कार्यमा पनि तीव्र रुपमा भइरहेको तामाङले बताए । हाइड्रोपावरको सुरुङमा फसेका कामदारलाई उद्धार गर्नुपर्ने मुख्य काम रहेको उनको भनाइ छ । ‘रसुवागढी हाइड्रोपावरमा फसेका कामदारलाई निकाल्न २ वटा ड्रोन प्रयोग गरिएको छ । सय किलोको ड्रोन प्रयोग गरिएको छ,’ अध्यक्ष तामाङले भने,’ दुई वटा हाइड्रोपावरमा मानिस फसेका छन् । चाइनिज हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरमा कामदार फसेका छन् ।‘ त्यसैगरी, रसुवागढीमा ११ बजेर ५२ सेकेण्डमा पुगेर आएको बाढी सानो रहेको उनको दाबी छ । 'सचेत भएर सुरक्षित स्थानमा बस्नुपर्छ,’ उनले विकासन्युजसँग टेलिफोन संवादमा भने,’ अहिले आत्तिनुपर्ने अवस्था आइसकेको छैन ।'
ग्लेसियर फुटेर लेदोसहितको पानी ओभरफ्लो, तत्काल छैन ठूलो जोखिम
काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमछेउमा बनेको ठूलो तालबाट ग्लेसियर फुटेको जानकारी प्राप्त भएको सरकारले जनाएको छ । यद्यपि, त्यसबाट तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले चीन सरकारसँग परराष्ट्र मन्त्रालयमार्फत निरन्तर संवाद भइरहेको र चिनियाँ पक्षबाट पनि तत्काल ठूलो जोखिम नरहेको जानकारी प्राप्त भइरहेको बताए । ‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ । त्यो संवादमा त्यस्तो ठूलो जोखिम नरहेको चीनतर्फबाट पनि आइरहेको छ । सतर्कमा बस्नका लागि सबै जनालाई आग्रह गर्न चाहन्छु,’ पोखरेलले भने । उनका अनुसार ड्याम फुटेको नभई ग्लेसियर फुटेका कारण विभिन्न स्थानमा लेदोसहितको पानी ओभरफ्लो भएको हो । ‘कतै ड्याम फुटेको भन्ने छैन । सामान्य ग्लेसियरहरू फुटेको हुनाले धेरै ठाउँमा पानी लेदोसहितको ओभरफ्लो भएको छ,’ उनले भने, ‘त्यस्तो ठूलो जोखिम तत्कालै देखिएको छैन, तर सतर्क हुनका लागि भने आवश्यक छ ।’
अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन कर्मचारीहरुलाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् व्यवस्थापन नहुन्जेलसम्म अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन कर्मचारीहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालय तथा मन्त्रालय मातहतका विभाग, अस्पताल, प्रतिष्ठानलगायतका निकायमा कार्यरत कर्मचारीलाई यस्तो निर्देशन दिएको हो । सार्वजनिक बिदा दिनसमेत कार्यालयमा उपस्थिति हुन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले ‘खोज, उद्धार तथा उपचारको सम्बन्धमा तोकिएका’ सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई बिदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरेको छ । त्यस्तै अन्य कर्मचारीलाई पनि आवश्यक सेवा प्रवाहका लागि तयारी अवस्थामा रहन भनेको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सार्वजनिक बिदाको दिनमा समेत बाढीपहिरो प्रभावित घाइतेहरुको उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्देशन दिएको ।