अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन कर्मचारीहरुलाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् व्यवस्थापन नहुन्जेलसम्म अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन कर्मचारीहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालय तथा मन्त्रालय मातहतका विभाग, अस्पताल, प्रतिष्ठानलगायतका निकायमा कार्यरत कर्मचारीलाई यस्तो निर्देशन दिएको हो । सार्वजनिक बिदा दिनसमेत कार्यालयमा उपस्थिति हुन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले ‘खोज, उद्धार तथा उपचारको सम्बन्धमा तोकिएका’ सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई बिदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरेको छ । त्यस्तै अन्य कर्मचारीलाई पनि आवश्यक सेवा प्रवाहका लागि तयारी अवस्थामा रहन भनेको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सार्वजनिक बिदाको दिनमा समेत बाढीपहिरो प्रभावित घाइतेहरुको उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्देशन दिएको ।
भर्खरै तिब्बतबाट आएको बाढी सानो छः अध्यक्ष तामाङ
काठमाडौं । शुक्रबार तिब्बतबाट आएको बाढी ठूलो नभएको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताएका छन् । 'रसुवागढीमा ११ बजेर ५२ सेकेण्डमा पुगेर आएको बाढी सानो छ , उनले विकासन्युजसँग टेलिफोन संवादमा भने,’ ठूलो बाढी नभएकाले अहिले आत्तिनुपर्ने अवस्था आइसकेको छैन । तर सचेत भएर सुरक्षित स्थानमा बस्नुपर्छ ।' उद्धार कार्यमा पनि तीव्र रुपमा भइरहेको उनले तामाङले बताए । हाइड्रोपावरको सुरुङमा फसेका कामदारलाई उद्धार गर्नुपर्ने मुख्य काम रहेको उनको भनाइ छ । 'रसुवागढी हाइड्रोपावरमा फसेका कामदारलाई निकाल्न २ वटा ड्रोन प्रयोग गरिएको छ । सय किलोको ड्रोन प्रयोग गरिएको छ,’ अध्यक्ष तामाङले भने,’ दुई वटा हाइड्रोपावरमा मानिस फसेका छन् । चाइनिज हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरमा कामदार फसेका छन् ।' बुधबार रसुवामा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । नुवाकोट र धादिङ लगायतका जिल्लामा समेत मानवीय र भौतिक क्षति गरेको छ ।
शव राख्ने ठाउँ नभएपछि कन्टेनर खोज्दै गृह मन्त्रालय
काठमाडौं । बाढीका कारण हालसम्म ३८९ जनाको शव फेला परिसकेको छ भने शव भेटिने क्रम अझै जारी छ । गृह मन्त्रालय स्रोतका अनुसार टाढासम्म शवहरू बगेर पुगेकाले खोजी कार्य जटिल बनिरहेका बेला चिस्यान गृह (कोल्ड स्टोरेज) को चरम अभावले शव व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ । मृतकहरूको पहिचानका लागि विस्तृत विवरण, तस्वीर तथा अन्य कानुनी प्रमाणहरू सुरक्षित गरेर मात्रै शव व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले तत्काल शव राख्ने ठाउँको समस्या जटिल बनेको हो । यस विषम परिस्थितिलाई सम्बोधन गर्न गृह मन्त्रालयले भन्सार विभाग र व्यवसायीहरुसँग रहेका कन्टेनरहरू शव राख्नका लागि (पछि फिर्ता गर्ने गरी) प्रयोग गर्ने विषयमा आवश्यक छलफल र तयारी अगाडि बढाएको स्रोतले जानकारी दिएको छ ।
४८९ जनाको शब फेला
काठमाडौं । रसुवा बाढी तथा पहिरोमा परी ८ जिल्लामा ४८९ जनाको शव फेला परेको छ । शुक्रबार १२ बजेसम्म नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी ४८९ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा ११२ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ । बाढी तथा पहिरोमा परी हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ । प्रहरीका अनुसार बाढी तथा पहिरोमा परी १ हजार ४७३ जना घाइते भएका छन् । घाइतेमध्ये रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेका छन् । यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ८७ रहेको प्रहरीले जनाएको छ। ।
बाढीपीडितको राहतका लागि मुक्तिनाथ विकास बैंकले दियो ५० लाख
काठमाडौं । मुक्तिनाथ विकास बैंकले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको जनाएको हो । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा समेत ठूलो असर पारेको बैंकले जनाएको छ । बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति बैंक परिवारले दुःख व्यक्त गरेको छ । बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको जनाएको छ । देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएको कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ । विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बैंकले गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
देशभर ६ सय शव राख्ने क्षमता, विपदमा चिस्यान केन्द्र नै अपुग
काठमाडौं । बाढी, पहिरो, भूकम्प वा अन्य ठूला विपदमा एकैपटक ठूलो संख्यामा मानवीय क्षति भए शव व्यवस्थापनका लागि देशभर रहेका चिस्यान केन्द्रको क्षमता पर्याप्त नहुने देखिएको छ । अस्पतालका शवगृहले धान्न नसक्ने अवस्था आएपछि सरकारले मालवाहक कन्टेनरलाई वैकल्पिक शव भण्डारणस्थलका रूपमा प्रयोग गर्ने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार देशभरका अस्पतालमा करिब ६ सय शव राख्न सकिने चिस्यान केन्द्र छन् । तर, उक्त क्षमता कागजमा देखिएजस्तो विपद्का बेला पूर्णरूपमा उपलब्ध हुँदैन । कतिपय शवगृहमा नियमित रूपमा शव रहने तथा कतिपय अस्पतालमा सीमित क्षमता मात्र भएकाले ठूलो विपदमा तत्काल प्रयोग गर्न सकिने बफर क्षमता निकै कम हुने डा. अधिकारीको भनाइ छ । ‘देशभर करिब ६ सय शव राख्न सकिने क्षमता छ । तर, ती सबै क्षमता एकैपटक उपलब्ध हुँदैनन्’, प्रवक्ता अधिकारीले भने । उनका अनुसार काठमाडौं उपत्यकाका अस्पतालमा मात्रै करिब ३०० शव राख्न सकिने क्षमता छ । तर ती क्षमता विभिन्न अस्पतालमा छरिएर रहेका छन् । त्यसमाथि अस्पतालका शवगृहमा नियमित रूपमा शव रहने भएकाले विपद्को समयमा नयाँ शव राख्न सक्ने वास्तविक क्षमता थप घट्न सक्छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा करिब १५० शव राख्न सकिने क्षमता रहेको मन्त्रालयको विवरण छ । त्यस्तै, पाटन अस्पतालमा २४ शव राख्न सकिन्छ । ‘ठूलो विपद्का बेला केही घण्टामै दर्जनौं वा सयौं शव थपिन सक्ने अवस्थामा भने यस्ता संरचनाले धान्न नसक्ने जोखिम देखिएकोले अहिले विकल्पमा छलफल भइरहेको छ,’ डा. अधिकारीले भने । शवगृह भरिएपछि कन्टेनर विकल्प अस्पतालका शवगृहले नधान्ने अवस्था आए वैकल्पिक व्यवस्थाका रूपमा मालवाहक कन्टेनर प्रयोग गर्नेबारे छलफल भइरहेको छ । ‘अहिले शव व्यवस्थापनकै विषयमा छलफल भइरहेको छ,’ प्रवक्ता अधिकारीले भने, ‘शव राख्न कन्टेनरहरू सबैभन्दा भरपर्दो साधन हुन सक्ने भएकाले अहिले कन्टेनर एक्सप्लोर गर्ने काम भइरहेको छ ।’ तर, सामान्य मालवाहक कन्टेनरलाई शवगृहका रूपमा प्रयोग गर्न भने पर्याप्त नहुने विज्ञहरूको बुझाइ छ । शव सुरक्षित राख्न आवश्यक तापक्रम कायम गर्न सक्ने रेफ्रिजेरेटेड कन्टेनर, निरन्तर विद्युत आपूर्ति वा वैकल्पिक ऊर्जा, सुरक्षा व्यवस्था, शवको पहिचान तथा अभिलेख प्रणाली र आफन्तलाई हस्तान्तरण गर्ने स्पष्ट कार्यविधि आवश्यक हुने भएकोले छलफल चलिरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । त्यसैले सरकारले कन्टेनर प्रयोग गर्दा त्यसलाई सामान्य भण्डारणस्थलका रूपमा नभई आवश्यक पूर्वाधारसहितको अस्थायी वा मोबाइल शवगृह प्रणालीका रूपमा विकास गर्नेवारेमा छलफल भइरहेको ती अधिकारीले बताए । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत ठूलो संख्यामा मृत्यु हुँदा शव व्यवस्थापन चुनौती बनेकोले व्यवस्थापनका विविध विषयमा छलफल भइरहेको बताउँछिन् । पछिल्ला विपद्का घटनामा पनि स्वास्थ्य संस्थाको क्षमताभन्दा बढी शव आएपछि व्यवस्थापनमा कठिनाइ देखिएको उनको भनाइ छ । चितवनमा हालै शवको संख्या बढेपछि त्यहाँका स्वास्थ्य संस्थाले प्रहरीलाई आफूहरूसँग अधिकतम ५० शवसम्म राख्न सक्ने क्षमता रहेको जानकारी दिएका थिए । यसले विपद्का बेला स्थानीय तहमा उपलब्ध शवगृहको वास्तविक क्षमता कति सीमित छ भन्ने देखाएकोले विकल्पमा छलफल आवस्यक भएको उनले बताइन् । सरकारले अघि सारेको कन्टेनर प्रयोगको योजना तत्कालका लागि व्यावहारिक विकल्प हुन सक्छ । तर यसलाई अस्पतालका स्थायी शवगृहको विकल्पका रूपमा नभई ठूला विपद्का लागि पूर्वतयारी अवस्थामा राखिने आपत्कालीन बफर प्रणालीका रूपमा विकास गर्नुपर्ने देखिन्छ । विपद् व्यवस्थापनको तयारी घाइतेको उपचार र जीवितको उद्धारमा मात्र सीमित नराखी मृतकको सम्मानजनक, सुरक्षित र व्यवस्थित व्यवस्थापनसम्म विस्तार गर्नुपर्ने आवश्यकता पछिल््ला घटनाले देखाएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले जानकारी दिए । आपत विपतको अवस्थामा अल्पकालकालागी सरकारले कनटेनर माग्दा व्यवसायीले सहयोग गर्ने सिटौलाको भनाइ छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू:- नेपाल-चीन सीमा रसुवागढी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लाहरूमा क्षति पुगेका व्यक्ति तथा व्यवसायीक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज (बिजनेस रिकभरी प्याकेज) तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने । भारत सरकारसँग जीटूजी खरिद माध्यमबाट २५ हजार मेट्रिकटन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने । २०८३ भदौ १० गते नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्रिपरिषदका सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने ।
एनआईसी एशिया बैंकका तीन शाखामा क्षति, कर्मचारी सबै सुरक्षित
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बैंकले प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी सुरक्षित रहेको जनाएको छ । बैंकका अनुसार भदौ १० गते आएको भीषण बाढीका कारण रसुवास्थित स्याफ्रुबेशी शाखा र नुवाकोटस्थित बेत्रावती शाखा रहेको भवन बाढीले बगाएको छ । यस्तै, नुवाकोटकै त्रिशूली शाखा पूर्ण रूपमा क्षतिग्रस्त भई माटोले पुरिएको अवस्थामा पुगेको छ । तीनै शाखा कार्यालयमा ठूलो क्षति पुगेकाले अर्को व्यवस्था नभएसम्म ती शाखाबाट बैंकिङ सेवा सञ्चालन नहुने बैंकले जनाएको छ । बैंकले प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी हाल सुरक्षित स्थानमा रहेको जानकारी दिएको छ । आवश्यक परे कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारीसमेत गरिएको बैंकको भनाइ छ । एनआईसी एशिया बैंकले भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको बैंकले जनाएको छ । साथै, सम्पर्कविहीन रहेका नागरिकको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सबै निकायप्रति सम्मान व्यक्त गरेको छ ।