विकासन्युज

कैलाश यात्राबाट फर्किने विदेशीलाई हिल्सा नाका प्रयोग गर्न आग्रह

काठमाडौं । अध्यागमन विभागले कैलाश मानसरोवरबाट फर्कने विदेशीलाई हुम्लाको हिल्सा नाका हुँदै फर्कन  आग्रह गरेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण चीन प्रवेश गर्ने सडक, पुल तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेपछि कैलाश मानसरोवर तीर्थयात्राबाट फर्किने विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट नेपाल प्रवेश गर्न अध्यागमन विभागले सहजीकरण गरेको हो । बाढीका कारण रसुवागढी नाका हुँदै नेपाल फर्किने अवस्था नरहेकाले नेपाल–चीन सीमास्थित हुम्लाको हिल्सा नाकालाई वैकल्पिक रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको हो । अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ अनुसार हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा विदेशी नागरिकले निषेधित क्षेत्र प्रयोग गर्नुपर्ने तथा तोकिए बमोजिमको पदयात्रा दस्तुर तिर्नुपर्ने व्यवस्था छ। तर, विषम परिस्थितिलाई मध्यनजर गर्दै मानवीय सुरक्षालाई पहिलो प्राथमिकतामा राखी कैलाश मानसरोवर तीर्थयात्रीको सहज आवतजावत सुनिश्चित गर्न विशेष व्यवस्था गरिएको सम्बन्धित निकायले जनाएको छ। भदौ ११ गतेदेखि लागू हुने गरी एक हप्ताका लागि, रसुवास्थित अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिएर कैलाश मानसरोवर तीर्थयात्रामा गएका र फर्किने विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिनाहा गरिएको छ। त्यस्तै, उक्त अवधिमा सो क्षेत्रमा पदयात्रा अनुमति लिनका लागि विदेशी नागरिक तथा ट्रेकिङ गाइडको बीमा र ट्रेकिङ गाइडसम्बन्धी व्यवस्थालाई समेत अनिवार्य नगरिएको सूचनामा उल्लेख छ। बाढीबाट प्रभावित रसुवा नाका बन्दजस्तै भएपछि अलपत्र पर्न सक्ने तीर्थयात्रीको सुरक्षित र नेपाल फिर्तीका लागि यो सहज व्यवस्था गरिएको बताइएको छ ।

८७ वर्षीया राजी राणाले प्रधानमन्त्री राहत कोषमा गरिन् १ करोड ९ लाख सहयोग

काठमाडौं । ८७ वर्षीया राजी राणाले बाढी तथा विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख रुपैयाँ सहयोग गरेकी छन् । उक्त रकम व्यक्तिगततर्फबाट कोषमा प्राप्त हुने ठूलो सहयोगमध्ये एक हो । उक्त रकमको चेक राणाका सहयोगी कृष्ण बस्नेतले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई मन्त्रालयमा हस्तान्तरण गरे । राणाको सहयोगप्रति अर्थमन्त्री वाग्लेले धन्यवाद व्यक्त गरेका थिए । सो अवसरमा राणाको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि आफ्नो तर्फबाट ८० हजार रुपैयाँ सहयोग गरेका छन् ।  यसैगरी, राणाले २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सामग्री समेत सहयोग गर्ने तयारी गरेकी छन् ।  आवश्यकताका आधारमा अर्थ तथा गृह मन्त्रालयसँग समन्वय गरी विपद् प्रभावित क्षेत्रमा उक्त सहयोग उपलब्ध गराइने बस्नेतले जानकारी दिए ।

३ ब्रोकर कम्पनीको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । तीनवटा ब्रोकर कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्ने कम्पनीमा सनी सेक्युरिटिज, केबीएल सेक्युरिटिज र ग्लोबल आइएमई सेक्युरिटिज रहेका छन् । सनी सेक्युरिटिजले २५ प्रतिशत, केबीएल सेक्युरिटिजले ७.५ प्रतिशत र ग्लोबल आइएमई सेक्युरिटिजले ३.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  लाभांश प्रस्ताव पारित गर्न तीनै कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । सनी सेक्युरिटिजले असोज १ गते, केबीएल सेक्युरिटिजले असोज २ गते र ग्लोबल आइएमई सेक्युरिटिजले असोज ४ गते साधारण सभा गर्ने भएका छन् । तीनै कम्पनीको साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सनी सेक्युरिटिज र केबीएल सेक्युरिटिजको साधारण सभाले सञ्चालक नियुक्ति गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

‘रोड टु यूएफसी’को फाइनलमा रविन्द्र ढाँट

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी सिजन–५’ को फाइनलमा पुगेका छन् ।  चीनको सांघाईमा भएको प्रतिस्पर्धामा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै उनी फाइनल प्रवेश गरेका हुन् । तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् । उनले अब फाइनलमा र्यो ताजिमासँग खेल्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै ढाँटसँगकाे भेट पक्का गरेका हुन् ।  फाइनल जितेमा ढाँट युएफसीका लागि छनोट हुनेछन् । ढाँटले मकाउमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै टीकेओ (टेक्निकल नकआउट) मार्फत पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

इन्दु घिमिरे सचिवमा बढुवा, पहिलो पदस्थापनमै रक्षा मन्त्रालयको जिम्मेवारी

काठमाडौं । सरकारले वरिष्ठ सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा सिफारिस समितिको पहिलो नम्बरमा रहेकी घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार घिमिरेले सचिवमा बढुवा भएलगत्तै संघीय सरकारको महत्वपूर्ण मन्त्रालयमध्ये एक रक्षा मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्ने भएकी छन् । उनी यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत थिइन् । सरकारले रक्षा मन्त्रालयका वर्तमान सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णयसमेत गरेको छ । शर्माको सरुवापछि रक्षा मन्त्रालयमा रिक्त हुने सचिव पदमा नवनियुक्त सचिव घिमिरेलाई जिम्मेवारी दिइएको हो । गृह मन्त्रालयमा भने अनिवार्य अवकाशको समय नजिकिएका राजकुमार श्रेष्ठको स्थानमा शर्मालाई ल्याइएको हो । श्रेष्ठको अवकाश हुन केही दिन मात्रै बाँकी रहेकाले सरकारले गृह प्रशासनको नेतृत्वमा नयाँ सचिव पठाउने निर्णय गरेको हो । घिमिरेको पहिलो पदस्थापन नै संघीय सरकारको केन्द्रीय मन्त्रालयमा भएको छ । प्रशासनिक वृत्तमा सचिवमा बढुवा भएका अधिकारीलाई प्रारम्भिक चरणमा प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिने र प्रदेशमा निश्चित अवधि काम गरेपछि संघीय मन्त्रालयमा ल्याउने अभ्यास रहँदै आएको थियो । तर पछिल्ला वर्षहरूमा सचिव व्यवस्थापनमा उक्त परम्परागत अभ्यास कमजोर हुँदै गएको देखिन्छ । सचिव बढुवासँगै संघीय मन्त्रालयमै पदस्थापन गर्ने तथा अनुभवी सचिवहरूलाई प्रदेशमा पठाउने क्रमसमेत देखिएको छ । यसअघि पनि सचिव व्यवस्थापनका क्रममा वरिष्ठ सचिवहरूलाई प्रदेशका प्रमुख सचिवको जिम्मेवारी दिँदै दुर्गम प्रदेशसम्म पठाइएका उदाहरण छन् । पछिल्लो निर्णयले भने सचिव बढुवा र पदस्थापनमा सरकारले अपनाउँदै आएको नयाँ अभ्यासलाई थप स्पष्ट पारेको छ । घिमिरेलाई रक्षा मन्त्रालयमा पदस्थापन गर्ने निर्णयसँगै मन्त्रालयको प्रशासनिक नेतृत्वमा परिवर्तन आएको छ भने शर्मा गृह मन्त्रालयको नेतृत्वमा जाने भएका छन् । दुवै सचिवको सरुवा तथा पदस्थापनलाई प्रशासनिक नेतृत्व व्यवस्थापनअन्तर्गतको नियमित निर्णयका रूपमा हेरिएको छ ।

केरुङमा पहिरोपछि बढ्यो ब्यारियर लेकको त्रास, जोखिम हटाउन चीनलाई सकस

काठमाडौं । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) नाकामा गएको विनाशकारी पहिरोपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई शुक्रबारदेखि थप तिब्र पारिएको छ । समयसँग प्रतिष्पर्धा गर्दै उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन् । चीनको राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनकाअनुसार शुक्रबार बिहान १० बजेसम्म कुल ६ सय ८१ जना अग्नि नियन्त्रक तथा उद्धारकर्मी र ११३ वटा सवारी साधन विकट हिमाली क्षेत्रमा पुगेका छन् । यसका साथै ६ हजार ६१२ थान उद्धार उपकरण र आवश्यक बन्दोबस्तीका सामग्री जिरोङ गाउँतर्फ पठाइएको छ ।   नेपालतर्फबाट शुरु भएको पहिरो बुधवार बिहान जिरोङ काउन्टीको केरुङ नाकामा खसेको थियो । बिहीवार बिहान ८ बजेसम्मको प्राप्त विवरण अनुसार यस प्राकृतिक विपत्तिमा परी ३ जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन् । दुईजना स्थानीय बासिन्दालाई भने सुरक्षित रूपमा उद्धार गरिएको छ ।   उद्धार कार्यका लागि बिहीबार बिहान १४१ जना उद्धारकर्मीको पहिलो टोली र उच्च उचाईमा उडान भर्न सक्ने हेलिकप्टर घटनास्थलमा पुगेका थिए । सोही दिन अपराह्न चीनको विशेष खोज तथा उद्धार टोलीका थप १११ जना सदस्यहरू जिरोङ आइपुगेका छन् ।  उद्धार कार्यलाई प्रभावकारी बनाउन तीनवटा विशेष टोली परिचालन गरिएको छ । यी टोलीहरूले रबरको डुङ्गामार्फत जलमार्ग, पैदल मार्गबाट जटिल हिमाली भू–भाग र ड्रोनको माध्यमबाट हवाई निरीक्षणका साथै राहत सामग्री ढुवानी गरिरहेका छन् , एक अग्रिम टोलीले मुख्य विपद् क्षेत्रको म्यापिङ, निगरानी र पहिरोले थुनिएको नदी (ब्यारियर लेक) को अवस्थाबारे अध्ययन गरिरहेको छ । उद्धार प्रयासलाई प्राविधिक सहयोग पु¥याउन आपतकालीन व्यवस्थापन मन्त्रालय अन्तर्गतको साङ्घाई फायर रिसर्च इन्स्टिच्युटका १३ जना विज्ञहरू पनि घटनास्थल पुगेका छन् ।  यसैबीच, चीनको सरकारी स्वामित्वको इन्जिनियरिङ तथा उद्धार निकाय ‘चीन आनेन’ ले १५ सदस्यीय विशेषज्ञ टोली परिचालन गरेको छ । उक्त टोलीले ड्रोन, पोर्टेबल स्याटेलाइट स्टेशन र मोबाइल सर्भिलेन्स क्यामरामार्फत अवरुद्ध सडक र ब्यारियर लेकको अवस्थाको सूक्ष्म अध्ययन गरिरहेको छ ।  उद्धारकर्मीहरूका अनुसार नाकाभन्दा करिव ३ किलोमिटर माथिल्लो क्षेत्रमा थुप्रिएको लेदो र गेग्रान हटाउनुअघि ब्यारियर लेकबाट सिर्जना हुनसक्ने जोखिमलाई पूर्ण रूपमा न्युनिकरण गर्नु चुनौतीपूर्ण देखिएको छ ।  

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालले दियो १५ करोड रुपैयाँ

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ ।  शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो । यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी एवं महाप्रबन्धक प्रेम अर्यालले उक्त रकमको चेक हस्तान्तरण गरे ।

नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप अफवाहमात्र होः रेग्मी

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. धनञ्जय रेग्मीले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीको सन्दर्भमा चीनले नेपाली पक्षलाई समयमै पूर्वसूचना नदिएको आरोप ‘मिथ्या’ र ‘अफवाह’ भएको बताएका छन् । शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  उनले चीन र नेपालबीचको सुमधुर सम्बन्ध नै बिग्रने गरी ‘र्‍युमर’ फैलाइएको बताए । सांसद रेग्मीले प्राकृतिक रूपमा हिमालय क्षेत्रमा हुने हिमपहिरो, चट्टान खस्ने तथा हिमताल फुट्ने घटनाको ठ्याक्कै समय र स्थानबारे पूर्वसूचना दिन सम्भव हुने बताए ।  उनले निरन्तर निगरानी हुने सगरमाथा हिमालमा समेत पर्यटक र पथप्रदर्शकलाई जोगाउन नसकिएको उल्लेख गर्दै निगरानी नै नभएको हिमालयमा कुन ठाउँमा के घटना हुन्छ ? भन्ने सूचना प्रदान गर्न नसकिने बताए।  रेग्मीले बाढीका सम्बन्धमा चीनसँग पूर्वसूचना भएपनि नेपाललाई नदिएको भन्ने आरोप लगाएर दुई देशबीचको सुमधुर सम्बन्ध बिगार्न नहुने कुरामा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।  उनले सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना र अफवाह फैलाउने कार्य भइरहेको भन्दै जिम्मेवार बन्न समेत आग्रह गरे ।  उनले विगतमा नेपालमै भएका कयौं प्राकृतिक विपद्का घटनाको उदाहरण दिँदै यस्ता घटनामा पूर्वसूचना प्रदान गर्न सम्भव नहुने बताए ।  उनले हिमनदी, हिमताल र प्राकृतिक विपद्सम्बन्धी विषयमा जथाभावी टिप्पणी नगरी ग्ल्यासियोलोजी तथा सम्बन्धित विषयका विज्ञसँग मात्र धारणा लिनसमेत सञ्चारमाध्यमहरुलाई आग्रह गरे ।