सरकारको बाढी प्रभावित क्षेत्रमा ९ करोड बढी रकम निकासा
काठमाडौं । सरकारले बाढी प्रभावित जिल्ला र स्थानीय तहलाई हालसम्म ९ करोड २५ लाख रुपैयाँ निकासी गरेको छ । रसुवा, नुवाकोट र धादिङसहित विभिन्न स्थानीय तहमा रकम निकासी गरिसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणका अनुसार हालसम्म ९ करोड २५ लाख रुपैयाँ निकासी भएको छ । रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ निकासी गरिएको छ । प्राधीकरणले बाढी प्रभावित १५ स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ निकासी भइसकेको जनाएको छ । ३७ ट्रक र ३५ वटा बोलेरो मार्फत खाद्य र अखाद्य सामग्री पठाइसकेको छ । आठ हेलिकोप्टरको उडानबाट खाद्य तथा अखाद्य सामग्री पठाएको प्राधीकरणले जनाएको छ । शनिवार २ टन उत्तरगया र बेत्रावती गाउँपालिकामा खाद्य अखाद्य सामग्री पठाइएको प्राधीकरणले उल्लेख गरेको छ । आइतबार ५ वटा पोर्टेबल जेनेरेटरसहित खाद्य, अखाद्यसहित औषधिजन्य सामग्री पठाइएको प्राधीकरणले बताएको छ। नुवाकोटमा १६ वटा सवारीसाधनसहित र हेलिकोप्टर परिचालन गरेर सामग्री वितरण गरिएको छ । गत बुधबार बिहान आएको बाढीले रसुवाको बाढीले ठूलो जनधनको क्षति गरेको छ । रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतको क्षेत्रमा बाढीले असर गरेको छ । प्राधीकरणका अनुसार ७ हजार ८९४ नेपाल प्रहरी, नेपाली सेना ८ हजार ७२२ र शसस्त्र प्रहरी बल नेपाल ४ हजार २ सय ३ जना प्रहरी परिचालन गरिएको छ । हालसम्म रसुवा लगायतका विभिन्न स्थानबाट ९ सय बढी शव फेला परेको छ ।
डिभाइन हेल्थकेयरले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा भएको हो । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ । कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुसान्त मुरारका तथा सञ्चालकहरू मनोज केसी र विनय तोदीको समेत उपस्थिति थियो । वि.सं. २०७४ सालमा स्थापना भएको डिभाइन हेल्थकेयर भरतपुर महानगरपालिका–१६, विजय नगर, चितवनमा अवस्थित औषधि उत्पादक कम्पनी हो । कम्पनीले औषधि व्यवस्था विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उत्पादन र बजारीकरणसम्बन्धी आवश्यक दर्ता तथा स्वीकृति प्राप्त गरेको जनाएको छ । कम्पनीले हाल ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीका विभिन्न औषधि बजारमा उल्लेख्य मात्रामा बिक्री–वितरण हुँदै आएका छन् । कम्पनीले आगामी माघदेखि मिर्गौला रोगीका लागि आवश्यक पर्ने केही औषधिको उत्पादनसमेत सुरु गर्ने तयारी गरेको जनाएको छ । करिब एक बिघा क्षेत्रफलमा फैलिएको कम्पनी विगत तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको दाबी गरेको छ । कम्पनीका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्य रूपमा स्वपुँजीबाट व्यवसाय सञ्चालन हुँदै आएको छ । कम्पनीको देशभर १२५ भन्दा बढी वितरक रहेको जनाएको छ । आईपीओ निष्कासनबाट प्राप्त हुने पुँजीलाई नयाँ प्रविधिको विस्तार, नयाँ औषधिको विकास तथा विद्यमान औषधिको गुणस्तर सुधारमा उपयोग गर्ने कम्पनीको योजना छ । साथै, उत्पादन प्रक्रियालाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन अनुसन्धान तथा विकासमा समेत पुँजी परिचालन गर्ने कम्पनीले जनाएको छ ।
बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग लिए ब्रिफिङ
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट समाधानका लागि सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गरिरहेका छन् । प्रधानमन्त्री शाहले सोमबार (आज) प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी हालसम्म भएका खोज, उद्धार, राहत तथा समग्र व्यवस्थापनका प्रयासबारे विस्तृत ब्रिफिङ लिएका छन् । त्यसपछि शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यबारे जानकारी लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै, प्रधानमन्त्री शाहले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि ब्रिफिङ लिने कार्यक्रम रहेको छ ।
‘गोरखामा पहिरो गए पनि बाढी थुनिएको छैन ’
काठमाडौं । गोरखामा पहिरो मात्र गएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले पहिरो गए पनि नदीमा बाढी नथुनिएको बताएका छन् । ३५०० मिटरको उचाईमा रहेको चुमनुव्री गाउँपालिकाको छेकम्पार क्षेत्रमा पहिरो गएको शर्माले जानकारी दिए । ‘पहिरो गएको र बाढी आए पनि नदी थुनिएको छैन,’ शर्माले विकासन्युजसँग भने । नदीको तटीय क्षेत्रमा रहेका मानिसहरूले थप सतर्कता अपनाउनु पर्ने उनले बताए । अहिले कसैले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। जिल्लामा आवश्यक सतर्कता तथा सम्भावित क्षति हुन नदिनका लागि बैठक बसेर छलफल गरिरहेको उनले बताए । केही समयअघि मात्र सामाजिक सञ्जालमा गोर्खाको बूढीगण्डकी थुनिएको कुराहरू सार्वजनिक भएका थिए । सामाजिक सञ्जालमा जस्तो चर्चा बाहिर वास्तविकता नभएको उनले जानकारी दिए ।
बाढीपीडितका लागि कांग्रेस काभ्रेले दियो १७ लाख ६२ हजार
काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि पार्टीको केन्द्रीय कार्यालयले स्थापना गरेको विपद् कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ सहयोग गरेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कांग्रेस काभ्रेले उक्त रकम हस्तान्तरण गरेको हो । पार्टीका सदस्य तथा शुभेच्छुकबाट संकलन गरिएको रकम केन्द्रीय कोषमा जम्मा गरिएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले जानकारी दिए । कांग्रेस काभ्रेको टोलीले पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुगेर सहमहामन्त्री उदयशमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई रकम हस्तान्तरण गरेको हो । कांग्रेसका अनुसार उक्त रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइनेछ । नेपाली कांग्रेसले यसअघि सरकारी कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । सहमहामन्त्री राणाले विपद्को घडीमा पीडित नागरिकलाई सहयोग गर्न कांग्रेस काभ्रेपलाञ्चोकले गरेको योगदानप्रति आभार व्यक्त गरे । प्रवक्ता चालिसेले कांग्रेस काभ्रेका नेता तथा कार्यकर्ताले विपद्को समयमा ठूलो सहयोगको भावना देखाएको बताए । उनले प्राप्त सहयोगले बाढीपीडितको घाउमा मल्हम लगाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । कांग्रेस काभ्रेपलाञ्चोकका सभापति लामाले विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको बताए । राहत तथा उद्धारमा हातेमालो गर्दै मानवीय सहयोग जुटाउन पार्टी सदस्य, शुभेच्छुक तथा आम नागरिकलाई समेत आह्वान गर्दै उनले कांग्रेस काभ्रेले गरेको सहयोगले पीडितको पीडामा केही भए पनि मल्हम लगाउने विश्वास व्यक्त गरे ।
सामाजिक सञ्जालमा राहत, हेलिले झार्यो ५ बोरा चामल : उपाध्यक्ष तामाङ
काठमाडौं । रसुवाको बाढीले आमाछोदिङमो गाउँपालिकाको १ नम्बर वडा सबैभन्दा बढी प्रभावित भएको छ । बाढीले क्षति गरेपछि र प्रभावित गरेको ठाउँमा स्थानीय तहका प्रतिनिधिले गुनासो व्यक्त गरेका छन् । बाँकी वडामा सामान्य क्षति गरेको गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङले बताएकी छन् । रसुवाको भोटेकोशीमा आएको बाढीले गाउँपालिकामा २ सय जनाको ज्यान गुमाएको उनले जानकारी दिइन् । १ नम्बर वडाका सबैभन्दा बढी मानिसले ज्यान गुमाएको उनले बताएकी छन् । 'यस वडाका मानिसहरू चीनको सीमानातिर काम गर्ने थिए । बाढीको कारण उनीहरू भाग्न सकेनन् । केही जलविद्युत आयोजनामा काम गर्थे,’ उनले भनिन्,’ भन्सार क्षेत्रमा काम गर्ने मानिसहरू थिए । रोजगारीको सुविधा प्रशस्तै भएकाले चीनको सीमा आसपासमा यहाँका मानिसहरू काम गर्ने गरेका थिए ।' बाढीबाट प्रभावित भएका मानिसहरू आफन्तको घरमा बस्ने गरेको उनले जानकारी दिइन् । केही घरका ज्येष्ठ मानिसहरूलाई बाढीले बगाएको उनले बताइन् । ‘धेरै जनालाई चिने जानेका छिमेकीले सहारा र आश्रयस्थल दिएको छ,’ उनले सुनाइन् । यस गाउँपालिकामा केन्द्र सरकारको उपस्थिति न्यून देखिएको तामाङले उल्लेख गरिन् । ‘हिजो मात्र हेलिकोप्टरले ५ वटा चामलको बोरा र २ वटा पानीको बक्स झारेको छ,’ उनले अगाडि भनिन् । यहाँसम्म राहत आउन नसकेको तामाङले उल्लेख गरिन् । धुन्चेसम्म राहत आएको तर मुख्य प्रभावित क्षेत्रमा राहत उद्धारको सामग्री नआएको उनको भनाइ छ । सामाजिक सञ्जालमा राहत पुग्ने गरेको र फोटोमा मात्र हामीले राहत देख्ने गरेको उनले बताइन् । ‘हाम्रो ठाउँमा केन्द्र सरकारको उपस्थिति हुने भनेको सम्झना र कल्पनामा मात्र सीमित होला जस्तो छ,’ उनले भनिन् । बिजुली पनि नभएकाले हाम्रो वडा अन्धकारको युगमा जाने सम्भावना बढेको उनले बताइन् । 'केही दिन अघिसम्म सोलारको उज्यालो र पावरले काम गरेको थियो । अहिले सोलारले पनि काम गर्न छाडेको छ,'उनी भन्छिन्,' सोलारको पावरमा मोबाइल चार्ज गरिएको छ । गाउँभरिका मानिसहरू सोलारमा मोबाइल चार्ज गर्न लाइन लाग्या छ।' दुई सातासम्म पुग्ने खाद्यान्न रहेकाले अहिलेलाई समस्या नभएको तामाङले बताइन् । दुई सातापछि पनि खाद्य सामग्री ढुवानी नभएमा यस गाउँपालिकामा खाद्य संकट हुने उनको भनाइ छ । बाटाहरू पनि पूर्ण रुपमा क्षति भएको उनले जानकारी दिइन् । खाद्यान्न ढुवानी र राहत पुर्याउने कार्यमा केन्द्र सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका स्थानमा क्षति पुर्याएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागका अनुसार हालसम्म ९ सय ३ जनाको शव फेला परेको छ । ४ हजार २४७ जना सम्पर्कविहिन भएका छन् ।
यूएईमा रहेका अमेरिकी सैन्य अड्डामा इरानको हमला
काठमाडौं । इरानी सेनाले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको छ । इरानी सेनाका अनुसार आक्रमणमा यूएईस्थित अल–मनहद सैन्य अड्डामा रहेका अमेरिकी हेलिकोप्टर तथा अमेरिकी सेनाका स्थानहरूलाई लक्षित गरिएको थियो । बीबीसीको फारसी सेवाका अनुसार इरानी सेनाको जनसम्पर्क विभागले यी हमला अघिल्लो रात लाराक द्वीपमा अमेरिकाले गरेको आक्रमणको जवाफमा गरिएको जनाएको छ । अमेरिकी सेनाले अघिल्लो रात लाराक द्वीपमा रहेका दुई इरानी मिसाइल प्रक्षेपकलाई निशाना बनाएको थियो । त्यसको जवाफमा इरानी रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जोर्डनमा रहेका दुई अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोनमार्फत हमला गरेको घोषणा गरेको थियो ।
खार्ग टापु उडाइदिने ट्रम्पको धम्की, इरानसँग फेरि चर्कियो तनाव
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य कारबाहीको धम्कीलाई थप विस्तार गर्दै देशको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुसम्म पु‍र्याएका छन् । उनले खार्ग टापु ‘टुक्राटुक्रा पारिने’ चेतावनी दिएका छन् । सोमबार इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले दक्षिणी होर्मुज जलडमरूमध्यमा एउटा सुपरट्याङ्करमा आगलागी भएको र उक्त जहाज सञ्चालनविहीन बनेको जनाएको छ । इरानी सञ्चारमाध्यमका अनुसार जहाजले समुद्री मार्गमा बिछ्याइएका दुईवटा नौसैनिक बारुदी सुरुङमा ठक्कर दिएको थियो । आईआरजीसीका अनुसार उक्त जहाजले इरानले तोकेको पारवहनसम्बन्धी नियम पालना गरेको थिएन । आईआरजीसीको नौसेनाले होर्मुज जलडमरूमध्य हुँदै सुरक्षित रूपमा पार हुन आफ्ना नियम पालना गर्न सबै पानीजहाजलाई आग्रह गरेको छ । यसैबीच, इरानको विदेश मन्त्रालयले सोमबार अमेरिका र उसका सहयोगी राष्ट्रहरू बढ्दो तनावबाट उत्पन्न हुने परिणामका लागि ‘पूर्ण रूपमा जिम्मेवार’ हुने चेतावनी दिएको छ । मन्त्रालयले ‘शत्रु’बाट हुने थप कुनै पनि सैन्य आक्रमणको निर्णायक रूपमा प्रतिकार गर्ने जनाएको छ । यी घटनाक्रम अमेरिका र इरानबीच सप्ताहन्तमा एकअर्कामाथि आक्रमण भएपछि आएका हुन् । पछिल्लो समय दुई देशबीच पुनः सैन्य तनाव चर्किएको छ । आइतबार अमेरिकी सेनाले लाराक टापुमा रहेका इरानका दुई रकेट प्रक्षेपण केन्द्रमा आक्रमण गरेको थियो । अमेरिकी सेनाका अनुसार आईआरजीसीले होर्मुज जलडमरूमध्यमा प्रहार गर्न समुद्री माइन बोकेका रकेट प्रक्षेपणको तयारी गरिरहेको थियो । अमेरिकी सेन्ट्रल कमान्डले उक्त घटनाको पुष्टि गरेको छ । अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता नेभी क्याप्टेन टिम हकिन्सले भने, ‘आज अमेरिकी सेनाले लाराक टापुमा रहेका इरानका दुई प्रक्षेपण केन्द्रमा आक्रमण गरेको छ । इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्सका सैनिकहरू होर्मुज जलडमरूमध्यमा समुद्री माइनसहितका रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएका थिए ।’ उनका अनुसार अमेरिकी सेन्ट्रल कमान्डले गत साता जलडमरूमध्यको अन्तर्राष्ट्रिय पानीजहाज आवागमन मार्गबाट समुद्री माइन हटाउने काम पूरा गरेको थियो । अमेरिकी सेनाले उक्त क्षेत्रलाई नजिकबाट निगरानी गरिरहेको र महत्त्वपूर्ण जलमार्गबाट व्यापार तथा पानीजहाजको स्वतन्त्र आवागमन सुनिश्चित गर्न आवश्यक कदम चाल्न तयार रहेको जनाएको छ । आइतबारको आक्रमण जुलाईको अन्त्ययता इरानका स्थानमा अमेरिकाले सार्वजनिक रूपमा स्वीकार गरेको पहिलो आक्रमण थियो । युद्ध सुरु भएको करिब छ महिना भइसकेको छ र यसले विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलडमरूमध्यमा पानीजहाजको आवागमनमा ठूलो असर पारेको छ । इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले लाराक टापुमा भएको अमेरिकी आक्रमणमा केही इरानी सैनिक मारिएको तथा केही घाइते भएको जनाएको छ । त्यसपछि इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको बताइएको छ । इरानी सञ्चारमाध्यमका अनुसार मिसाइल र ड्रोनबाट गरिएको संयुक्त आक्रमण किङ हुसेन र अल अज्राक सैन्य अड्डालाई लक्षित थियो । इरानी सैन्य अधिकारीहरूले ती आक्रमणबाट प्राविधिक तथा मर्मत संरचना र अमेरिकी लडाकु विमान तैनाथ गर्ने स्थलमा क्षति पुगेको तथा ठूलो क्षति भएको दाबी गरेका छन् । उनीहरूले आगामी दिनमा अझ कडा प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन् । हर्मुज जलडमरूमध्यमा रहेको लाराक एउटा सानो इरानी टापु हो। पछिल्लो समय यो तेहरानका लागि महत्त्वपूर्ण सैन्य तथा पानीजहाज नियन्त्रण केन्द्रका रूपमा विकसित भएको छ । रिभोल्युसनरी गार्डले विश्वकै महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक रहेको हर्मुज हुँदै जाने पानीजहाजको आवागमन निगरानी गर्न यसलाई प्रयोग गर्दै आएको छ । अमेरिकी नौसेनाले इरानी बन्दरगाहमाथि नाकाबन्दी जारी राखेको छ । यसको उद्देश्य इरानी सरकारलाई होर्मुज जलमार्ग पुनः खोल्न दबाब दिनु रहेको बताइएको छ । तर इरानले आफ्नो तट नजिकको उत्तरी पानीजहाज मार्ग प्रयोग नगर्ने जहाजहरूलाई निरन्तर निशाना बनाउँदै आएको छ । यसैबीच, शनिबार अर्को एउटा तेल ट्याङ्करमा अज्ञात वस्तु प्रहार भएको बेलायतको युके मेरिटाइम ट्रेड अपरेसनले जनाएको छ । उक्त ट्याङ्कर होर्मुज जलडमरूमध्य हुँदै ओमानको तटतर्फ रहेको दक्षिणी मार्ग प्रयोग गरेर प्रवेश गरिरहेको थियो । उक्त घटनामा कुनै मानवीय क्षति नभएको जनाउँदै बेलायती निकायले हर्मुज जलडमरूमध्य हुँदै यात्रा गर्ने पानीजहाजलाई अत्यन्त सावधानी अपनाउन आग्रह गरेको छ ।