विकासन्युज

सरकार गुगलमा देखियो, रसुवाको भूगोलमा भेटिएन

काठमाडौं । रसुवामा विनाशकारी बाढी आएको छ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा राज्यको प्रभावकारी उपस्थिति महसुस गर्न नपाइएको भन्दै स्थानीय सरोकारवालाले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उद्धार, खोजी तथा राहतमा संघीय सरकारको सक्रियता कमजोर भएको भन्दै उनीहरूले ‘सरकार गुगलमा भेटियो, तर रसुवाको भूगोलमा भेटिएन’ भन्ने टिप्पणी गरेका छन् । विकास न्युजसँग कुराकानी गर्दै रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्यले विपद्को यस्तो गम्भीर अवस्थामा पनि सरकार प्रभावित क्षेत्रसम्म पुग्न नसकेको बताए । उनका अनुसार सरकारले त्रिशूली नदी पार गरेर रसुवाको वास्तविक प्रभावित भूगोलमा पुग्न नसकेको अवस्था देखिएको छ । ‘सरकार त्रिशूली तरेर पारि जान सकेन,’ सांसद आचार्यले भने । उनले राज्यको उपस्थिति जहाँ आवश्यक थियो, त्यहाँ समयमै पुग्न नसकेको बताए । यसले उद्धार र राहतमा समस्या थपिएको उनको भनाइ छ । उनले रसुवामा उद्धार तथा राहत व्यवस्थापनमा स्थानीय प्रशासनको क्षमता र तयारीले पनि समस्या सिर्जना गरेको बताए । विशेषगरी प्रमुख जिल्ला अधिकारी नयाँ भएकाले जिल्लाको जटिल भूगोल, दुर्गम बस्ती र प्रभावित क्षेत्रको अवस्थाबारे पर्याप्त जानकारी नहुँदा समन्वयमा कठिनाइ भएको उनको भनाइ छ । ‘सीडीओ साब नयाँ हुनु भयो । उहाँलाई यहाँको भूगोलसम्म पनि थाहा भएन,’ आचार्यले भने, ‘यस्तो अवस्थामा स्थानीय तह, सुरक्षा निकाय र राजनीतिक नेतृत्वसँग प्रभावकारी समन्वय गरेर तत्काल उद्धार र राहत परिचालन गर्नुपर्ने थियो । तर त्यसो हुन नसक्दा प्रकोपपीडितले थप सास्ती व्यहोर्नुपरेको छ ।’  छ दिनपछि पनि राज्यको अनुभूति भएन बाढीबाट प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूले पनि विपद्को छैटौँ दिनसम्म रसुवालीले संघीय सरकार आफ्नै अभिभावकका रूपमा उपस्थित भएको अनुभूति गर्न नसकेको बताएका छन् । स्थानीय तहका पदाधिकारीहरू स्वयं प्रभावित छन् । कतिपय जनप्रतिनिधिका परिवारका सदस्य विपद्मा परेको आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए । उनका अनुसार धेरै जनप्रतिनिधि आफैँ पनि जोखिम र पीडाको बीचमा उद्धार तथा राहत व्यवस्थापनमा खटिरहेका छन् । यस्तो अवस्थामा संघीय सरकार र उसका संयन्त्रले प्रभावित क्षेत्रमा पर्याप्त प्राथमिकता नदिएको उनको गुनासो छ । विपद्को केन्द्रमा रहेका दुर्गम बस्तीभन्दा राज्यका संयन्त्रले सहज पहुँच भएका क्षेत्रमा बढी ध्यान दिएका छन् । सडक, सञ्चार र यातायात अवरुद्ध भएका गाउँबस्तीमा तत्काल पुग्नुपर्ने भए पनि उद्धार टोली, राहत सामग्री र सरकारी प्रतिनिधित्व पर्याप्त रूपमा पुग्न नसकेको उनको भनाइ छ । ‘हामी शोकमा छौँ, सरकार विदुरतिरै अलमलिएको छ,’ उनले भने । आमाछोदिङ्मो गाउँपालिकाका स्थानीय तथा नेकपा एमाले रसुवाका जिल्ला सचिव पेम्बा तामाङ स्वयं पनि पारिवारिक शोकमा छन् । उनले आफ्नै छोरा बाढीपछि बेपत्ता भएको जानकारी दिएका छन् । आफ्नै परिवारको सदस्य बेपत्ता हुँदासमेत समग्र पीडितको उद्धार र खोजी कार्यमा आफू रहेको उनले बताए । ‘यता हामी शोकमा छौँ, सरकार उता विदुरतिरै अलमलिएको छ,’ उनले भने, ‘हामीले त सरकारलाई सामाजिक सञ्जालमा भेटेका छौँ । गुगलमा देखिएको सरकार भूगोलमा भेटिएको छैन ।’ रसुवाका धेरै बस्ती अहिले शोक र त्रासमा छन् । स्थानीय तहका उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहित ठूलो संख्यामा नागरिकले ज्यान गुमाएको र सयौँ नागरिक अझै बेपत्ता रहेको उनले बताए । ‘रसुवा अहिले शोकमा छ । सयौँ परिवार आफ्ना मान्छेको खोजीमा छन् । कसैको घर बगेको छ, कसैको परिवारका सदस्य बेपत्ता छन् । कसैले आफन्त गुमाएका छन् । यस्तो अवस्थामा राज्यको पहिलो प्राथमिकता नागरिकको खोजी, उद्धार र परिवारलाई सुरक्षित बनाउनु हुनुपर्ने हो,’ तामाङले भने ।  अभिभावक सरकार पनि पीडितको घरसम्म पुगेन विपद्का कारण आफन्त गुमाएका तथा बेपत्ता परिवारमा राज्यबाट तत्काल खोजी, उद्धार र राहतको अपेक्षा स्वाभाविक रहेको स्थानीयको भनाइ छ । तर, शोकमा रहेका परिवारलाई राज्यका तर्फबाट आवश्यक मनोवैज्ञानिक तथा भौतिक सहयोग नपुगेको उनीहरूको गुनासो छ । प्रतिनिधिसभा सदस्य आचार्यका अनुसार विपद्मा सबैभन्दा ठूलो समस्या नागरिकले आफ्ना आफन्तको अवस्थासमेत थाहा पाउन नसक्नु हो । सञ्चार सम्पर्क विच्छेद, सडक अवरुद्ध र दुर्गम भूगोलका कारण प्रभावित परिवारहरू थप मानसिक तनावमा छन् । ‘शोकाकुल परिवारलाई जनताको अभिभावक सरकारले पनि वास्ता नगरेको अनुभूति स्थानीयलाई भएको छ,’ उनले भने । स्थानीय जनप्रतिनिधिका अनुसार अहिले राहत सामग्री वितरणभन्दा पनि पहिलो आवश्यकता बेपत्ता नागरिकको खोजी, जोखिममा रहेका नागरिकको उद्धार, विस्थापितको सुरक्षित व्यवस्थापन र क्षतिको यकिन विवरण संकलन हो । त्यसपछि मात्र प्रभावित परिवारलाई तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणको योजना अघि बढाउनुपर्ने उनीहरूको माग छ । रसुवाको भौगोलिक अवस्थाका कारण सामान्य सडक पहुँचबाट मात्र उद्धार सम्भव नभएको सांसद आचार्यको भनाइ छ । बाढीले सडक, पुल तथा सञ्चार संरचनामा क्षति पुर्‍याएका कारण कतिपय बस्ती बाहिरी क्षेत्रसँगको सम्पर्कबाट समेत टाढिएका छन् । एमाले सचिव तामाङका अनुसार अहिले राजनीतिक विवाद वा प्रशासनिक जिम्मेवारीको दोषारोपण गर्ने समय होइन । बेपत्ताको खोजी, जीवितको उद्धार र पीडितलाई तत्काल राहत दिनु नै राज्यको पहिलो दायित्व हो । उनका अनुसार रसुवालीको प्रश्न अहिले एउटै छ–‘विपद्को बेला सरकार कहाँ छ ?’ तामाङका अनुसार ‘गुगलमा भेटिएको तर भूगोलमा नभेटिएको सरकार’ भन्ने टिप्पणी केवल आक्रोश मात्र नभई विपद् व्यवस्थापनमा राज्यको पहुँच, तयारी र उपस्थितिमाथिको गम्भीर प्रश्न बनेको छ ।

नुवाकोटको त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकोटको त्रिशुली पुगेका छन् । बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण र ऊद्वार कार्यको अपडेट लिन नुवाकोट पुगेका मन्त्री श्रेष्ठले त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँगै छलफल थालेका छन् ।  गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्वारको लागि समन्वय गरिरहेका छन् । जलविद्युत् आयोजनाको सुरूङको उद्वारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरण ब्रिफिङ गरेका छन् ।  मन्त्री श्रेष्ठसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि नुवाकोट आइपुगेका छन् । ब्रिफिङ लिएपछि मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवास्थित जलविद्युत् आयोजनाको उद्वार स्थलको निरीक्षणमा जानेछन् भने पीडितका परिवारसँग छलफल गर्ने कार्यक्रम छ ।

‘बाढीबाट बेपत्ता भएकाको संख्या यकिन गर्न अझै मुस्किल’

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाका कारण बेपत्ताहरूको यकिन तथ्याङ्क नरहेको जनाएको छ ।  प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपदबाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताइन् ।  उनले हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिइन् ।  उनका अनुसार सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन् ।  उनले उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या अझै घटबढ हुन सक्ने बताइन् । यसैबीच, विभिन्न हाइड्रोपावर आयोजना तथा सुरुङबाट उद्धार कार्य जारी रहेको छ ।   महतका अनुसार हाइड्रोको सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ । आइतबार चिनियाँ १५ र भारतीय ७ गरी थप २२ जनालाई हाइड्रो क्षेत्रबाट उद्धार गरिएको थियो भने सोमबार पनि उद्धार जारी रहेको उनको भनाइ छ ।  उनले लाङटाङ हाइड्रोमा भएको क्षतिसम्बन्धी पनि अहिलेसम्म छुट्टै विवरण प्राप्त नभएको बताइन् । हालसम्म रसुवा बाढीमा परी ज्यान गुमाएका ९ सय ३ जनाको शव फेला परेको छ ।  १० हजार बढीको उद्धार गरिएको छ भने २६७ जना घाइतेहरु उपचारपछि घर फर्किएका छन् । सम्पर्कविहीनहरूको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ । विपद्बाट अवरुद्ध सडक तथा सञ्चार सेवा पनि अधिकांश क्षेत्रमा सुचारु भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता महतले वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमन सहज बनाइएको जानकारी दिइन् । विपद्का कारण १० हजारभन्दा बढी पुल बगाएका छन् ।  आवागमन पुनः सञ्चालनका लागि नेपाल सरकार र नेपाली सेनासँग उपलब्ध बेलीब्रिज प्रयोग गरिने तथा चीन र भारतबाट थप बेलीब्रिज ल्याउने प्रक्रिया अघि बढाइएको महतले जानकारी दिइन् ।  साथै क्षतिग्रस्त नेपाल टेलिकम तथा एनसेलका टावरहरू पनि लगभग सबै सुचारु भइसकेको उनको भनाइ छ ।  उनका अनुसार पुनः बाढी आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै गल्छी र रसुवाको टिमुरेमा हाइड्रोलोजिकल स्टेसन स्थापना गरिएको छ । ती स्टेसनबाट बाढीको रियलटाइम डेटा प्राप्त गर्न सकिने र थप स्थानमा पनि स्टेशन जडान गर्दै जाने तयारी रहेको उनले बताइन् ।  विपद् व्यवस्थापनका लागि प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ ।  उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वय लगायतका लागि छुट्टाछुट्टै कार्यदल बनाएर बिहीवारदेखि नै काम अघि बढाइएको महतले जानकारी दिइन् ।  उनका अनुसार विशेषज्ञसहितको शव व्यवस्थापन टोली विभिन्न क्षेत्रमा परिचालित रहेको छ । –न्युज एजेन्सी नेपाल

बाढीले जलविद्युतमा ६ खर्ब बढीको क्षति भएको अनुमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाढीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । प्राधिकरणकाअनुसार जलविद्युत आयोजनाहरूमा पुगेको क्षतिको यकिन विवरण संकलन भइरहेको भए तापनि प्रारम्भिक रूपमा यो क्षति ६ खर्ब रुपैयाँभन्दा माथि हुन सक्ने देखिएको छ । प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार हाल प्राधिकरणको सम्पूर्ण ध्यान विभिन्न जलविद्युत आयोजनाहरूको टनेलभित्र अड्किएका कामदारहरुको उद्धारमा केन्द्रित छ ।  विशेष गरी त्रिशूली ३ए चिलिमेजस्ता मुख्य आयोजनाहरूको टनेलभित्र रहेकाहरुको उद्धारलाई प्राथमिकतामा राखेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले अहिले क्षतिको विवरण संकलन गर्नुभन्दा पनि मानव उद्धारलाई पहिलो प्राथमिकता दिएको बताएको छ ।  ‘हाम्रो प्राथमिकता अहिले मानव जीवन बचाउने र उद्धार गर्ने हो, त्यसैले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्नेछ,’ श्रेष्ठले भने । उनका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा रहेका कर्मचारी र स्थानीयको उद्धार कार्य जारी रहेकाले ध्यान त्यतातिर बढी केन्द्रित भएको हो ।  प्रारम्भिक जानकारी अनुसार ६ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको हुन सक्ने प्राधिकरणले जनाएको छ ।‘प्रारम्भिक रूपमा ६ खर्बभन्दा माथि क्षति भएको सुनिएको छ,’ ‘तर यकिन डेटा निकाल्न प्राविधिक टोलीले पूर्ण रूपमा काम गर्न बाँकी छ,’ एक उच्च कर्मचारीले विकासन्युजसँग भने ।  प्राधिकरणले आफ्ना विभिन्न आयोजनाहरूको अवस्था र पछिल्लो घटनाक्रमको विस्तृत विवरण संकलन गरिरहेको र छिट्टै आधिकारिक तथ्याङ्क सार्वजनिक गर्ने जानकारी दिएको छ । हाल प्राधिकरणले आफ्ना कर्मचारीहरूलाई फिल्डमा परिचालन गरी स्थिति सामान्य बनाउन र विद्युत आपूर्ति सुचारु गर्न पहल गरिरहेको छ । यसैगरी, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बाढीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति भएको बताएको छ । इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले बाढीले विभिन्न जलविद्युत आयोजनाहरूमा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको बताए ।  वरिष्ठ उपाध्यक्ष भ्लोनका अनुसार हालसम्म १३ वटा जलविद्युत आयोजनाहरूमा प्रत्यक्ष र ठूलो क्षति पुगेको छ । अन्य केही आयोजनाहरूमा भने प्रसारण लाइन वा अन्य प्राविधिक कारणले राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद (डिस्कनेक्ट) मात्र भएको र तिनमा भौतिक क्षति नभएको उनले प्रष्ट पारे ।  ६ वटा आयोजनाको टनेलमा मानिसहरू फसिरहेका छन् अहिलेको मुख्य प्राथमिकता उद्धार र राहत रहेको बताउँदै भ्लोनले ६ वटा जलविद्युत आयोजनाका सुरुङ (टनेल) भित्र मानिसहरू फसिरहेको र नेपाली सेनाले उनीहरूको उद्धारका लागि तीव्र गतिमा काम गरिरहेको जानकारी दिए ।  सुरुङमा मानिसहरू फसेका आयोजनाहरूमा चिलिमे, रसुवागढी, त्रिशूली ए, त्रिशूली थ्री बी, माथिल्लो त्रिशूली-१ र लाङटाङ रहेका छन् । अहिले हाम्रो मुख्य ध्यान सुरुङमा फसेका मानिसहरूलाई सुरक्षित बाहिर निकाल्नुमा छ । ‘सेनाले निरन्तर काम गरिरहेको छ र छिट्टै सुखद समाचार आउनेमा हामी आशावादी छौं,’ भ्लोनले भने ।  कहाँ कति क्षति ? क्षतिको यकिन विवरण प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेपछि मात्र आउने भए तापनि अनौपचारिक रूपमा जलविद्युत संरचनातर्फ ३० देखि ३५ अर्ब रुपैयाँको क्षति भएको बताइएको छ ।  भ्लोनका अनुसार आयोजनाका सुरुङहरूमा हिलो भरिएको छ भने बाँध क्षेत्र बाढीले बगाएको छ । यद्यपि, अधिकांश भूमिगत पावर हाउसहरू सुरक्षित रहेको उनले बताए ।  सबैभन्दा ठूलो क्षति प्रसारण लाइनमा पुगेको र यसले समग्र विद्युत आपूर्तिमा समेत असर पारेको छ । सरकारले अन्तर्राष्ट्रिय स्तरमा क्षतिपूर्तिको दाबी गर्ने तयारी गरिरहेको र प्राविधिक रूपमा स्थलगत पहुँच अझै सहज नभइसकेकाले आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न केही समय लाग्ने इप्पानले जनाएको छ ।  हाल सेना र उद्धार टोली मात्र प्रभावित क्षेत्रमा पुग्न सकेकाले इन्स्योरेन्स क्लेम र पुनर्निर्माणको काम उद्धार सकिएपछि मात्र अघि बढ्ने उपाध्यक्ष भ्लोनले जानकारी दिए ।  यसैगरी, जलविद्युत उद्यमीहरूले बाढी पीडितको राहत र उद्धारका लागि आर्थिक सहयोग जुटाएका छन् ।इप्पानका अध्यक्ष मोहन डाँगीले राहत कोषका लागि हालसम्म ११ करोड रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको जानकारी दिए ।  इप्पानले यसअघि ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको भए तापनि संस्थाका सदस्य र पदाधिकारीहरूबाट स्वतःस्फूर्त रूपमा रकम थपिएपछि अहिले ११ करोड नाघेको डाँगीले बताए ।  यो रकम कुनै बाह्य स्रोतबाट नभई संस्थाका पदाधिकारी र सदस्य कम्पनीहरूबाट मात्रै संकलन गरिएको उनको भनाइ छ । ‘हामीले मेम्बरभन्दा बाहिरको पैसा लिएका छैनौं । कार्यसमितिका सदस्य र हाम्रा सदस्य कम्पनीहरूले मात्रै हालेको पैसा ११ करोडभन्दा बढी भएको छ,’ डाँगीले भने ।  संकलित रकम सोमबार वा मंगलबारसम्म मन्त्रीमार्फत सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । ऊर्जा मन्त्री अहिले बाढी प्रभावित क्षेत्र त्रिशुलीको निरीक्षणमा रहेकाले काठमाडौं फर्किए लगत्तै उक्त रकम हस्तान्तरण गरिने डाँगीले जानकारी दिए ।  जलविद्युत क्षेत्रमा भएको आर्थिक क्षतिको विवरण संकलनका बारेमा डाँगीले अहिले त्यसको समय नभएको बताए । ‘अहिलेसम्म हामी नोक्सानीको हिसाब गर्नतिर लागेका छैनौं । हाम्रो अहिलेको पहिलो र मुख्य प्राथमिकता भनेको मान्छे बचाउनु र सहयोग जुटाउनु हो,’ उनले भने । 

बाढीपछि अपराध बढ्न सक्ने भन्दै प्रहरी सक्रिय

काठमाडौं । आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति-सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल प्रहरी सक्रिय भएको छ। विपद्का बेला सुरक्षाकर्मी खोज तथा उद्धारमा व्यस्त हुँदा प्रभावित क्षेत्रमा चोरी, लुटपाट, ठगी तथा साइबर अपराधजस्ता गतिविधि बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले आपराधिक गतिविधि रोकथाम तथा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलन, सामाजिक सञ्जाल अनुगमन, निगरानी तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाएको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले विपद्को मौका छोपी हुन सक्ने चोरी, लुटपाट तथा राहत सहयोगका नाममा हुने साइबर स्क्यामलगायतका अपराध रोक्न प्रहरी थप संवेदनशील भएर परिचालित भएको बताए। उनका अनुसार बाढी प्रभावित क्षेत्रमा नागरिकको जिउधनको सुरक्षासँगै कुनै पनि किसिमका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गरिएको छ। विपद्को नाममा हुन सक्ने साइबर ठगीबारे पनि नागरिकलाई सचेत गराइएको उनले बताए । बाढी प्रभावित क्षेत्रबाट जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएका बेला उनीहरूको घर तथा सम्पत्तिमा चोरी वा लुटपाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले गस्ती र निगरानीलाई थप तीव्र बनाएको उनले बताए । यसैगरी, रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा २९ जनालाई प्रहरीले पक्राउ गरेको छ।  धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको सेफबाट नगद निकालेर चोरी गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद समेत बरामद गरेको जनाएको छ। त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा भ्रम सिर्जना गरेको आरोपमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे निवासी ३२ वर्षीय भगवान कार्की पक्राउ परेका छन्।  उनले बाढी प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कृत्रिम बुद्धिमत्ता ९एआई० को प्रयोगबाट नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप छ। यसैगरी, बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा चितवनको भरतपुर महानगरपालिका–१ लीला चोक निवासी २५ वर्षीय मदन गुरुङसहित दुई जनालाई भदौ ११ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। विपद्का कारण सडक तथा पुल अवरुद्ध हुँदा उद्धार र राहत वितरणमा कठिनाइ भइरहेको अवस्थामा अवरुद्ध सडक खुलाउन नेपाल प्रहरीले स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरिरहेको उनले बताए । प्रहरीले घाइतेको उद्धार तथा विस्थापितलाई राहत वितरणमा कुनै कमी हुन नदिने गरी काम भइरहेको प्रहरीका प्रवक्ता काफ्लेले बताए । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा कुनै आपराधिक गतिविधि भइरहेको वा हुन सक्ने सूचना भए तत्काल नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन आग्रह गरेको छ।   बाढी प्रभावित स्थलमा भेटिएका बहुमूल्य सामान सुरक्षित राखेर प्रहरीलाई बुझाउन काफ्लेले अनुरोध गरेका छन् ।

महिलालाई जिस्काएको भिडियो भाइरल भएपछि तीन युवक पक्राउ

काठमाडौं । बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै तथा जिस्काउने समूहका तीन युवक पक्राउ परेका छन् ।  बझाङको केदारस्यूँ गाउँपालिका–३ घर भई हाल कीर्तिपुर नगरपालिका–७ भाजङ्गल बस्ने २२ वर्षीय सत्यराज खत्री, कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ घर भई हाल कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २२ वर्षीय ललित दमाई तथा कञ्चनपुरकै कृष्णपुर नगरपालिका–३ घर भई हाल पाँगामै बस्ने २१ वर्षीय अशोक भण्डारी पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरीका अनुसार शुक्रबार साँझ उनीहरूले सुपप्र ००४ प ८७८ नम्बरको मोटरसाइकलमा सवार तीन जनाले बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै फोन नम्बर माग्ने तथा अश्लील शब्द प्रयोग गरी सार्वजनिक रूपमा दुर्व्यवहार गरेका थिए । महिलालाई जिस्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूको खोजी थालेको थियो ।  आइतबार १० बजे कीर्तिपुर नगरपालिका–७ स्थित विष्णुदेवी मन्दिर नजिकबाट तीन जनालाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार युवकहरूमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

प्राधीरकणले भन्योः हेली आवश्यक नभएकाले वैकल्पिक सडक मार्ग प्रयोग गर्नू

काठमाडौं । सरकारले हेली उद्धार आवश्यक नभएका व्यक्तिहरूलाई सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ। विभिन्न वैकल्पिक सडकमार्गहरू सञ्चालनमा आउन थालेकाले सुरक्षित रूपमा सडकमार्ग प्रयोग गर्न सक्ने व्यक्तिहरूले हेली उद्धारको माग नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।  उपलब्ध भएका वैकल्पिक सडकमार्गको प्रयोग गर्न प्राधीकरणले अनुरोध गरेको छ । वैकल्पिक मार्गहरूमा धादिङ जोड्ने मार्ग धादिङबेँसी–परेवादार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टारस्थित ह्याम्लेट रेष्टुरेन्टबाट पृथ्वी राजमार्गसम्म सञ्चालनमा रहेको छ। त्यस्तै, रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर–ढिकुरे–चौघडा–आपनज–लच्या–सरमथले–पाटिखर्क हुँदै बोगटीटारबाट पासाङल्हामु राजमार्गसम्म सञ्चालनमा आएको प्राधीकरणले जनाएको छ । कालिकास्थान–धुन्चे जाने बाटोमा चारचक्के साना सवारीसाधन सञ्चालन हुन सक्ने गरी सडक सुचारु भएको छ । सीमित साधन र स्रोतलाई अत्यावश्यक कार्यमा मात्र प्रयोग हुने वातावरण बनाउन सबै सरोकारवालालाई सहयोग गर्न प्राधीकरणले अनुरोध गरेको छ ।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि सेनाको टोली फर्कियो

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजी कार्यमा कुनै पनि मानवीय उपस्थिति फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ । सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंकापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहितको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजीमा जुटेको थियो । टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर विस्तृत खोजी गर्नुका साथै ड्रोनसमेत उडाएर निरीक्षण गरेको थियो । तर, खोजीका क्रममा सुरुङभित्र कुनै पनि मानिस रहेको संकेत वा मानवीय उपस्थिति भेटिएन । सुरुङभित्र कोही पनि व्यक्ति नरहेको पुष्टि भएपछि नेपाली सेनाको टोली रसुवाको धुन्चेतर्फ फर्किएको छ ।