विकासन्युज

बाढीपहिरो पीडितका लागि एमालेले १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । नेकपा एमालेले हालैको बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनःस्थापनाका लागि कुल १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एमालेले विपदबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । पार्टीले बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । एमालेले विपद्को समयमा राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने र प्रभावित क्षेत्रमा राहत सामग्री तथा आवश्यक सेवाको पहुँच तत्काल पुर्‍याउनुपर्नेमा जोड दिएको छ । पार्टीले विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि समेत दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा  उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसक्रममा बाढी प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै क्षतिग्रस्त संरचनाको पुनःस्थापना र पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको बताइएको छ । प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापना सुनिश्चित गर्न सरकारी संयन्त्रहरूलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन् ।

बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ४३.८९ अंकले घटेर २,५१३.०३ विन्दुमा झरेको छ । आज कारोबार रकम पनि केही घट्यो । अघिल्लो कारोबार दिन ३ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ६४ करोड रुपैयाँको मात्रै कारोबार भयो । दिनभर बजार रातो देखियो । २१ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको घट्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो । सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा देखियो, जसको सूचक ५.०३ प्रतिशत घट्यो । त्यसपछि अन्य समूह ३.३० प्रतिशत र जलविद्युत् समूह २.९४ प्रतिशतले घटे । रसुवाको भोटेकोशीमा आएको बाढीपछि एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीबाट सवारीसाधन, घर र जलविद्युत् आयोजनामा ठूलो क्षति भएपछि बीमा कम्पनीले धेरै दाबी भुक्तानी गर्नुपर्ने अवस्था आएको छ । त्यसको असर निर्जीवन बीमा र पुनर्बीमा कम्पनीको सेयरमा परेको देखिएको छ । यसका साथै बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार समूहका सूचक पनि घटेका छन् । उत्पादन तथा प्रशोधन समूह भने ०.७० प्रतिशतले बढेको छ ।  आज उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १३.१६ प्रतिशतले बढ्यो । घोराही सिमेन्ट, पाल्पा सिमेन्ट र एसवाई प्यानलको मूल्य पनि उल्लेख्य रूपमा बढ्यो । सबैभन्दा धेरै घट्ने कम्पनीमा मैलुङखोला जलविद्युत्, रसुवागढी हाइड्रोपावर, चिलिमे हाइड्रोपावर र माण्डु हाइड्रोपावर रहेका छन् । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सर्वोत्तम पेन्ट, रिलायन्स स्पिनिङ मिल्स, चिलिमे हाइड्रोपावर र एसवाई प्यानल सबैभन्दा धेरै कारोबार हुने कम्पनी बने ।

भोटेकोशी बाढी अपडेटः ९०३ को मृत्यु, ४२ सय बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य ४ हजार २ सय जना अझै बेपत्ता रहेका छन् ।  परराष्ट्र मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पछिल्लो अवस्थाबारे जानकारी गराउनुहुँदै खोज, उद्धार र राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।  मन्त्रालयका अनुसार प्रभावित क्षेत्रबाट १० हजारभन्दा बढी व्यक्तिको सफल उद्धार गरिएको छ, जसमा ३ सय २३ जना विदेशी नागरिक रहेका छन् । अझै पनि ३८ देशका करिब ५ सय ९० जना विदेशी नागरिक बेपत्ता रहेको तथ्याङ्क छ ।  बेपत्ताहरूको खोज र परिवारसँगको सम्पर्कका लागि परराष्ट्र मन्त्रालयमा ‘इमर्जेन्सी कन्ट्रोल रुम’ स्थापना गरी समन्वय भइरहेको छ ।  उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपालले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरिरहेको छ ।  भारतबाट आएको विशेष प्राविधिक टोली मैलुङ–त्रिशूली र स्याफ्रुबेँसी क्षेत्रमा सुरुङ उद्धारमा परिचालन गरिएको छ । त्यस्तै, थाइल्याण्डको टोली माथिल्लो त्रिशूली ३ ए र दक्षिण कोरियाको टोली पनि कार्यक्षेत्रमा खटिएको छ ।  मृतकहरूको पहिचानका लागि भारतबाट आएका १८ जना फरेन्सिक विशेषज्ञहरूको टोलीले डीएनए परीक्षणमा सहयोग गरिरहेको छ । सिंगापुरबाट ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । नेपालले अमेरिका, चीन, जापान, संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशहरूबाट बेली ब्रिज, फ्रीजर, जेनेरेटर, सोलार ल्याम्प, डीएनए टेस्टिङ किट र खाद्यान्न जस्ता अत्यावश्यक राहत सामग्री प्राप्त गरिसकेको छ ।  थप सहयोगका लागि चीनसँग उच्च क्षमताका ड्रोन र सिङ्गापुर तथा दक्षिण कोरियासँग थप प्राविधिक उपकरण माग गरिएको छ ।  नेपाल र चीनबीच जलविज्ञान र मौसम सम्बन्धी तथ्याङ्क, बाँधका ढोकाहरू र हिमतालको अवस्थाबारे ‘रियल टाइम’ सूचना आदानप्रदान भइरहेको छ । तिब्बत क्षेत्रमा रहेका नेपालीहरूलाई केरुङ लगायतका नाकाबाट स्वदेश फिर्ता ल्याउन चिनियाँ पक्षले सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ ।  पहिचान हुन नसकेका र सडेका शवहरूलाई डीएनए नमूना संकलन गरी प्रोटोकल अनुसार अस्थायी रूपमा अन्त्येष्टि गरिएको छ, ताकि भविष्यमा परिवारले पहिचान गरी धार्मिक संस्कारअनुसार पुनः संस्कार गर्न सकून् ।  सरकारले पुर्नस्थापना र पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्याङ्कन गर्ने तयारी गरेको छ । जसका लागि ठूलो वैदेशिक सहयोगको आवश्यकता पर्ने देखिएको छ । –न्युज एजेन्सी नेपाल

बाढीपीडितका लागि हिमालयन बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । भदौ १० गते बिहान रसुवा जिल्लाबाट बग्ने भोटेकोशी नदीमा गेग्रानसहित आएको आकस्मिक बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती तथा अन्य प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । बैंकले उक्त अप्रत्याशित विपद्मा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, उद्धार, राहत र पुनर्स्थापनाको कार्यमा जुट्न सम्बन्धित सबै निकाय र नागरिकलाई आग्रह गरेको छ । हिमालयन बैंकले विपद्को यस कठिन समयमा प्रभावित समुदायको साथमा रहँदै सक्दो सहयोग गर्न सदैव प्रतिबद्ध रहने जनाएको छ ।

सरकारको सक्रियता सामाजिक सञ्जाल र भूगोलमा फरक देखिएको छः निश्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्पछि सरकारले राहत तथा उद्धार व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् । सोमबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको सक्रियता सामाजिक सञ्जालमा देखिएको जस्तो भूगोलमा नरहेको बताएका हुन् ।  विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्य प्रभावकारी रुपमा हुन नसकेको उनले बताए । राहत सामग्री एक ठाउँमा थुप्रिएको तर वास्तविक पीडितले प्राप्त गर्न नसकेको अवस्था देखिएको उनको भनाइ छ ।  सरकारले राहत वितरणमा स्थानीय तहसँग पर्याप्त समन्वय गर्न नसकेको पनि आरोप लगाए ।  स्थानीय तहसँग प्रभावित नागरिकको वास्तविक अवस्था, तथ्यांक र आवश्यकताबारे जानकारी हुने भएपनि सरकारले उनीहरूसँग प्रभावकारी समन्वय गर्न नसकेको उनको भनाइ छ ।  नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा देखिएको अवस्था र स्थलगत वास्तविकताबीच फरक रहेको दाबी गरे ।  विपद् आउनुअघिको कुल जनसंख्या, हाल सम्पर्कमा रहेका नागरिक, सुरक्षित स्थानमा पुगेका व्यक्ति, बेपत्ता, मृतक तथा अज्ञात अवस्थामा रहेका व्यक्तिको तथ्यांक यकिन गर्न उनले सुझाव दिए ।  त्यस्ता तथ्यांक स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक प्रतिनिधिसँग उपलब्ध हुने भएकाले सबै निकायलाई सक्रिय बनाएर संयुक्त रूपमा व्यवस्थापन अघि बढाउनुपर्ने उनको भनाइ छ ।  सचेतक राईले शव सुरक्षित रूपमा राख्ने तथा व्यवस्थापन गर्ने विषयमा आवश्यक उपकरण र पूर्वाधारको अभाव रहेको भएपनि विज्ञसँग परामर्श गरेर उपयुक्त विधि अपनाउन सरकारलाई आग्रह गरे ।    उनले विपद्को बेलामा सबै एकजुट भएर सरकारलाई सहयोग गर्न दलहरुलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको बताए ।  कांग्रेसले बाढीपीडितहरुको उद्धार राहतको लागि आवश्यक टोली पनि परिचालन गरेको उनले जानकारी दिए ।

हिमालयन बैंकका अध्यक्ष डा. बैकुण्ठ अर्यालले लिए सपथ

काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन् । नियुक्तिपछि उनले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंक सञ्चालक समितिको आइतबार बसेको ५०६औं बैठकले संस्थापक समूहका सेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्ने सञ्चालक तथा नेपाल सरकारका पूर्वमुख्य सचिव डा. अर्याललाई भदौ १४ गतेदेखि लागू हुने गरी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको थियो । अध्यक्षमा निर्वाचित भएपछि डा. अर्यालले भदौ १५ गते नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा गभर्नर पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । डा. अर्याल नेपाल सरकारका पूर्वमुख्य सचिवसमेत हुन् । उनी हिमालयन बैंकको सञ्चालकका रूपमा संस्थापक समूहको प्रतिनिधित्व गर्दै आएका थिए । 

पहिचान नभएका शवको डीएनए परीक्षण गर्न आफन्तलाई प्रहरीको आग्रह

काठमाडौं । प्रहरीले नेपाली तथा विदेशी नागरिकका शव पहिचान गर्न आफन्तलाई डीएनए परीक्षणको व्यवस्था गरेको छ ।  गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन, सम्पर्कविहीन तथा हराइरहेकाहरूको आफन्तलाई प्रहरीले डीएनए परीक्षणका गर्न सूचना जारी गरेको छ । बाढीपछि फेला परेका तर पहिचान हुन नसकेका शव तथा शरीरका कुनै अंग वा भाग आफन्तसँग मिलान गरी पहिचान गर्न डीएनए परीक्षण गरिने प्रहरीले जनाएको छ।  नमुना दिन चाहने आफन्तले पासपोर्ट आकारका दुई प्रति फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने सूचनामा बताइएको छ । हराइरहेका व्यक्तिका सबैभन्दा नजिकका रगतका नाता (प्रथम तहका आफन्त) अर्थात् बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको ताजा रगतको नमुना आवश्यक पर्नेछ सूचनामा बताइएको छ । त्यसैगरी, विदेशमा रहेका आफन्तका हकमा बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित देशमै डीएनए परीक्षण (प्रोफाइलिङ) गराई त्यसको विवरण तुलना तथा पहिचानका लागि नेपाल प्रहरीको आधिकारिक इमेल [email protected] मा पठाउनु पर्ने छ ।  प्रहरीले बाढीपछि फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षणमार्फत वास्तविक पहिचान खुलाउन आफन्तजनको सहयोग आवश्यक रहेको जनाएको छ।