सामाजिक सञ्जालमा राहत, हेलिले झार्‍यो ५ बोरा चामल : उपाध्यक्ष तामाङ

'दुई सातासम्म खाद्यान्न ढुवानी नभए खाद्य संकट'

काठमाडौं । रसुवाको बाढीले आमाछोदिङमो गाउँपालिकाको १ नम्बर वडा सबैभन्दा बढी प्रभावित भएको छ । बाढीले क्षति गरेपछि र प्रभावित गरेको ठाउँमा स्थानीय तहका प्रतिनिधिले गुनासो व्यक्त गरेका छन् । 

बाँकी वडामा सामान्य क्षति गरेको गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङले बताएकी छन् । रसुवाको भोटेकोशीमा आएको बाढीले गाउँपालिकामा २ सय जनाको ज्यान गुमाएको उनले जानकारी दिइन् । १ नम्बर वडाका सबैभन्दा बढी मानिसले ज्यान गुमाएको उनले बताएकी छन् ।

'यस वडाका मानिसहरू चीनको सीमानातिर काम गर्ने थिए । बाढीको कारण उनीहरू भाग्न सकेनन् । केही जलविद्युत आयोजनामा काम गर्थे,’ उनले भनिन्,’ भन्सार क्षेत्रमा काम गर्ने मानिसहरू थिए । रोजगारीको सुविधा प्रशस्तै भएकाले चीनको सीमा आसपासमा यहाँका मानिसहरू काम गर्ने गरेका थिए ।'

बाढीबाट प्रभावित भएका मानिसहरू आफन्तको घरमा बस्ने गरेको उनले जानकारी दिइन् । केही घरका ज्येष्ठ मानिसहरूलाई बाढीले बगाएको उनले बताइन् । ‘धेरै जनालाई चिने जानेका छिमेकीले सहारा र आश्रयस्थल दिएको छ,’ उनले सुनाइन् ।

यस गाउँपालिकामा केन्द्र सरकारको उपस्थिति न्यून देखिएको तामाङले उल्लेख गरिन् । ‘हिजो मात्र हेलिकोप्टरले ५ वटा चामलको बोरा र २ वटा पानीको बक्स झारेको छ,’ उनले अगाडि भनिन् ।

यहाँसम्म राहत आउन नसकेको तामाङले उल्लेख गरिन् । धुन्चेसम्म राहत आएको तर मुख्य प्रभावित क्षेत्रमा राहत उद्धारको सामग्री नआएको उनको भनाइ छ । सामाजिक सञ्जालमा राहत पुग्ने गरेको र फोटोमा मात्र हामीले राहत देख्ने गरेको उनले बताइन् ।

‘हाम्रो ठाउँमा केन्द्र सरकारको उपस्थिति हुने भनेको सम्झना र कल्पनामा मात्र सीमित होला जस्तो छ,’ उनले भनिन् । बिजुली पनि नभएकाले हाम्रो वडा अन्धकारको युगमा जाने सम्भावना बढेको उनले बताइन् ।

'केही दिन अघिसम्म सोलारको उज्यालो र पावरले काम गरेको थियो । अहिले सोलारले पनि काम गर्न छाडेको छ,'उनी भन्छिन्,' सोलारको पावरमा मोबाइल चार्ज गरिएको छ । गाउँभरिका मानिसहरू सोलारमा मोबाइल चार्ज गर्न लाइन लाग्या छ।'

दुई सातासम्म पुग्ने खाद्यान्न रहेकाले अहिलेलाई समस्या नभएको तामाङले बताइन् । दुई सातापछि पनि खाद्य सामग्री ढुवानी नभएमा यस गाउँपालिकामा खाद्य संकट हुने उनको भनाइ छ । 

बाटाहरू पनि पूर्ण रुपमा क्षति भएको उनले जानकारी दिइन् । खाद्यान्न ढुवानी र राहत पुर्याउने कार्यमा केन्द्र सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका स्थानमा क्षति पुर्याएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागका अनुसार हालसम्म ९ सय ३ जनाको शव फेला परेको छ । ४ हजार २४७ जना सम्पर्कविहिन भएका छन् । 

Share News