अत्यावश्यकबाहेक हेलिकप्टर नबोलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकलाई अत्यावश्यक अवस्थाबाहेक हेलिकप्टर उद्धारको माग नगर्न आग्रह गरेको छ । न्यून प्रभावित, प्रभावित नभएका तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हेलिकप्टर उद्धारको माग बढ्न थालेपछि प्राधिकरणले सीमित हवाई साधनलाई अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्री ढुवानीमा केन्द्रित गर्न अनुरोध गरेको हो । प्राधिकरणले केही वैकल्पिक सडक मार्ग सञ्चालनमा आइसकेकाले सम्भव भएसम्म ती मार्ग प्रयोग गर्नसमेत आग्रह गरेको छ । हेलिकप्टरको स्रोत अत्यावश्यक कार्यमा मात्र प्रयोग हुने वातावरण बनाउन सबैले सहयोग गर्नुपर्ने प्राधिकरणले जनाएको छ । धादिङतर्फ धादिङबेसी–परैवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्तार (ह्याम्लेट रेष्टुरेन्ट) सम्मको मार्गबाट पृथ्वी राजमार्गमा जोडिन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रसुवातर्फ विदुर–ढिकुरे–चौघडा–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार (पासाङ ल्हामु राजमार्ग)–कालिकास्थान–धुन्चे जाने मार्ग सञ्चालनमा आएको छ । यो बाटो हाल चारचक्के साना सवारीसाधन चल्न सक्ने अवस्थामा रहेको छ । प्राधिकरणले रसुवाको उत्तरगया, गोसाईँकुण्ड, आमाछोदिङ्मो र कालिका; नुवाकोटको तारकेश्वर, किस्पाङ, विदुर र बेलकोटगढी; धादिङको गल्छी, गजुरी, बेनिघाट रोराङ र सिद्धलेक लगायतका क्षेत्रलाई बढी प्रभावित क्षेत्रका रूपमा सूचीकृत गरेको छ । गोरखा र तनहुँका विभिन्न वडाहरू पनि बढी प्रभावित क्षेत्रमा परेका छन् । प्राधिकरणका अनुसार हालसम्म हेलिकप्टरमार्फत २५२ जना विदेशी र ३ हजार ३४४ जना नेपाली गरी ३ हजार ५९६ जनाको उद्धार भइसकेको छ। विपद्को कठिन परिस्थितिमा धैर्य अपनाउँदै सरकारी संयन्त्रलाई सहयोग गर्न प्राधिकरणले आग्रह पनि गरेको छ । थप जानकारी तथा आवश्यक समन्वयका लागि टोल फ्री नम्बर ११४९ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्बको निक्षेप संकलन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । मौद्रिक व्यवस्थापन विभागले सोमबार ८६ दिन अवधिको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार बोलकबोल भदौ १५ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत मात्र हुनेछ। सोही दिन निक्षेप संकलन उपकरण निष्कासन गरिनेछ भने यसको अवधि ८६ दिन रहनेछ । संकलित रकमको साँवा र ब्याज मंसिर ९ गते भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलबाट नै ब्याजदर निर्धारण हुनेछ । सहभागी संस्थाले आफूले निक्षेप गर्न चाहेको रकम र ब्याजदर उल्लेख गरी बोलपत्र पेश गर्नुपर्नेछ । एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोलपत्र पनि पेश गर्न सक्ने व्यवस्था गरिएको छ । यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोडकै गुणकमा अधिकतम आह्वान गरिएको रकमसम्म बोल गर्न सकिने व्यवस्था छ । राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरबाट सुरु गर्दै आह्वान गरिएको रकमसम्म क्रमशः बोलपत्र बाँडफाँड गर्ने जनाएको छ। समान ब्याजदरमा माग बढी भएमा प्रो–राटा आधारमा रकम बाँडफाँड गरिनेछ । केन्द्रीय बैंकले आवश्यकताअनुसार सम्पूर्ण वा आंशिक बोलपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार मौद्रिक व्यवस्थापन विभाग तथा खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ ।
नेप्सेमा १.५७ खर्बको नयाँ सेयर सूचीकृत, बोनस मात्रै ४१ अर्ब ८५ करोड
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल १ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ बराबरका थप धितोपत्र (सेयर) सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा ५५ अर्ब ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ), ४१ अर्ब ८५ करोड रुपैयाँ बराबरको बोनस सेयर, २७ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड सचूीकृत भएका छन् । यस्तै, १६ अर्ब ८५ करोड रुपैयाँ बराबरको परिवर्तनीय अग्राधिकार सेयर, १० अर्ब ७६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ९७ करोड रुपैयाँ बराबरको एफपीओ र २ करोड रुपैयाँ बराबरको अन्य सेयर सूचीकृत भएका हुन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ५६ अर्ब ३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले ३९ अर्ब ३३ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ९ अर्ब १२ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर र ५ करोड रुपैयाँ बराबरको एफपीओ निष्कासनका लागि अनुमति दिएको हो । असार मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या ३०२ पुगेको छ । २०८२ असार मसान्तमा सूचीकृत कम्पनीको संख्या २७२ रहेको थियो । हाल सूचीकृत कम्पनीमध्ये १३३ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ११० वटा जलविद्युत् कम्पनी, २९ वटा उत्पादन तथा प्रशोधन उद्योग, ९ वटा होटल, ७ वटा लगानी कम्पनी, ४ वटा व्यापारिक संस्था र १० वटा अन्य समूहका कम्पनी रहेका छन् । सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणमा ५१.८ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, जलविद्युत् कम्पनीको १७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.४ प्रतिशत, लगानी कम्पनीको ६.७ प्रतिशत, व्यापारिक संस्थाको ४.२ प्रतिशत, होटलको ३.२ प्रतिशत र अन्य समूहका कम्पनीको ८.३ प्रतिशत हिस्सा रहेको छ । असार मसान्तमा नेप्सेमा सूचीकृत ९ अर्ब ५८ करोड कित्ता सेयरको चुक्ता मूल्य ९ खर्ब ४४ अर्ब ४ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकाले फेरि इरानमाथि गर्यो हमला, लाराकका दुई सैन्य अखडा निशानामा
काठमाडौं । अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुईवटा इरानी सैन्य अखडालाई निशाना बनाएको छ । अमेरिकी एक अधिकारीले यस्तो जानकारी दिएका हुन् । जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला हो । सीबीएस न्युजले अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सलाई उद्धृत गर्दै जनाएअनुसार, ‘इरानी रिभोलुसनरी गाड्र्स (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ बिछ्याउन र रकेट प्रहार गर्न तयारी गरिरहेको देखिएको थियो ।’ आईआरजीसीले आइतबार भएको अमेरिकी हमलामा केही मानिस मारिएको र घाइते भएको जनाएको छ । साथै उक्त हमलाको जवाफमा ‘प्रतिकार र दण्डात्मक कारबाही’ गर्ने चेतावनी दिएको छ । त्यसपछि इरानी सरकारी सञ्चारमाध्यमले आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामाथि हमला गरेको समाचार प्रसारण गरेका छन् । बीबीसीले यसबारे अमेरिकी सेन्ट्रल कमान्डसँग प्रतिक्रिया मागेको जनाएको छ । आईआरजीसीको उक्त बयान आएको केही समयपछि जोर्डनको सेनाले आफूहरूले आठवटा मिसाइल खसालेको जनाएको छ । जोर्डनको सशस्त्र सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज सोमबार बिहानै वायु रक्षा प्रणालीले जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा मिसाइललाई रोकेको छ ।’ सरकारी समाचार संस्था पेट्राले सेनाका प्रवक्तालाई उद्धृत गर्दै यो जानकारी दिएको हो । जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान रोक्ने घोषणा गरेका थिए । त्यसपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला हो ।
सुन तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने परिवर्तन भएको छैन । सोमबार पनि चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ मै कारोबार भइरहेको महासंघले जनाएको छ ।
डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाको ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण
काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ब्रह्माण्डका रहस्यमय पक्षहरू–डार्क म्याटर, डार्क इनर्जी र सौर्यमण्डल बाहिरका ग्रहहरूको विस्तृत अध्ययनका लागि आइतवार ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समयअनुसार आइतबार बिहान ७ः२६ बजे स्पेसएक्सको ‘फाल्कन हेभी’ रकेटमार्फत यो महत्वाकांक्षी टेलिस्कोप प्रक्षेपण गरिएको हो । प्रक्षेपण भएको सात मिनेटपछि म्यारिल्यान्डस्थित नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरले टेलिस्कोपबाट सञ्चार सम्पर्क स्थापित गरी ‘टेलिमेट्री’ तथ्याङ्कहरू प्राप्त गर्न सुरु गरेको थियो ।
हिमालयन बैंकको अध्यक्षमा वैकुण्ठ अर्याल
काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वैकुण्ठ अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार भदौ १४ गते बसेको सञ्चालक समितिको ५०६औँ बैठकले अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्दै रिक्त पदमा अर्याललाई अध्यक्ष चयन गरेको हो । बैंकका अनुसार प्रचण्डबहादुर श्रेष्ठको राजीनामा भदौ १४ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरिएको छ । त्यसपछि संस्थापक समूहका सेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड का प्रतिनिधि सञ्चालक वैकुण्ठ अर्याललाई सोही मितिदेखि लागू हुने गरी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरिएको हो । हिमालयन बैंकले नयाँ अध्यक्षको नियुक्तिसम्बन्धी निर्णय नेप्सेमार्फत सार्वजनिक गरेको जनाएको छ ।
भोटेकोसी बाढी र अविरल वर्षाले विभिन्न राजमार्ग ठप्प
काठमाडौं । भोटेकोसी बाढी तथा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिँदा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक भासिएको छ । सडकको ठूलो भाग क्षतिग्रस्त भएपछि मानिससमेत आवतजावत गर्न नसक्ने गरी उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, धादिङकै गजुरी गाउँपालिका–२ स्थित परेवाभीरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण मुगुबाट गमगढीतर्फ आउने सडकसमेत अवरुद्ध भएको छ । वर्षाकै कारण ओखलढुंगास्थित सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ जोड्ने सडकखण्डमा पनि यातायात सञ्चालन हुन सकेको छैन । यसैगरी, लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँसीसहर–मनाङ सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।