अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सुरु, भदौभित्रै यातायात सुचारु गर्ने तयारी

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक खुलाउन शुक्रबार बिहानदेखि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको छ । 

निर्माण कम्पनी शर्मा जेभीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी ट्र्याक खोल्न थालिएको हो भने माथिल्लो भागमा मजदुरहरूले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन् । 

सडकभन्दा करिब ९ मिटर अग्लो पहिलो डाँडा काटेर बनाइने यो ट्र्याक ३५० मिटर लामो र ७ मिटर चौडाइको हुनेछ । यसअघि सञ्चालनमा रहेको २०० मिटर लम्बाइ र १० मिटर फराकिलो सडक त्रिशूली नदीले फेदको संरचना बगाएपछि गत भदौ १४ गते भासिएको थियो, जसका कारण राजधानीसँगको मुख्य सडक सञ्जाल अवरुद्ध बन्न पुगेको छ । 

दुई दिनसम्म रुख, बाँस काट्ने, झाडी फाँड्ने र ग्याविन भत्काउने तयारीको काम सकेपछि अब तीव्र गतिमा काम अघि बढाइएको नौबिसे-मुग्लिन सडक आयोजनाका इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिएका छन् । 

सडकको दुवैतर्फ कडा चट्टान रहे पनि भीरको बीच भागको ६० देखि ७० मिटर क्षेत्र केही कमजोर रहेकोले त्यहाँ विशेष सावधानी अपनाइएको छ । 

सरकारले यथासक्य छिटो यातायात सञ्चालन गर्न निर्देशन दिएसँगै भदौ महिनाभित्रै कृष्णभीरमा नयाँ ट्र्याक सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको छ ।

Share News