काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका इन्जिनियर कृष्ण नारायण यादव लाई ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
अख्तियारका अनुसार सुनसरीको इटहरी वितरण केन्द्रमा कार्यरत सातौं तहका इन्जिनियर यादवले एक गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत लाइन जडान गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
उजुरीपछि अख्तियार इटहरीको टोलीले उनलाई इटहरी उपमहानगरपालिका–९ बाट सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ गर्दा उनीसँग घुसको ५० हजार रुपैयाँसँगै स्रोत नखुलेको थप १२ हजार ८५ रुपैयाँ पनि फेला परेको अख्तियारले जनाएको छ ।
अख्तियारले भदौ १८ गते विशेष अदालतबाट म्याद थप गरेर घुस तथा भ्रष्टाचार सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।