२१ वटा म्युचुअल फण्डले बाँडे १.७९ अर्ब लाभांश, २.२० देखि १५ प्रतिशतसम्म
काठमाडौं । सेयर बजारमा प्रत्यक्ष लगानी गर्दा बजारको उतारचढावसँगै जोखिम पनि व्यहोर्नुपर्छ । यही जोखिमबाट केही हदसम्म टाढा रहेर आफ्नो बचतलाई बजारमा परिचालन गर्न चाहने लगानीकर्ताका लागि सामूहिक लगानी कोष (म्युचुअल फण्ड) आकर्षक विकल्प बन्दै आएको छ । व्यक्तिगत रूपमा सेयर छनोट र व्यवस्थापन गर्नुपर्ने झन्झट कम हुने भएकाले म्युचुअल फण्डमा लगानी गर्नेहरूको आकर्षण पनि बढ्दो छ । म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताको नजरमा यतिबेला भने प्रतिफलतर्फ छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत सामूहिक लगानी कोषमध्ये हालसम्म २१ वटा योजनाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना इकाइधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । घोषणा भएका यी योजनाले कुल करिब १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ नगद प्रतिफलका रूपमा इकाइधनीलाई वितरण गर्दैछन् । २१ योजनाको औसत प्रतिफल करिब ७ प्रतिशत देखिन्छ । तर सबै म्युचुअल फण्डको प्रतिफल भने एउटै छैन । केही योजनाले दोहोरो अंकको लाभांश घोषणा गरेका छन् भने केहीको प्रतिफल ३ प्रतिशतभन्दा पनि कम छ । एउटै प्रकृतिको लगानी साधन भए पनि योजनाअनुसार प्रतिफलमा देखिएको यो अन्तरले तिनको लगानी रणनीति, बजारमा गरेको प्रदर्शन, नाफा आर्जन र कोष व्यवस्थापनको प्रभावलाई समेत प्रतिबिम्बित गर्छ । हालसम्म घोषणा भएका योजनामध्ये हिमालयन ८०-२० ले सबैभन्दा धेरै प्रतिफल दिने भएको छ । हिमालयन क्यापिटलको कोष व्यवस्थापनमा रहेको यस योजनाले इकाइधनीलाई करसहित १५ प्रतिशतका दरले कुल १५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । दोहोरो अंकको प्रतिफल दिने योजनामा प्रभु क्यापिटलको व्यवस्थापनमा रहेका दुई योजना पनि छन् । प्रभु सेलेक्ट फण्डले १२ प्रतिशतका दरले १५ करोड रुपैयाँ र प्रभु स्मार्ट फण्डले १२ प्रतिशतका दरले १२ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । त्यस्तै, कुमारी क्यापिटलअन्तर्गतका कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले पनि इकाइधनीलाई १० प्रतिशतका दरले प्रतिफल दिने भएका छन् । कुमारी इक्विटी फण्डले १० करोड रुपैयाँ र कुमारी धनवृद्धि योजनाले १२ करोड २५ लाख ७ हजार २५९ रुपैयाँ नगद प्रतिफल वितरण गर्नेछ । एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड-२ ले पनि १० प्रतिशतका दरले १२ करोड २० लाख ९९ हजार ९९३ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा रहेको सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-३ ले १० प्रतिशतका दरले ८ करोड ५ लाख ८० हजार रुपैयाँ वितरण गर्नेछ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाले इकाइधनीलाई करसहित ८.४२ प्रतिशतका दरले १० करोड १० लाख ५३ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालित एमबीएल इक्विटी फण्डले करसहित ८ प्रतिशतका दरले ९ करोड ७३ लाख २६४ रुपैयाँ नगद प्रतिफल वितरण गर्ने भएको छ । यस्तै, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ ले ८ प्रतिशतका दरले ९ करोड ६० लाख रुपैयाँ लाभांश दिनेछ । सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा ग्रोथ फण्डले इकाइधनीलाई करसहित ५ प्रतिशतका दरले ३ करोड ३६ लाख २६ हजार ६३० रुपैयाँ नगद प्रतिफल वितरण गर्ने भएको छ । एनएमबी क्यापिटल लिमिटेडले व्यवस्थापन गरिरहेको एनएमबी हाइब्रिड फन्ड एल-२ ले ४.५ प्रतिशतका दरले ६ करोड १४ लाख १७ हजार ८०० रुपैयाँ र लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित सनराइज फोकस्ड इक्विटी फन्डले करसहित ४.५ प्रतिशतका दरले ४ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङले व्यवस्थापन गरिरहेको नबिल ब्यालेन्सड्-२ ले ३.५ प्रतिशतका दरले ३ करोड ९२ लाख रुपैयाँ र नबिल ब्यालेन्सड्-३ ले २.५ प्रतिशतका दरले ३ करोड १२ लाख ५० हजार रुपैयाँ लाभांश वितरण गर्ने भएका छन् । एनएमबी फिफ्टीले ३.१५ प्रतिशतका दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ नगद प्रतिफल दिने भएको छ । सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमले ३ प्रतिशतका दरले ८ करोड ३७ लाख ६० हजार २६५ रुपैयाँ वितरण गर्नेछ । हालसम्म घोषणा भएका योजनामध्ये कुमारी सबल योजनाले २.९० प्रतिशतका दरले २ करोड १५ लाख ९७ हजार ७७० रुपैयाँ नगद प्रतिफल वितरण गर्ने भएको छ । त्यस्तै, मुक्तिनाथ क्यापिटल व्यवस्थापक रहेको मुक्तिनाथ म्युचुअल फन्ड-१ ले इकाइधनीलाई करसहित २.२० प्रतिशतका दरले २ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी
काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा जारी उद्धार कार्य विकट भूगोल, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएका कारण चुनौतीपूर्ण बनेको छ । कठिन परिस्थितिका बीच पनि उद्धार प्रयासलाई उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाइएको छ । उद्धारमा हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन् । २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ । तर म्यानुअल रूपमा मात्र उद्धार सम्भव नहुने निष्कर्षसँगै घटनास्थलसम्म ठूलो एक्स्काभेटर पुर्याउने तयारी सुरु गरिएको छ । त्यसका लागि स्याफ्रुबाट पावरहाउस पोर्टलसम्म पुग्ने पहुँच सडक निर्माणको काम आइतबारदेखि अघि बढाइएको छ । सुरुङमार्फत एक्स्काभेटर लैजाने विकल्पलाई पनि सँगसँगै अघि बढाइएको छ । त्यसका लागि सुरुङको करिब १०० मिटर भागमा थुप्रिएको माटो हटाउने काम भइरहेको छ । ठूला हेलिकोप्टर अवतरण गर्न नसकिने अवस्था रहेकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री, उपकरण र जनशक्ति घटनास्थलमा पुर्याउने प्रयास पनि जारी रहेको छ । उद्धार टोलीका अनुसार चुनौती ठूलो भए पनि उद्धार अभियान रोकिएको छैन । पहुँच विस्तार, आवश्यक उपकरण परिचालन र सुरुङभित्रको उद्धार कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ ।
११ औं दिनमा उद्दार गरिएको महिलालाई काठमाडौं ल्याइयो
काठमाडौं । त्रिशूलीको बाढीमा पुरिएको घरबाट ११ औं दिनमा एक महिलाको प्रहरीले जीवितै उद्धार भएको छ । प्रहरीले विदुर नगरपालिका-१० बेत्रावती बस्ने आनन्द लालश्रेष्ठको श्रीमती ६४ वर्षीया चण्डीका श्रेष्ठको जीवितै उद्दार गरेको हो । प्रहरी निरीक्षक महेन्द्र दर्नालको कामण्डमा खटिएको प्रहरीले बेत्राबतीस्थित नदीको बगर तथा क्षतिग्रस्त संरचनामा आवश्यक खोजी कार्य गरिरहेको थियो । सोही क्रममा आनन्द लालको ४ तल्ले घरको छतमा पुगेपछि भित्रबाट आवाज आएको सुनिएको कुरा प्रहरी निरीक्षक दर्नालले बताए । 'त्यसपछि पर्खालमा सानो प्वाल बनाएर सोधी खोजी गर्दा भित्रबाट बचाउ-बचाउ भन्ने आवाज सुनियो । त्यसपछि पर्खाल फुटाएर उनको उद्दार गर्न हामी सफल भएका हौं' उनले भने । उद्दार कार्यमा स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायले समेत आवश्यक सहयोग गरेको थियो । उद्दार गरिएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरद्धारा थप उपचारको लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौं पठाइएको छ । हाल उनको अवस्था मध्यम (बोल्न सक्ने) रहेको बताइएको छ । बाढीका प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरीले स्थानीय तह एवम् अन्य सुरक्षा निकायको समन्वयमा निरन्तर रूपमा खटिई उद्दार तथा खोज कार्य गरिरहेको छ ।
उद्योगीहरूले सेवाभावले ग्यासको मूल्य बढाएका हुन् : पूर्वअध्यक्ष घिमिरे
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले एलपी ग्यासमा प्रतिसिलिन्डर थप गरिएको १०५ रुपैयाँ उद्योगीको नाफा नभई बाढीपहिरोका कारण बढेको ढुवानी खर्च व्यवस्थापनका लागि लिइएको बताएका छन् । उनका अनुसार उक्त रकम उद्योगीको खातामा नजाने र सिधै ढुवानीकर्तालाई भुक्तानी गरिने व्यवस्था गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र चुनौती’ विषयक कार्यक्रममा बोल्दै घिमिरेले सडक सञ्जाल अवरुद्ध भएपछि ग्यास ढुवानीका लागि वैकल्पिक र लामो मार्ग प्रयोग गर्नुपरेकाले अतिरिक्त शुल्क लिनुपरेको बता ए। ‘यो शुल्क न उद्योगले लगाएको हो, न त उद्योगको खातामा आउने नै हो,’ घिमिरेले भने । उनका अनुसार रकम संस्थागत रूपमा नारायणी यातायात व्यवसायी संघमार्फत ढुवानीकर्तालाई भुक्तानी गरिन्छ । राज्यले ढुवानीका साधन उपलब्ध गराए अतिरिक्त शुल्क तत्काल फिर्ता लिन उद्योगी तयार रहेको उनले बताए । उपभोक्ताको मर्का आफूहरूले बुझेको भन्दै घिमिरेले उद्योगीले पाउने ‘पीडीओ प्राइस’अन्तर्गतको प्रतिसिलिन्डर ५७ पैसासमेत ट्रक व्यवसायीलाई नै छाडिदिएको जानकारी दिए । भारतमा ग्यास रिफिलिङबापत निजी क्षेत्रलाई प्रतिसिलिन्डर ४५ रुपैयाँ दिइने गरेको उल्लेख गर्दै उनले नेपालका उद्योगीले अहिलेको विषम परिस्थितिमा रिफिलिङबापत कुनै अतिरिक्त शुल्क नलिएको बताए । ‘यदि नाफा नै खोजेको भए प्रतिसिलिन्डर मूल्य १८० रुपैयाँ नाघ्ने थियो,’ उनले भने । ग्यास आपूर्तिका विषयमा नेपाल आयल निगमसँग उद्योगीको कुनै अवाञ्छित साँठगाँठ नभएको दाबी गर्दै घिमिरेले अतिरिक्त शुल्कको निर्णय २०७८ को विनियममा टेकेर गरिएको बताए । बजारमा कृत्रिम अभाव सिर्जना गरी प्रतिसिलिन्डर ३ हजारदेखि ५ हजार रुपैयाँसम्ममा कालोबजारी हुनुभन्दा कानुनी व्यवस्थाअनुसार १०५ रुपैयाँ अतिरिक्त शुल्क लिएर आपूर्ति सहज बनाउनु उपयुक्त विकल्प भएको उनको तर्क थियो । कोभिड महामारी, नाकाबन्दी र भूकम्पलगायत संकटमा पनि उद्योगीहरूले सेवाभावले काम गरेको स्मरण गर्दै उनले अहिलेको निर्णयलाई पनि सोही सन्दर्भमा बुझिदिन आग्रह गरे । ‘संकटको मौका छोपेर उद्योगीले पैसा कमाउन खोजेको पुष्टि भएमा राज्यले तोक्ने जस्तोसुकै सजाय भोग्न र उद्योग नै सरकारलाई बुझाउन तयार छौँ,’ उनले भने । सरकारले ढुवानीमा अनुदान दिए उपभोक्तालाई थप राहत पुग्ने बताउँदै घिमिरेले जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई निर्णयको वास्तविकता बुझेर धारणा बनाउन आग्रह गरे । आपूर्ति व्यवस्था दुरुस्त राख्नु उद्योगीहरूको पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।
माथिल्लो त्रिशूलीको सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ । शनिबार नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो ।
मृतकको संख्या १३ सय ४४ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
काठमाडौं । रसुवा बाढीमा परी बेपत्ता भएकाहरुमध्ये १ हजार ३ सय ४४ जनाको शव फेला परेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको हो । प्राधिकरणले शनिबार मध्यान्ह १२ बजेसम्मको अध्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै मानवीय र भौतिक क्षतिको विस्तृत विवरण उपलब्ध गराएको हो । प्राधिकरणकाअनुसार बाढी र पहिरोका कारण हालसम्म १ हजार ३ सय ४४ जनाले ज्यान गुमाएका छन् । फेला परेका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३ सय ६०, नवलपरासी पश्चिममा २ सय ३०, नवलपरासी पूर्वमा २ सय २२, नुवाकोटमा १ सय ९२ र रसुवामा १६० जना रहेका छन् । त्यसैगरी धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३८ र काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ । मृतकहरूमध्ये ४ सय ८९ पुरुष, २ सय ६९ महिला, ५२ बालिका र ३३ बालक रहेका छन् भने ५ सय १ वटा शवका आंशिक अवशेषहरू मात्र फेला परेका छन् । हालसम्म ९६ जनाको मात्र सनाखत भई आफन्तले बुझिलिएको जानकारी दिइएको छ । विपद्मा परी घाइते भएका ५ हजार ६ सय ६३ जनाको उपचार गरिएको छ । जसमध्ये ३१४ जनाको विभिन्न अस्पतालमा, ३ हजार २ सय ६६ जनाको नेपाली सेनाद्वारा र २ हजार ८३ जनाको सशस्त्र प्रहरी बलमार्फत उपचार गरिएको छ । अहिलेसम्म १३ हजार ९८ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार कार्यमा नेपाली सेनाले ९ सय १ पटक र निजी क्षेत्रले १ सय २९ पटक हवाई उडान प्रयोग गरेका छन् । हाल रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६ सय २७ जनालाई राखिएको छ । अझै पनि करिव ५ हजार व्यक्ति सम्पर्कविहीन रहेका छन् । यसमा रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४०, ५ सय ८९ विदेशी नागरिक र करिब १०० सुरक्षाकर्मी तथा कर्मचारी रहेका छन् । सम्पर्कविहीनको संख्यामा पहिचान नभएका शव र उद्धार गरिएका व्यक्तिहरू पनि समावेश हुनसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन ८० ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री पठाइएको छ । सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १७३ हवाई उडानमार्फत राहत ढुवानी गरेको छ । उद्धार र राहत कार्यमा २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाली सेना ९ हजार २ सय ८७, नेपाल प्रहरी ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी ४ हजार २ सय ३ जना रहेका छन् । प्रारम्भिक अनुमानअनुसार ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ । ४८ सरकारी संरचना (३५ पूर्ण, १३ आंशिक), १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा क्षति पुगेको छ । भौतिक पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । साथै १३ वटा जलविद्युत आयोजनामा समेत क्षति पुगेको उल्लेख छ । नेपाल सरकारले रसुवा र नुवाकोट जिल्लाका लागि १–१ करोड रुपैयाँ, धादिङका लागि ५० लाख र प्रभावित १५ पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । क्षतिको आधारमा प्रत्यक्ष प्रभावित जनसंख्या ३२ हजार ९ सय ६३ रहेको अनुमान गरिएको छ । प्राधिकरणले सम्पर्कविहीन, घाइते र उद्धार गरिएका व्यक्तिहरूको थप विवरण आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिने जानकारी दिएको छ ।
भोटेकोशी बाढीपीडितका लागि म्याक्सस नेपालको ८० लाख बराबरको राहत
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि म्याक्सस नेपालले करिब ८० लाख रुपैयाँ बराबरको राहत सहयोग उपलब्ध गराएको छ । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्नुका साथै नुवाकोटका अस्थायी आश्रयस्थलमा स्वच्छ खानेपानीको व्यवस्था र राहत सामग्री वितरण गरेको जनाएको छ । शनिबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार चीनको एसएआईसी म्याक्ससको सहयोग र हिमालय अर्गनाइजेसनको समन्वयमा म्याक्सस नेपालले राहत कार्यक्रम सञ्चालन गरेको हो । कम्पनीले केही दिनअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख रुपैयाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको जनाएको छ । यससँगै त्रिशुली नदीपारिका बाढी प्रभावित समुदायका लागि करिब ३० लाख रुपैयाँ बराबरको प्रत्यक्ष राहत उपलब्ध गराइएको छ । राहतअन्तर्गत दुई वटा होल्डिङ सेन्टरमा अत्याधुनिक पानी शुद्धीकरण संयन्त्र जडान गरिएको छ भने करिब ४०० जनालाई अत्यावश्यक राहत सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ । वितरण गरिएका राहत सामग्रीमा ओछ्यानका सामग्री, औषधि, आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न, तरकारी, खाना पकाउने सामग्री, भाँडाकुँडा तथा पुरुष, महिला र बालबालिकाका लागि आवश्यक कपडालगायत सामग्री रहेका छन् । कम्पनीका अनुसार सौर्य ऊर्जामा आधारित पानी शुद्धीकरण प्रणाली नुवाकोटको त्रिशुलीस्थित श्री भैरम माध्यमिक विद्यालय र विदुर नगरपालिकाको त्रिशुली प्राथमिक विद्यालयमा जडान गरिएको छ । ती दुई अस्थायी आश्रयस्थलमा हाल करिब ५०० परिवारले आश्रय लिइरहेका छन् । प्रत्येक पानी शुद्धीकरण प्रणालीले प्रतिघण्टा एक हजार लिटर पानी शुद्धीकरण गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । यसबाट अस्थायी आश्रयस्थलमा रहेका परिवारलाई सुरक्षित र स्वच्छ खानेपानी उपलब्ध हुने तथा विद्यालय सञ्चालन भएपछि विद्यार्थीसमेत लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ । म्याक्सस नेपालले यो राहत कार्यक्रम आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गरिएको जनाएको छ ।
३२ कम्पनीको लाभांश घोषणा, कसले बाँड्दैछ कति ?
काठमाडौं । आर्थिक वर्ष सकिएसँगै लगानीकर्ताको चासो हुन्छ– आफूले लगानी गरेको कम्पनीले यस वर्ष कति लाभांश देला ? कम्पनीले वर्षभरि कमाएको नाफाबाट सेयरधनीलाई बाँड्ने प्रतिफल लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । त्यसैले आर्थिक वर्ष सकिएपछि लगानीकर्ताहरू कम्पनीको वित्तीय विवरण, नाफा, सञ्चालक समितिको निर्णय र अन्ततः लाभांश घोषणाको प्रतीक्षामा हुन्छन् । लाभांश घोषणा जति छिटो हुन्छ, लगानीकर्ताको चासो पनि त्यति नै बढ्छ । अझ घोषणा भएको लाभांश साधारणसभाबाट पारित भएर छिट्टै सेयरधनीको हातमा परोस् भन्ने चाहना स्वाभाविक हुन्छ । आर्थिक वर्ष २०८२/८३ को नाफाबाट अहिले विभिन्न कम्पनीले धमाधम लाभांश प्रस्ताव गर्न थालेका छन् । विकासन्युजलाई प्राप्त विवरणअनुसार वाणिज्य बैंकदेखि विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन तथा प्रशोधन, मेडिकल कलेज, मर्चेन्ट कम्पनी, ब्रोकर तथा अन्य कम्पनीले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत १० कम्पनीको लाभांश एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सानिमा बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित १० प्रतिशतका दरले १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ५.२६ प्रतिशतका दरले १ अर्ब १३ करोड ६८ लाख ५१ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले ५७ करोड ९२ लाख ८९ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँको ४ प्रतिशतका दरले १४ करोड ९३ लाख ६२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६.५२ प्रतिशतका दरले २४ करोड ३६ लाख ९७ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले कुल १०.५२ प्रतिशत अर्थात् ३९ करोड ३० लाख ५९ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको १०.५२ प्रतिशतका दरले १२ करोड ४५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशतका दरले ३४ करोड ७२ लाख ८७ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले १ करोड ८२ लाख ७८ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले कुल १५.७८ प्रतिशत अर्थात् ३६ करोड ५५ लाख ६५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको करसहित १२ प्रतिशतका दरले १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । सूचीकृत नभएका कम्पनीको लाभांश विकासन्युजलाई प्राप्त तथ्यांकअनुसार पुँजी बजारमा सूचीकृत नभएका विभिन्न ५ वटा मर्चेन्ट कम्पनी, ७ वटा हाइड्रोपावर कम्पनी, ३ वटा स्वास्थ्य क्षेत्रका कम्पनी, ३ वटा ब्रोकर कम्पनी र ४ वटा अन्य कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन् । एनआईसी एशिया क्यापिटलले ५० प्रतिशतका दरले १० करोड रुपैयाँ, कुमारी क्यापिटलले १२.२५ प्रतिशतका दरले ४ करोड ९० लाख रुपैयाँ, सानिमा क्यापिटलले १० प्रतिशतका दरले २ करोड ५० लाख रुपैयाँ, माछापुच्छ्रे क्यापिटलले ७ प्रतिशतका दरले २ करोड ४३ हजार ७६५ रुपैयाँ र मुक्तिनाथ क्यापिटलले ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् । यस्तै, हिल्टन हाइड्रो इनर्जीले २० प्रतिशत, आशुतोष इनर्जीले १८.९४ प्रतिशत, काबेली हाइड्रोपावरले १६.३१ प्रतिशत, सेन्चुरी इनर्जीले १०.५२ प्रतिशत, पशुपती रिन्यूएबल्सले १०.३४ प्रतिशत र साप्सु कालिका हाइड्रोपावरले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । निलगिरी खोला हाइड्रोपावरले भने लाभांश वितरण गरेको छ । तर, कम्पनीले लाभांशको दर भने खुलाएको छैन । यस्तै, नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २२.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । डिभाइन हेल्थ केयर लिमिटेडले चुक्ता पुँजीको १.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०६५ प्रतिशत नगद लाभांश गरी कुल १.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सनी सेक्युरिटिजले २५ प्रतिशत, केबीएल सेक्युरिटिजले ७.५ प्रतिशत र ग्लोबल आइएमई सेक्युरिटिजले ३.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । शिवम् होल्डिङ्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १५ लाख ५७ हजार ३४३ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । होटेल सारथीले गत आर्थिक वर्ष २०८२/८३ सम्मको जगेडा कोषबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, भेन्चर हायर पर्चेजले १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।