काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि म्याक्सस नेपालले करिब ८० लाख रुपैयाँ बराबरको राहत सहयोग उपलब्ध गराएको छ । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्नुका साथै नुवाकोटका अस्थायी आश्रयस्थलमा स्वच्छ खानेपानीको व्यवस्था र राहत सामग्री वितरण गरेको जनाएको छ ।
शनिबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार चीनको एसएआईसी म्याक्ससको सहयोग र हिमालय अर्गनाइजेसनको समन्वयमा म्याक्सस नेपालले राहत कार्यक्रम सञ्चालन गरेको हो । कम्पनीले केही दिनअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख रुपैयाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको जनाएको छ ।
यससँगै त्रिशुली नदीपारिका बाढी प्रभावित समुदायका लागि करिब ३० लाख रुपैयाँ बराबरको प्रत्यक्ष राहत उपलब्ध गराइएको छ । राहतअन्तर्गत दुई वटा होल्डिङ सेन्टरमा अत्याधुनिक पानी शुद्धीकरण संयन्त्र जडान गरिएको छ भने करिब ४०० जनालाई अत्यावश्यक राहत सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।
वितरण गरिएका राहत सामग्रीमा ओछ्यानका सामग्री, औषधि, आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न, तरकारी, खाना पकाउने सामग्री, भाँडाकुँडा तथा पुरुष, महिला र बालबालिकाका लागि आवश्यक कपडालगायत सामग्री रहेका छन् ।
कम्पनीका अनुसार सौर्य ऊर्जामा आधारित पानी शुद्धीकरण प्रणाली नुवाकोटको त्रिशुलीस्थित श्री भैरम माध्यमिक विद्यालय र विदुर नगरपालिकाको त्रिशुली प्राथमिक विद्यालयमा जडान गरिएको छ । ती दुई अस्थायी आश्रयस्थलमा हाल करिब ५०० परिवारले आश्रय लिइरहेका छन् ।
प्रत्येक पानी शुद्धीकरण प्रणालीले प्रतिघण्टा एक हजार लिटर पानी शुद्धीकरण गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । यसबाट अस्थायी आश्रयस्थलमा रहेका परिवारलाई सुरक्षित र स्वच्छ खानेपानी उपलब्ध हुने तथा विद्यालय सञ्चालन भएपछि विद्यार्थीसमेत लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।
म्याक्सस नेपालले यो राहत कार्यक्रम आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गरिएको जनाएको छ ।