विकासन्युज

दुई करोड भन्दा बढीको एप्पल कम्पनीको एयर वर्डस बरामद

काठमाडौं । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ मगरथानाबाट भाद्र २० गते बिहान सशस्त्र प्रहरीले करीब २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डस बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको १२ सय थान एयर वर्डस सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर कार्की, सीमा सुरक्षा गुल्म रघुनाथपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश दत्त पाण्डे र बोर्डर आउट पोष्ट खैरवनीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीको टोलीले बरामद गरेको हो ।  उक्त एयर वर्डस ल्याउने व्यक्ति भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ फरार भएका थिए । बरामद एयर वर्डस आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

प्रविधिसँगै मानव बेचबिखनको स्वरूप बदलिँदै, सजगता र सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको जनाएका छन् । मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्कका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरेका हुन् । 'प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता' भन्ने नाराका साथ दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताएका छन् । उनले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप नीतिगत तथा संस्थागत सुधार गर्दै आएको जानकारी दिएका छन्। यसका लागि तिनै तहको सरकार र सम्बन्धित सबै सरोकारवालाको समन्वय तथा सहकार्यमा विभिन्न पहल भइरहेको उनको भनाइ छ । प्रधानमन्त्री शाहका अनुसार मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल हुने गरी संशोधन गर्ने विधेयक संसदमा दर्ता गरिएको छ । यसबाट मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकार संरक्षणका लागि राज्यहरूबीच सहयोग र समन्वय बढाउन सहज हुने अपेक्षा गरिएको छ । विद्यमान कानुनी तथा संस्थागत संयन्त्रलाई संघीय संरचनाअनुरूप बनाउने क्रममा मानव बेचबिखनविरुद्धको नीति जारी गरी कार्यान्वयनमा ल्याइएको पनि प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । उनले मानव बेचबिखनविरुद्धको अभियानमा संघीय सरकारका अतिरिक्त प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताएका छन्। 'हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ,' प्रधानमन्त्री शाहले सन्देशमा उल्लेख गरेका छन् । उनले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नेपाल सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै सरकारको प्रतिबद्धतामा साथ, सहयोग र ऐक्यबद्धताका लागि आग्रह गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी

काठमाडौं । एनसेलले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप ७ दिन बढाएको छ । कम्पनीले भदौ २० गतेदेखि भदौ २६ गतेसम्म प्रभावित क्षेत्रका ग्राहकले निःशुल्क सेवा प्रयोग गर्न सक्ने जनाएको हो। खोज, उद्धार र राहत कार्यमा सहज सञ्चार होस् भन्ने उद्देश्यले सेवा अवधि बढाइएको एनसेलले जनाएको छ । यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गतेदेखि तीन दिन निःशुल्क सेवा दिएको थियो । त्यसपछि सेवा अवधि भदौ १९ गतेसम्म थपिएको थियो। अब फेरि एक हप्ता थप गरिएको हो । एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले कठिन समयमा प्रभावित नागरिकलाई परिवार, आफन्त र उद्धार टोलीसँग सम्पर्कमा रहन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।  ९२ प्रतिशत टावर पुनः सञ्चालनमा एनसेलका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा अवरुद्ध भएका ९२ प्रतिशत टावर पुनः सञ्चालनमा आइसकेका छन् । बाढीका कारण कुल २७ वटा टावर प्रभावित भएका थिए। तीमध्ये २५ वटा टावर पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । रसुवाको घट्टेखोला–टिमुरे क्षेत्रमा रहेको एउटा टावर पूर्ण रूपमा नष्ट भएको छ । उत्तरगया–तिरु क्षेत्रमा रहेको अर्को टावर सञ्चालनमा ल्याउन हेलिकप्टरमार्फत उपकरण पुर्‍याउने काम भइरहेको एनसेलले जनाएको छ । एनसेलले विपद्का बेला सूचना, खोज, उद्धार र राहत कार्यमा सहयोग पुर्‍याउन एसएमएस, कल टोन र सामाजिक सञ्जालमार्फत जानकारीमूलक सन्देश पनि प्रसारण गरिरहेको छ । यसअघि एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।

जेनजी आन्दोलनमा क्षतिग्रस्त युलेन्सको आम्दानी १३.३३ प्रतिशत घट्यो, कमायो ६७.६० करोड

काठमाडौं । युलेन्स एजुकेशन फाउण्डेसनले गत आर्थिक वर्ष २०८२/८३ मा ६७ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३.३३ प्रतिशत अर्थात् १० करोड ४० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८१/८२ मा युलेन्सले ७८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  गत भदौमा भएको जेनजी आन्दोलनका कारण आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ । मासिक शिक्षण शुल्क तथा अन्य सहायक शुल्कबाट प्राप्त रकम घट्नुका साथै यातायात सेवाबाट हुने आम्दानीमा आएको कमीका कारण पनि आम्दानी घटेको हो । विद्यार्थीलाई प्रदान गरिएको छात्रवृत्ति तथा शुल्क छुटले पनि संस्थाको आम्दानीमा दबाब परेको जनाएको छ ।  युलेन्सले आर्थिक वर्ष २०८०/८१ मा ७६ करोड ५० लाख रुपैयाँ, आव २०७९/८० मा ७५ करोड ४० लाख रुपैयाँ र आव २०७८/७९ मा ६३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  युलेन्स एजुकेशन फाउण्डेसन नेपालमा विश्वस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको गैरनाफामूलक संस्था हो । २०६२ पुसमा स्थापना भएको फाउण्डेसनले शिक्षालाई गैरनाफामूलक क्षेत्रमा विकास गर्दै उच्चस्तरको सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । फाउण्डेसनले युलेन्स स्कुल सञ्चालन गर्दै आएको छ । युलेन्सले बालकक्षादेखि कक्षा १२ सम्मको शिक्षा प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । विद्यालयको कक्षा ११ र १२ को कार्यक्रम नेपाल सरकारअन्तर्गतको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त छ भने अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रम स्विट्जरल्यान्डस्थित अन्तर्राष्ट्रिय स्नातक संस्थासँग आबद्ध छ । करिब दुई दशकदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको युलेन्सको सञ्चालक समितिमा ६ सदस्य छन् । समितिको अध्यक्षमा बेलायतको नर्विचस्थित इस्ट एङ्ग्लिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय बाल कल्याण विषयमा स्नातकोत्तर गरेका सोमप्रसाद पनेरु छन् । पनेरुले नेपालका केन्द्रीय बाल कल्याण बोर्डको सञ्चालक सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।  सञ्चालक समितिमा लगानी तथा पूर्वाधार वित्त विज्ञ मनीष थापा, संस्थासँग लामो समयदेखि आबद्ध संस्थापक सञ्चालक सदस्य सजनी अमात्य, अर्थशास्त्री तथा विकास विशेषज्ञ अनिता महत, शैक्षिक तथा संरक्षण क्षेत्रका विज्ञ डा. हेमसागर बराल र नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक प्रद्युम्नकुमार खनाल रहेका छन् ।  गत आर्थिक वर्षमा युलेन्सको सञ्चालन नाफा तथा ब्याज, कर, ह्रासकट्टीअघिको नाफा अनुपात २१.५० प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३४.५० प्रतिशत थियो । आम्दानी घट्नुका साथै चुनौतीपूर्ण परिस्थितिमा पनि शिक्षक तथा सहयोगी कर्मचारीको संख्या यथावत् राखिएकाले खर्च बढ्दा नाफा अनुपातमा दबाब परेको कम्पनीले जनाएको छ । करपछिको नाफा अनुपातसमेत १६.५५ प्रतिशतबाट घटेर २.८२ प्रतिशतमा सीमित भएको छ । त्यस्तै, कुल नगद सञ्चिति आम्दानी अघिल्लो वर्षको १९ करोड ५० लाख रुपैयाँबाट घटेर ५ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ । आम्दानीमा आएको कमीका साथै अशान्तिपछि सम्पत्ति पुनःस्थापनाका लागि गरिएको एकपटकको मर्मत तथा सम्भार खर्चले पनि संस्थाको नाफामा दबाब सिर्जना गरेको जनाएको छ । तर, विद्यार्थी भर्नाको सन्तोषजनक अवस्था, समयअनुसार शिक्षण शुल्कमा हुने परिमार्जन तथा सञ्चालन अवस्था सामान्य बन्दै गएकाले आगामी वर्ष आम्दानीमा सुधार हुने अपेक्षा कम्पनीको छ ।  कम्पनीका अनुसार नेपालमा गुणस्तरीय शैक्षिक सेवाको माग निरन्तर बढ्दैछ । आम्दानी तथा रोजगारी सिर्जनाका दृष्टिले शिक्षा क्षेत्र नेपालका प्रमुख क्षेत्रमध्ये एकका रूपमा विकसित हुँदै गएको छ । बढ्दो आम्दानी, शिक्षाप्रतिको जनचेतनामा वृद्धि, जीवनशैलीमा आएको सुधार तथा शैक्षिक सेवामा सहज पहुँचले आगामी दिनमा शिक्षा क्षेत्रको विस्तारमा थप योगदान पु¥याउने कम्पनीको अपेक्षा छ ।  यद्यपि, शिक्षा क्षेत्र अत्यधिक प्रतिस्पर्धात्मक रहेकाले विद्यार्थी आकर्षित गर्न शैक्षिक संस्थाबीच उच्च प्रतिस्पर्धा रहेको छ । शिक्षाको गुणस्तर, शिक्षकको योग्यता तथा अनुभव, प्रदान गरिने सेवाको दायरा र आधुनिक शिक्षण पद्धति विद्यार्थी आकर्षित गर्ने महत्वपूर्ण आधार बन्ने जनाएको छ । पछिल्ला वर्षमा निजी शैक्षिक संस्थाको संख्या बढ्दै गएपछि दक्ष तथा अनुभवी शिक्षक र अन्य शैक्षिक जनशक्तिलाई संस्थामा टिकाइराख्नु पनि क्षेत्रका लागि चुनौती बनेको कम्पनीले जनाएको छ ।  कक्षा १२ सम्मको माध्यमिक शिक्षामा प्रतिस्पर्धा अत्यधिक रहे पनि अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रममा तुलनात्मक रूपमा कम प्रतिस्पर्धा रहेको युलेन्स एजुकेशन फाउण्डेशनले जनाएको छ । नेपालमा हाल यस्ता कार्यक्रम सञ्चालन गर्ने संस्थाको संख्या सीमित रहेकाले प्रतिस्पर्धा कम देखिएको हो । यद्यपि, अन्तर्राष्ट्रिय स्नातक तहको कार्यक्रमले विदेशी शैक्षिक संस्था तथा विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने समकक्षी कार्यक्रमबाट प्रतिस्पर्धा व्यहोर्नुपरेको छ । विशेषगरी बेलायतको क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने उच्च तहको सामान्य शैक्षिक प्रमाणपत्र कार्यक्रमलगायत वैकल्पिक शैक्षिक कार्यक्रम यसका प्रतिस्पर्धीका रूपमा रहेका छन् । कम्पनीका अनुसार युलेन्स शैक्षिक संस्थासँग सम्बन्धित नियामकीय जोखिमबाट समेत प्रभावित हुन सक्ने देखिएको छ । युलेन्सअन्तर्गत सञ्चालनमा रहेको विद्यालय सरकारका विभिन्न निकाय तथा संस्थाबाट नियमन हुने भएकाले शिक्षा क्षेत्रमा हुने नीतिगत तथा कानुनी परिवर्तनले संस्थाको सञ्चालन र आम्दानीमा प्रभाव पार्न सक्ने जनाएको छ । प्रतिकूल निगरानीबाट हटाइयो युलेन्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६५ करोड रुपैयाँ ऋण लिएको छ । त्यसमध्ये ५१ करोड रुपैयाँ दीर्घकालीन र १३ करोड ९४ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । गत वर्षको भदौमा भएको जेनजी आन्दोलनका कारण उत्पन्न अनिश्चितता कम हुँदै गएपछि युलेन्सको बैंकिङ सुविधासम्बन्धी ऋण मूल्याङ्कनलाई नकारात्मक प्रभावसहितको प्रतिकूल निगरानीबाट हटाएको केयरएज रेटिङ्ग्स नेपालले जनाएको छ । आन्दोलनका क्रममा ललितपुरस्थित युलेन्स स्कुलको मुख्य परिसरसमेत प्रभावित भएको थियो । विद्यालयका भवन, सवारीसाधन तथा शैक्षिक सामग्रीमा ठूलो क्षति पुगेपछि कम्पनीले उल्लेख्य आर्थिक नोक्सानी बेहोर्नुका साथै केही समय सञ्चालनमा अवरोध व्यहोरेको थियो । तर, फाउण्डेसनले छिटो पुनरुत्थान गर्न सक्ने क्षमता देखाउँदै शैक्षिक गतिविधि शीघ्र सञ्चालनमा ल्याएको हो । अशान्तिपछि विद्यालयले तत्काल विद्युतीय माध्यमबाट पठनपाठन सञ्चालनमा ल्याएको थियो । त्यसपछि अस्थायी रूपमा भाडामा लिइएका स्थानबाट शैक्षिक गतिविधि सञ्चालन गरिएको थियो । क्षतिग्रस्त पूर्वाधारको मर्मत तथा पुनःस्थापना र बीमा दाबीमार्फत नोक्सानीको केही हिस्सा प्राप्त गर्न सफल भएको थियो । 

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरलगायत प्रमुख विदेशी मुद्राको नयाँ विनिमयदर लागू भएको छ । आज एक अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, एक युरोको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा छ । क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७४ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५० पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

पृथ्वी राजमार्ग आज १२ घण्टा पूर्ण रूपमा बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित परेवाभिर सडकखण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण परेवाभिर क्षेत्रको सडकमा क्षति पुगेपछि उक्त खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन हुँदै आएको थियो । क्षतिग्रस्त सडकको मर्मत गर्न जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार मर्मत अवधिभर एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सडक बन्द हुने भएकाले यात्रु तथा सवारीचालकलाई पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमा माग्दै उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ ।

१० प्रतिशत लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो असोज १२ गते साधारण सभा

काठमाडौं । सानिमा बैंकले १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न २२औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले असोज १२ गते बिहान ११ बजे काठमाडौंको आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८२÷८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित १० प्रतिशतका दरले हुने १ अर्ब ५५ करोड ८१ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीहरू सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेडको गत आर्थिक वर्ष २०८२÷८३ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । यस्तै, लेखापरीक्षण समितिको सिफारिसमा चालु आर्थिक वर्ष २०८३÷८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरिनेछ। बैंकका अनुसार बहालवाला लेखापरीक्षक एसएआर एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त हुन योग्य छन् । सञ्चालक समितिको प्रस्तावअनुसार असार मसान्तमा कायम रहेको सञ्चित मुनाफाबाट अविमोच्य असञ्चिति अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) समानुपातिक रूपमा वितरण गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गर्नेछ । सभाले सर्वसाधारण समूह (समूह ‘ख’) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचनसमेत गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय बैंकले गरेको छ । त्यसैले असोज १ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती हुने

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज (भदौ २० गते) शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सामाखुसी फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । रत्नपार्क वितरण केन्द्रले सामाखुसी फिडरअन्तर्गत प्रिभेन्टिभ मेन्टेनेन्स कार्य गर्न विद्युत् आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ । उक्त अवधिमा लैनचौर डीडीसी हुँदै सोह्रखुट्टे ओरालो, ठमेल, गोल्कुपाखा, सामाखुसी, रेडन पुल, कपुरधारा, दक्षिणकाली मन्दिर, रानीबारी, बागमती ड्राइभिङ, सामाखुसी सरकारी ब्यारेक तथा आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । प्राधिकरणले कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार चाँडै सुचारु गरिने जनाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।