११ औं दिनमा उद्दार गरिएको महिलालाई काठमाडौं ल्याइयो

काठमाडौं । त्रिशूलीको बाढीमा पुरिएको घरबाट ११ औं दिनमा एक महिलाको प्रहरीले जीवितै उद्धार भएको छ ।

प्रहरीले विदुर नगरपालिका-१० बेत्रावती बस्ने आनन्द लालश्रेष्ठको श्रीमती ६४ वर्षीया चण्डीका श्रेष्ठको जीवितै उद्दार गरेको हो ।

प्रहरी निरीक्षक महेन्द्र दर्नालको कामण्डमा खटिएको प्रहरीले बेत्राबतीस्थित नदीको बगर तथा क्षतिग्रस्त संरचनामा आवश्यक खोजी कार्य गरिरहेको थियो । 

सोही क्रममा आनन्द लालको ४ तल्ले घरको छतमा पुगेपछि भित्रबाट आवाज आएको सुनिएको कुरा प्रहरी निरीक्षक दर्नालले बताए । 

'त्यसपछि पर्खालमा सानो प्वाल बनाएर सोधी खोजी गर्दा भित्रबाट बचाउ-बचाउ भन्ने आवाज सुनियो । त्यसपछि पर्खाल फुटाएर उनको उद्दार गर्न हामी सफल भएका हौं' उनले भने । 

उद्दार कार्यमा स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायले समेत आवश्यक सहयोग गरेको थियो । उद्दार गरिएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरद्धारा थप उपचारको लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौं पठाइएको छ । 

हाल उनको अवस्था मध्यम (बोल्न सक्ने) रहेको बताइएको छ । 

बाढीका प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरीले स्थानीय तह एवम् अन्य सुरक्षा निकायको समन्वयमा निरन्तर रूपमा खटिई उद्दार तथा खोज कार्य गरिरहेको छ । 

Share News