काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र सभापति गगनकुमार थापाबीच आइतबार (आज) भेटवार्ता भएको छ । दुई नेताबीच आज अपरान्ह १२ः३० बजे सुरु भएको भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान र पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
भेटका क्रममा नेता कोइरालाले मुलुक, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेको भन्दै यस्तो अवस्थामा कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कांग्रेसभित्रको एकताका लागि आफू आफ्नो तर्फबाट आवश्यक त्याग गर्न तयार रहेको कोइरालाले स्पष्ट पारेको थपलियाले बताए ।
उनले पार्टीभित्रका मतभेद र असमझदारीलाई संवादमार्फत समाधान गर्दै कांग्रेसलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए ।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएको थपलियाले जानकारी दिए ।उनका अनुसार पार्टीभित्र देखिएका समस्या समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा दुवै नेता सकारात्मक देखिएका छन् ।
यसैगरी, भेटमा यही भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवामा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिबारे पनि छलफल भएको थियो । दुई नेताबीच रसुवासहित नुवाकोट र धादिङको पछिल्लो अवस्था, बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाका विषयमा समेत कुराकानी भएको थियो ।
कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवादका बीच भएको शेखर–गगन भेटवार्तालाई पार्टीभित्रको असमझदारी कम गर्दै एकताको वातावरण निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ ।