गुल्मेली रोटीको स्वाद अब काठमाडौंमै

काठमाडौं । गाउँको आँगन, चुल्होको तातो र चाडपर्वको सम्झना दिलाउने गुल्मीका मौलिक रोटी अब काठमाडौंमै खान पाइने भएको छ । 

गुल्मीमा पुस्तौंदेखि बनाइँदै आएका फिनी, अनरसा, अर्सा, झिनिया र सेल रोटी अब चन्द्रागिरिको धौलागिरी आवास क्षेत्रमा दिदीबहिनी रोटी उद्योग मार्फत उपलब्ध हुन थालेको उद्योगका सञ्चालक इन्दिरा भण्डारीले जानकारी दिइन् ।

गुल्मीको परम्परागत स्वादलाई काठमाडौंसम्म पुर्याउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक भण्डारी बताउँछिन् । 

उनका अनुसार बजारमा रोटीका अनेक स्वाद पाइए पनि गुल्मीको मौलिक स्वाद र स्थानीय कच्चा पदार्थ प्रयोग गरेर तयार हुने रोटीको छुट्टै पहिचान छ ।

रोटीको स्वादमा गुल्मीको मौलिकता कायम राख्न उद्योगले छल्दीको हंसराज चामल र थोर्गाको खुदो प्रयोग गर्ने भएको छ । परम्परागत स्वादलाई प्राथमिकता दिँदै रोटी शुद्ध घिउमा तयार गरिने भण्डारीले बताइन् । ‘गुल्मीमा बनाइने रोटीको स्वाद काठमाडौंमा पनि उस्तै महसुस गराउन चाहेका छौं,’ उनले भनिन् ।

विशेषगरी गुल्मीका गाउँघरमा चाडपर्व, विवाह, पूजाआजा तथा पारिवारिक जमघटका अवसरमा बनाइने यी रोटी पछिल्लो समय सहरमा समेत लोकप्रिय हुँदै गएका छन् । रोजगारी, अध्ययन तथा व्यवसायका कारण काठमाडौंमा बस्दै आएका गुल्मेलीका लागि भने यी रोटी गाउँको स्वाद र सम्झनासँग जोडिने परिकार पनि हुन् ।

दिदीबहिनी रोटी उद्योगले परम्परागत परिकारलाई व्यावसायिक उत्पादनसँग जोड्दै स्थानीय कृषि उत्पादनको बजार विस्तार गर्ने लक्ष्यसमेत राखेको छ । स्थानीय चामल, खुदो र अन्य कच्चा पदार्थको प्रयोग बढाउँदा त्यसको लाभ किसानसम्म पुग्ने र परम्परागत खानाको संरक्षणमा समेत योगदान पुग्ने उद्योगको विश्वास छ ।

भण्डारीका अनुसार उपभोक्ताको माग र रुचिलाई ध्यानमा राख्दै आगामी दिनमा गुल्मीमा प्रचलित अन्य मौलिक परिकारसमेत उत्पादन गर्ने योजना छ । उनका लागि यो केवल रोटी बेच्ने व्यवसायमात्र नभई गुल्मीको स्वाद, संस्कृति र परम्परालाई काठमाडौंको बजारसम्म पुर्याउने प्रयास पनि हो ।

गुल्मीका गाउँघरमा चाडपर्व र विशेष अवसरमा पाक्ने रोटी अब काठमाडौंमा समेत सहजै उपलब्ध हुने भएपछि उपभोक्ता पनि उत्साहित देखिएका छन् ।  

स्थानीय उपभोक्ता घना भुसालले गाउँको स्वाद खोजिरहेका गुल्मेलीलाई मात्र होइन, मौलिक नेपाली परिकारको स्वाद लिन चाहने काठमाडौंवासीका लागि पनि दिदीबहिनी रोटी उद्योग गुल्मीको स्वाद चाख्ने नयाँ गन्तव्य बन्नसक्ने बताइन् ।

Share News