भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीले १ हजार ३ सय बढीको मृत्यु भइसकेको छ भने ५ हजारभन्दा बढी मानिस सम्पर्कविहीन छन् । बाढीपहिरोले सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा उद्धार र राहतमा चुनौती थपिएको छ । यस्तो अवस्थामा उद्धार, राहत तथा आवतजावतका लागि हेलिकप्टरको भूमिका महत्त्वपूर्ण बनेको छ । विपद्को समयमा हेलिकप्टरले कसरी सेवा दिइरहेका छन् भन्ने विषयमा वायुसेवा सञ्चालक संघका महासचिव मुरलीधर जोशीसँग विकासन्युजकर्मी बविता तामाङले गरेको कुराकानीको संक्षिप्त अंश :
विपद्को समयमा निजी वायुसेवा तथा हेलिकोप्टर कम्पनीहरू उद्धार र राहतमा कत्तिको सक्रिय छन् ?
अहिले हामीले रेस्क्यु कोअर्डिनेसन सेन्टरलाई हेलिकोप्टर उपलब्ध गराइरहेका छौं । दैनिक रूपमा उहाँहरूको माग आउँछ र सोहीअनुसार हेलिकप्टरको व्यवस्था गरिरहेका छौं । अहिले विशेषगरी शव व्यवस्थापन, उद्धार र राहतका लागि हेलिकप्टर प्रयोग भइरहेको छ । टनेल क्षेत्रमा पनि उद्धारका लागि हेलिकोप्टर परिचालन भइरहेको छ ।
अहिले कति संख्यामा हेलिकप्टर सक्रिय छन् ?
अहिले निजी क्षेत्रका करिब ११ वटा हेलिकप्टर सक्रिय रूपमा प्रयोग भइरहेका छन् । अन्य हेलिकप्टर पनि तयारी अवस्थामा छन् ।
प्रभावित क्षेत्रमा अझै हवाई उद्धारको आवश्यकता कति छ ? हेलिकप्टर पर्याप्त मात्रामा छन् त ?
अहिले उद्धार तथा राहतका लागि रेस्क्यु कोअर्डिनेसन सेन्टरमार्फत काम भइरहेको छ । नेपाल सरकारको विपद् प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर सेन्टरले आवश्यकताका आधारमा हेलिकप्टर परिचालन गरिरहेको छ ।
विभिन्न माध्यमबाट आएका उद्धारका अनुरोधलाई मूल्याङ्कन गरेर दोहोरो नपर्ने गरी पालैपालो हेलिकप्टर उडाउने व्यवस्था गरिएको छ । प्रत्येक कम्पनीको कम्तीमा एउटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।
हामीले ‘डेडिकेटेड वे’ मार्फत हरेक बिहान मागअनुसार ११–१२ वटा हेलिकोप्टर कम्पनीबाट एक–एकवटा हेलिकप्टर छुट्याएर उपलब्ध गराउँदै आएका छौं । माग बढेको अवस्थामा थप हेलिकप्टर उपलब्ध गराउन अन्य हेलिकप्टर पनि स्ट्यान्डबाइमा राखेका छौं ।
हेलिकप्टरको अभाव नहुनुपर्ने हो । किनभने अहिले निजी क्षेत्रमा ३६ वटा हेलिकोप्टर छन्, जसमध्ये दुई–तीनवटा मर्मतमा होलान् । करिब ३२ वटा हेलिकोप्टर सञ्चालनमा छन् । समस्या हेलिकप्टर नपुगेर भन्दा पनि उद्धारको आवश्यकता र सूचना सम्बन्धित निकायसम्म समयमै नपुग्दा हुन सक्छ । सञ्चार सञ्जाल पनि राम्रो नभएकाले माग आएर मात्रै स्वतः हेलिकप्टर पुग्ने अवस्था हुँदैन ।
हामीले १५/१६ वटा हेलिकप्टर अनवरत रूपमा परिचालन गरिरहेका छौं । बाँकी २० वटा हेलिकप्टर पनि हामीले माग आउँदा परिचालन गर्ने भनेर यही काठमाडौमा स्ट्यान्डबाइमा राखेका छौं ।
अझ अहिले चार्टर फ्लाइट पनि खुला गरेका छैनौं । विपद् प्रभावित क्षेत्रबाहेक अन्य ठाउँबाट उद्धारको माग आएमा पनि पहिले रेस्क्यु कोअर्डिनेसन सेन्टरलाई जानकारी गराउँछाैं । उनीहरूको स्वीकृतिपछि मात्रै उडान गर्ने गरेका छौं । त्यसैले अहिले हेलिकप्टरको अभाव छ जस्तो मलाई लाग्दैन ।
अहिले उद्धार तथा राहतमा खटिएका निजी हेलिकप्टरले छुट्टै शुल्क लिने व्यवस्था छ ?
अहिले आरसीसीबाट आएका साइटहरूमा हुने सबै उडान सरकारले नै व्यवस्थापन गरिरहेको छ । भुक्तानीको पक्ष पनि सरकारकै हो । त्यसबाहेक राहतका लागि कसैले आफ्नै हिसाबले उडान गर्नुपरेमा पनि हामीले सरकारलाई जानकारी गराएर गर्ने गरेका छौं । तर प्रभावित क्षेत्र भूगोल र एरिया स्पेसका हिसाबले सानो भएकाले धेरै उडान गर्दा उद्धार कार्यमै समस्या हुन सक्छ । त्यसैले त्यस्ता उडानहरू कमै गरिरहेका छौं ।
अन्य व्यक्तिले भुक्तानी गर्ने सर्तमा पनि हामीले खासै त्यतातिर उडान गरेका छैनौं । हाम्रो पहिलो प्राथमिकता सरकारको आरसीसीअन्तर्गत रेस्क्यु कोअर्डिनेसनकै कामलाई दिइरहेका छौं ।
कुनै कुनै फाटफुट रूपमा एक–दुईवटा हेलिकप्टर कम्पनीले त्यस्तो काम गरिरहेका छन् । नेपाल सरकारको प्राथमिकताभन्दा छुट्टै, कसैले आफ्नै इच्छाले प्रभावित क्षेत्रमा गएर अवस्था बुझ्ने वा खोजी गर्ने काम पनि हुन सक्छ । उद्धार अपरिहार्य नभए पनि कसैको मन शान्तिका लागि एकपटक गएर हेर्ने क्रममा खोजी कार्यमा सहयोग पुग्न सक्छ । त्यो काममा पनि हेलिकप्टर प्रयोग भइरहेको छ ।
अर्को राहत वितरणसम्बन्धी काममा । व्यक्तिगत रूपमा लगिएको राहतले मात्रै पर्याप्त हुँदैन । तर व्यक्तिगत पहलमा राहत पुर्याउन चाहनेहरू पनि हुन्छन् । त्यस्तो अवस्थामा उनीहरूले खर्च आफै बेहोर्ने गरी अनुरोध गरेमा हामीले आरसीसीसँग समन्वय गर्छौं । त्यहाँको फ्लाइट मुभमेन्टमा असर नपर्ने र उद्धार तथा राहतको काम प्रभावित नहुने अवस्था भए आरसीसीले अनुमति दिन्छ । त्यसपछि हामी त्यस्ता उडान पनि सञ्चालन गर्छौं ।
विपद्को समयमा उद्धार समन्वयमा कुनै प्रशासनिक समस्या वा चुनौती भोग्नुपरेको छ ?
जटिलता धेरै छ । प्राविधिक चुनौती पनि छन् । सानो एयर स्पेसमा धेरै हेलिकप्टर उडाउनुपरेकाले पाइलटहरूलाई पनि केही तनाव हुन्छ । उद्धारको काम आफैमा संवेदनशील हुने भएकाले थप सावधानी अपनाउनुपर्छ । एयर ट्राफिक पनि बढी छ । त्यसमाथि अहिले बाढी प्रभावित क्षेत्रमा शवहरू कुहिन थालेकाले त्यसले पनि चुनौती थपेको छ।
हामीलाई सबैभन्दा चिन्ता प्रभावित क्षेत्रमा खटिएका साथीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्छ कि भन्ने हो । उहाँहरूले त्यस्तो कठिन अवस्था सामना गर्दै पनि निरन्तर काम गरिरहनुभएको छ । त्यसका लागि धन्यवाद दिनुपर्छ । त्यहाँ खानेकुरा र सरसफाइको अवस्था पनि निकै कठिन छ । दुर्गन्धित वातावरणका कारण खाना खानसमेत समस्या भइरहेको छ । बिहान प्रभावित क्षेत्रमा गएका कर्मचारीहरू बेलुकासम्म आइपुग्दा निकै थकित र कमजोर भएर फर्किने अवस्था छ । विशेषगरी स्यानिटेसनको अवस्था झनै चुनौतीपूर्ण छ ।
तर पनि यो विपत्तिको बेलामा सबैले आ–आफ्नो ठाउँबाट सक्दो काम गरिरहेका छन् । अहिले भौगोलिक अवस्था नै परिवर्तन भएको छ । बाढीग्रस्त क्षेत्रमा ल्याण्ड गर्दाअहिले धेरै जसो बाढी ग्रस्त क्षेत्र भएकाले त्यो पनि अन्दाज गर्दै उडान गर्नुपरेको छ ।
ग्राउन्डमा खटिएका साथीहरूलाई झनै गाह्रो छ । विपद्ग्रस्त क्षेत्र, मानिसको मृत्यु भएको ठाउँ र त्यहाँको अवस्था देख्दा नै विक्षिप्त बनाउने खालको छ । यस्तो अवस्थामा बिहानदेखि बेलुकासम्म निरन्तर खटिनुपर्दा उहाँहरूलाई निकै कठिन भइरहेको छ ।
लगातार उद्धार उडान गर्दा हेलिकोप्टर कम्पनीहरूलाई आर्थिक भार कत्तिको पर्छ ?
अहिलेको यो विपद्को घडीमा हामीले आर्थिक पक्षलाई हेरेका छैनौं । आर्थिक भार त पर्छ नै । हामीले पनि तत्कालै नगद प्रवाह व्यवस्थापन गर्नुपर्ने हुन्छ । इन्धनकै पैसा १५–१५ दिनमा तिर्नुपर्छ । त्यो बिल हामीले भुक्तानी गर्न सकेनौं भने भोलिपल्टदेखि इन्धन नै नपाउने अवस्था हुन्छ।
प्रत्येक उडानसँगै जहाजका केही कम्पोनेन्ट बिग्रने र पार्टपुर्जा रिप्लेस गर्नुपर्ने हुन्छ । पार्टपुर्जाले यो विपद्को समय हो भनेर बुझ्दैन, समयमै रिप्लेस गर्नैपर्छ । त्यसले गर्दा आर्थिक दबाब त पर्छ नै । अहिले पाँच–सात दिनदेखि लगातार उडान भइरहेकाले सबैको मर्मतसम्भारको साइकल पनि आइरहेको छ । तर अहिले हामी आर्थिक दवावभन्दा माथि उठेर काम गरिरहेका छौं ।
अहिलेको विपद्को समयमा संघको धारणा के छ ?
अहिलेको समय देशकै लागि चुनौतीपूर्ण अवस्था हो । सबै मिलेर विपदमा परेका नागरिकको कसरी उद्धार गर्न सकिन्छ र आ–आफ्नो ठाउँबाट कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ ।
टिमुरे, स्याफ्रुबेँसीलगायतका ठाउँमा हामीले नियमित रूपमा काम गर्दै आएका छौं । त्यहाँका साथीभाइ नै पीडित हुँदा हामीलाई पनि दुःख लाग्छ । त्यसैले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौं । सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं भन्ने मेरो अनुरोध पनि छ ।