इभी कारभित्र जलेको अवस्थामा भेटिए पुरुष, आफन्तलाई बोलाइँदै
काठमाडौं । चितवनको भरतपुरमा कारमा आगलागी हुँदा एक जना पुरुषको मृत्यु भएको छ । शुक्रबार भरतपुर महानगरपालिका- ९ बसन्तचोकस्थित पूर्व- पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार मृतकको पहिचान खोज्ने प्रयास जारी छ । मृतकको शंका लागेर आफन्तलाई बोलाइएको छ । मृतकको अन्तिम कन्फर्मेसन हुन मात्र बाँकी छ । आगलागी भएको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटिएको थियो । प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र हाल नाम, थर र ठेगाना नखुलेको एक जना मानिस जलेको अवस्थामा मृत फेला परेको जनाएको छ । आगलागीबाट कारसमेत जलेर क्षति भएको छ । मृतकको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
शुक्रबार एकैदिन सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ मा कारोबार भएको थियो । यो साताको सुरुवात आइतबार सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसयता केही उतारचढाव आए पनि शुक्रबार सबैभन्दा ठूलो गिरावट देखिएको हो । चाँदीको मूल्य पनि शुक्रबार घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २५५ रुपैयाँ सस्तो भएर ४ हजार ६ सय रुपैयाँ मा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ थियो ।
वीर अस्पतालमा दुर्लभ न्युरोसर्जरी, एउटै शल्यक्रियाबाट ६ वटा एन्युरिज्मको सफल क्लिपिङ
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालमा ४७ वर्षीया महिलाको जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालका अनुसार मस्तिष्कमा रक्तस्राव भएपछि उपचारका लागि ल्याइएकी बिरामीको परीक्षणका क्रममा दुवै पक्षमा गरी सात वटा एन्युरिज्म (रक्तनली फुल्ने समस्या) रहेको पत्ता लागेको थियो । अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बिरामीको बायाँतर्फ तीन, अगाडिका दुई प्रमुख रक्तनली जोडिने स्थानमा दुई तथा दायाँतर्फ दुई वटा एन्युरिज्म पहिचान भएका थिए । सामान्यतया दुवै पक्षका एन्युरिज्मको उपचारका लागि छुट्टाछुट्टै शल्यक्रिया आवश्यक पर्ने भए पनि वीर अस्पतालका न्युरोसर्जनहरूले बायाँतर्फबाट एउटै शल्यक्रियात्मक पहुँच बनाएर दुवै पक्षका ६ वटा एन्युरिज्म सफलतापूर्वक क्लिपिङ गरेका छन् । विशेषगरी दायाँतर्फका एन्युरिज्ममा समेत बायाँतर्फबाट पुगेर क्लिप लगाउनु यस शल्यक्रियाको प्रमुख विशेषता रहेको अस्पतालले जनाएको छ । करिब सात घण्टा लामो शल्यक्रियाको नेतृत्व प्रा. डा. राजीव झाले गरेका थिए भने शल्यक्रियामा डा. नम्रता खड्का र डा. योगेन्द्र देवकोटा सहभागी थिए । बाँकी रहेको सातौं एन्युरिज्मको उपचार भने रक्तनलीभित्रबाट गरिने विधिमार्फत गर्ने योजना रहेको अस्पतालले जनाएको छ । चिकित्सकहरूका अनुसार एन्युरिज्म फुटेर मस्तिष्कमा रक्तस्राव हुनु अत्यन्त गम्भीर अवस्था हो । यसले मृत्यु तथा दीर्घकालीन स्नायु सम्बन्धी अशक्तताको जोखिम बढाउने गर्दछ । समयमै उपचार हुन नसके प्रतिकूल परिणामको जोखिम ७० प्रतिशतसम्म पुग्न सक्ने चिकित्सकहरूको भनाइ छ । शल्यक्रियामा बेहोस बनाउने तथा अन्य सहयोगी चिकित्सक टोलीमा डा. अजय चौधरी, डा. तिलक देवकोटा, डा.मनोज विष्ट, डा. ल्हाप्चा त्सेरिङ शेर्पा, डा. आर्यन यादव, डा.ऋतु प्रधान, डा. सन्दीप किरण प्रधान तथा डा. गौरव रत्न बज्राचार्य सहभागी थिए । नर्सिङ टोलीमा सिन्धु गौतम, अस्मी मगर र युज्जु मानन्धर सहभागी रहेको अस्पतालले जनाएको छ । वीर अस्पतालले यसअघि पनि यही प्रविधिबाट नौ जना बिरामीमा सफलतापूर्वक एन्युरिज्म क्लिपिङ गरिसकेको जनाएको छ । शल्यक्रियापछि बिरामी पूर्ण रूपमा होसमा रहेको र हाल कुनै स्नायुसम्बन्धी कमजोरी नदेखिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार एउटै शल्यक्रियात्मक पहुँचबाट ६ वटा एन्युरिज्मको सफल क्लिपिङ नेपालमा मस्तिष्क तथा रक्तनलीसम्बन्धी शल्यचिकित्साको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
बाढीपीडित उद्योगी–व्यवसायीलाई पाँच वर्ष करछुट दिन महासंघको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बाढीबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका उद्योग तथा व्यवसायलाई पुनरुत्थान गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने बताए । उनले बाढीका कारण क्षति भएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानी साधनको आयातमा भन्सार महसुल, अन्तःशुल्क, सडक निर्माण दस्तुर, स्वच्छ पूर्वाधार तथा लगानी शुल्कलगायत सबै प्रकारका कर छुट दिनुपर्नेमा जोड दिए । उनले बाढीमा नष्ट भएका प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरण पुनःआयात गर्दा भन्सार बिन्दुमा लाग्ने सबै प्रकारका कर तथा महसुल छुट दिन मागसमेत गरे । अध्यक्ष श्रेष्ठले बाढीपीडित व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा समेटी ब्याज अनुदान, बिमा प्रिमियम छुट तथा अन्य अनुदान उपलब्ध गराउनुपर्नेमा पनि जोड दिए । उनले जीवनभर राज्यलाई कर तिरेका व्यवसायी विपद्का कारण सडकमा पुग्दा उनीहरूलाई पुनः व्यवसायमा फर्काउने जिम्मेवारी राज्यले लिनुपर्ने समेत बताए । उनले भने, ‘मन्त्रीज्यूले अहिले बाढीपीडितलाई व्यवसाय तथा उद्योगको पुनःस्थापनाको लागि केही कामहरू गर्नुभएको छ । तर भन्सारमार्फत केही गर्नुपर्ने आवश्यकता छ । व्यावसायिक प्रयोजनमा प्रयोग हुने सवारी साधन र ढुवानी साधन आयातमा भन्सार महसुलमा छुट दिने, भन्सार बिन्दुमा सङ्कलन हुने भन्सार महसुल, अन्तःशुल्क, सडक निर्माण दस्तुर, स्वच्छ पूर्वाधार, लगानी शुल्कलगायत सबै प्रकारका कर छुट दिनुपर्ने हाम्रो माग छ ।' उनले राज्यलाई जीवनभर चलायमान बनाउन योगदान दिएका व्यवसायीहरू अहिले असुरक्षित भएको महसुस गरिरहेको पनि बताए ।
न्यूजिल्याण्डका प्रधानमन्त्रीसँग प्रधानमन्त्री शाहले गरे टेलिफोन वार्ता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच शुक्रबार (आज) टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई सरकारले तीव्रता दिएको जानकारी गराए । उनले बाढीपछि बेपत्ता भएका सबै नागरिकको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री शाहले बाढी प्रभावितको राहत तथा मानवीय सहायताका लागि न्यूजिल्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको सहयोगप्रति कृतज्ञता व्यक्त गरे । उनले नेपाल जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानीका लागि वित्तीय सहयोग जुटाउने विषयमा न्यूजिल्याण्ड सरकारको रचनात्मक सहयोगका लागि आग्रहसमेत गरेका थिए ।
भोटेकोशी बाढीबाट विस्थापित १३२ बालबालिका विद्यालय जान थाले
काठमाडौं । काठमाडौं महानगरपालिकाले रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौंमा आश्रय लिएका १३२ जना बालबालिकालाई विद्यालय पठाउन सुरु गरेको छ । नागार्जुनस्थित पहेँलो गुम्बामा बसिरहेका बालबालिकालाई डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कूलमा अध्ययनको व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । विद्यालय जाने बालबालिकालाई पुस्तक र दिवा खाजाको व्यवस्था गरिएको छ । पहिलो दिन ५९ जना बालबालिका कक्षामा उपस्थित भएका थिए भने दोस्रो दिन उपस्थित हुनेको संख्या बढेर ६१ पुगेको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विद्यालय पुगेर बालबालिकालाई विद्यालय आउन प्रोत्साहित गरेकी छन् । प्रधानाध्यापक र शिक्षकसँग उनले बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई ध्यानमा राखेर आत्मीय व्यवहार गर्न आग्रह गरिन् । 'वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ । उनीहरूसँग आत्मीय व्यवहार गरेर मनको आघात बिर्सन सघाउनुहोस् । किताब र पाठभन्दा पहिले उनीहरूको त्रास कम गराउन परामर्शमा ध्यान दिनुहोस्,' डंगोलले भनिन् । बालबालिकालाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि र शिक्षा विभागका अधिकारीहरू पनि विद्यालय पुगेका थिए । महानगरका अनुसार विद्यालय जाने बालबालिकामध्ये केहीले बुबा–आमा दुवै गुमाएका छन् भने केहीका बुबा वा आमा छैनन् । कतिपय परिवार सुरक्षित भए पनि उनीहरूको घर र बसोबास बाढीले बगाएको छ । विद्यालय जाने बालबालिकाका लागि कोशिस नेपालले झोला र विद्यालय पोशाक उपलब्ध गराएको छ । संस्थाले मनोसामाजिक परामर्श सेवा पनि प्रदान गरिरहेको छ । यस्तै, आश्रयस्थलदेखि विद्यालयसम्म आउजाउका लागि एलआरआई स्कूलले सवारी साधन उपलब्ध गराएको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशील सुवेदीले जानकारी दिए । महानगरपालिकाको सम्पर्कमा इसीडीदेखि कक्षा १२ सम्म अध्ययनरत १३२ जना विद्यार्थी रहेका छन् । उनीहरूमध्ये सबैभन्दा धेरै कक्षा १ मा अध्ययन गर्ने ४५ जना छन् । कक्षा २ मा ८ जना, कक्षा ३ मा ११ जना, कक्षा ४ मा १२ जना, कक्षा ५ मा ९ जना, कक्षा ६ र ७ मा ६/६ जना, कक्षा ८ मा ११ जना, कक्षा ९ मा १० जना र कक्षा ११ मा ५ जना विद्यार्थी रहेका छन् । इसीडी, नर्सरी र कक्षा १० मा २/२ जना तथा युकेजी र कक्षा १२ मा १/१ जना विद्यार्थी छन् । विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले विद्यालय आउने विषयलाई बालबालिकाको इच्छामा आधारित राखिएको बताए । उनका अनुसार गहिरो मानसिक आघातमा रहेका बालबालिकालाई जबर्जस्ती विद्यालय आउन बाध्य नपारिएको र परामर्शमार्फत विस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको छ । विद्यालय आउने विद्यार्थीको संख्या दैनिक बढिरहेको उनले बताए ।
गेटा स्वास्थ्य विश्वविद्यालयमा १५१ जनालाई करार जागिरको अवसर
काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा, कैलालीले विभिन्न स्वास्थ्य सेवा पदहरूमा करार सेवामा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै स्वास्थ्य सेवाका आठौं, सातौं र सहायक पाँचौं तहका विभिन्न पदहरूमा गरी कुल १५१ जना जनशक्ति माग गरेको हो । विश्वविद्यालयले मेडिकल अधिकृतका लागि १०, डेन्टल सर्जनका लागि ४, बायोमेडिकल इन्जिनियरका लागि १, नर्सिङ अधिकृतका लागि १०, रेडियोग्राफी अधिकृतका लागि १, फार्मेसी अधिकृतका लागि २, फिजियोथेरापी अधिकृतका लागि २, ल्याब टेक्नोलोजिस्टका लागि ३, स्टाफ नर्सका लागि ९०, ल्याब टेक्निसियनका लागि १०, रेडियोग्राफरका लागि ६, फिजियोथेरापी सहायकका लागि २ र फार्मेसी सहायकका लागि १० जना कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त दिन सक्नेछन् । दरखास्त फारम विश्वविद्यालयको वेबसाइटबाट डाउनलोड गरी आवश्यक शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, सम्बन्धित परिषदमा दर्ता भएको प्रमाणपत्र र अनुभव खुल्ने कागजातसहित केन्द्रीय प्रशासन कार्यालय, गेटा, कैलालीमा उपस्थित भई पेश गर्नुपर्नेछ । दरखास्तका लागि अधिकृतर आठौं तहका उम्मेदवारले ७०० रुपैयाँ र सहायक पाँचौं तहका उम्मेदवारले ५०० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । उक्त शुल्क राष्ट्रिय वाणिज्य बैंकमा रहेको विश्वविद्यालयको खातामा जम्मा गरी भौचर पेश गर्नुपर्नेछ । अधिकृत स्तरका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र सहायक पाँचौँ तहका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् । छनोट विधिमा शैक्षिक योग्यता र कार्य अनुभवका आधारमा संक्षिप्त सूची तयार गरिने र सर्टलिस्टमा परेका उम्मेदवारहरूको मात्र अन्तर्वार्ता लिइने विश्वविद्यालयले जनाएको छ ।
एमाले पुनर्गठन कार्यदलमा नेतृत्वको विषय पेचिलो, ओलीको विकल्प नखोज्न बादलको प्रस्ताव
काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शुक्रबार पार्टी कार्यालय च्यासलमा बस्दैछ । पार्टीको आगामी वैचारिक, राजनीतिक र संगठनात्मक दिशासँगै नेतृत्व व्यवस्थापनका विषयमा तयार भएका फरक प्रस्तावमाथि बैठकमा छलफल हुने भएको छ । एमाले उपमहासचिव तथा कार्यदलका सदस्य लेखराज भट्टका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा निर्वाचन परिणामको समीक्षा, पार्टी पुनर्गठन तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने भट्टले जानकारी दिए । एमालेले गत जेठ १० गते पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउने उद्देश्यले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना बनाउन १५ सदस्यीय कार्यदल गठन गरेको थियो । उपाध्यक्ष रामबहादुर थापा संयोजक रहेको कार्यदलमा महासचिव शंकर पोखरेल सदस्यसचिव रहेका छन् । कार्यदलभित्र भने नेतृत्व व्यवस्थापन र कार्यकाल सीमित गर्ने विषयमा फरक धारणा देखिएको एक नेताले जानकारी दिए । महासचिव पोखरेलले तयार पारेको ६५ पृष्ठ लामो प्रतिवेदनमा पछिल्लो विधान अधिवेशनबाट हटाइएको ७० वर्षे उमेर हद पुनः लागू गर्नुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा रहन नपाउने व्यवस्था गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ । पोखरेलको प्रतिवेदनले पार्टीभित्र अवसरको वितरणलाई प्रभावकारी बनाउने प्रस्ताव अघि सारेको पोखरेल निकट एक नेताले जानकारी दिए । पोखरेलको प्रतिवेदनमा एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री र मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको ती नेताको दाबी छ । उनले नयाँ पुस्तालाई अवसर दिने र नेतृत्वमा अवसरको न्यायोचित वितरण गर्ने उद्देश्यले यस्तो व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा प्रस्ताव गरेका छन् । महासचिव पोखरेलले आफ्नो प्रतिवेदन कार्यदलका संयोजक थापालाई करिब तीन साताअघि नै बुझाइसकेका छन् । थापाले उक्त प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष बुझाइसकेका छन् । शुक्रबारको बैठकमा भने संयोजक थापाले अध्यक्ष ओलीको निर्देशनअनुसार आफ्नो छुट्टै प्रतिवेदनसमेत प्रस्तुत गर्ने तयारी गरेको उच्च स्रोतले जानकारी दियो । स्रोतका अनुसार थापाको प्रतिवेदनमा तत्कालीन नेतृत्वको विकल्प खोज्न नहुने धारणा अघि सारिएको छ । थापाले ७० वर्षे उमेर हद र प्रमुख पदमा दुई कार्यकालको व्यवस्थाको समेत बचाउ गरेका छन् । उनको प्रस्ताव पार्टी पुनर्गठनको बहस संगठनात्मक सुधारमा मात्रै सीमित नभई एमालेको भावी नेतृत्व र अध्यक्ष ओलीको निरन्तरतासँग समेत जोडिएको देखिएको ती नेताले बताए । एउटै कार्यदलभित्र नेतृत्वको निरन्तरता र कार्यकाल सीमित गर्ने विषयमा फरक प्रस्ताव आएपछि शुक्रबारको बैठकलाई एमालेको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले महत्वपूर्ण मानिएको नेताहरूले बताएका छन् । बैठकले दुवै प्रतिवेदनमाथि छलफल गर्दै पार्टी पुनर्गठनको साझा प्रस्ताव तयार गर्ने र त्यसलाई नेतृत्वसमक्ष लैजाने तयारी गरेको छ ।