विकासन्युज

एशियन कंक्रिटोले ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । एशियन कंक्रिटो लिमिटेडले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  लाभांश पारित गर्न कम्पनीले असोज २१ गते दिउँसो साढे १२ बजे नवलपरासीको रामग्राम नगरपालिका–१६ स्थित कम्पनीको कार्यालयमा वार्षिक साधारणसभा बोलाएको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, सञ्चालक समितिबाट गरिएको सञ्चालक नियुक्तिलाई अनुमोदन गरी नयाँ सञ्चालक लगत तयार पारेर अभिलेखका लागि पेस गर्ने, कम्पनी सचिव नियुक्त गर्ने तथा सञ्चालक समितिका पदाधिकारीहरूको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । गत आर्थिक वर्ष २०८२/८३ को सीमाभन्दा बढी गरिएको चन्दा खर्च अनुमोदन गर्ने प्रस्तावसमेत सभामा रहेको छ । त्यसैगरी, चुक्ता पुँजी तथा सञ्चित मुनाफाको कुल रकमभन्दा बढी ऋण लिएको विषय अनुमोदन गर्ने तथा कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेपछि संशोधित प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम सञ्चालक समितिको संरचना परिवर्तन गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ । 

३० प्रतिशत लाभांश बाँड्ने सिद्धार्थ क्यापिटलको घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ १६ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते अपरान्ह ५ बजे काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा १५औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरिएको ५ लाख ४ हजार ४७ रुपैयाँ अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुने कम्पनी सचिव मुक्तिनाथ सुवेदीले जानकारी दिए ।

आज प्रतिनिधिसभा र ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आज प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक पनि बस्दैछ । संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ । समितिले छलफलका लागि अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव लगायतलाई बोलाएको छ । यस्तै, बिहान साढे ९ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाढी प्रभावित क्षेत्र, राहत शिविर तथा अस्थायी आश्रयस्थलमा रहेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहलाई यौन शोषण, हिंसा, दुर्व्यवहार तथा सबै प्रकारका उत्पीडनबाट संरक्षण गर्ने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत भएका क्षति, उद्धार, राहत एवं पुनःस्थापनासम्बन्धी कार्य, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। छलफलका लागि समितिले स्वास्थ्यमन्त्री तथा मन्त्रालयका सचिवलाई बोलाएको छ । दिउँसो सवा १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्वव्यापी जलवायु परिवर्तनका कारण हालै नेपालमा परेको गम्भीर क्षति तथा निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलनलगायत अन्तर्राष्ट्रिय कूटनीतिक प्रवर्द्धनका सम्बन्धमा विषय विज्ञ तथा सरोकारवाला संघसंस्थासँग छलफल गर्ने कार्यसूची छ । यस्तै, दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । यसैगरी, दिउँसो साढे १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संघीयता कार्यान्वयन एवं सबलीकरणका सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर आज कुशेऔँशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानको घरमा पुर्याइएको कुश राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आज घरमा भित्र्याइएको कुश वर्षभर हुने देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ । पितृसम्मान दिवस कुशेऔँशीका अवसरमा आज छोराछोरीले परम्पराअनुसार आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्छन् । बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा छ । आजका दिन विशेषगरी काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । उत्तरगया भनेर चिनिने यस क्षेत्रमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसीका नामले समेत चिनिन्छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि कुशेऔँशीका अवसरमा मेला लाग्ने गर्छ । दिवङ्गत बाबुको नाममा तर्पण, सिदादान तथा पिण्डदान गर्न भक्तजन वेत्रावती पुग्ने गर्छन् । यस वर्ष भोटेकोशीमा आएको बाढीका कारण वेत्रावतीमा मेला लाग्ने-नलाग्ने निश्चित भइसकेको छैन । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार यस दिन छोराछोरीले जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद लिएमा सुख प्राप्त हुने विश्वास छ । बाबु परलोक भइसकेकाले गोकर्ण वा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य प्राप्त हुनुका साथै आफ्नो कुल स्थिर हुने ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा उल्लेख रहेको बताइन्छ । आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल प्राप्त हुने धार्मिक विश्वास भएकाले यस पर्वलाई पुण्य पर्वका रूपमा लिइन्छ । 

बाढी आएको १६औं दिन पनि खोजी तीव्र, माथिल्लो त्रिशूली-१ मा थप एक शव फेला

काठमाडौं । भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका तथा विभिन्न जलविद्युत् आयोजनाका सुरुङ र हेडवक्र्समा फसेकाहरूको खोजी कार्य १६औं दिन पनि निरन्तर जारी छ ।  नेपाली सुरक्षाकर्मीका साथै भारत, चीन र दक्षिण कोरियासहितका देशबाट आएका विज्ञ टोलीहरू उद्धार तथा खोजीमा सक्रिय छन् । बाढीका कारण प्रभावित ११ वटा जलविद्युत् आयोजनाहरूबाट हालसम्म कुल ९१६ जना मानिसहरू सम्पर्कविहीन रहेका छन् । यसैक्रममा बिहीबार कोरियाली लगानीमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रको हाकुबेसीस्थित फूलबारी त्रिशूलीको बायाँ किनारमा थप एक जनाको शव फेला परेको छ । आयोजना स्थलमा कार्यरत १,४३३ जनामध्ये हालसम्म ८७८ जना सम्पर्कमा आएका छन् भने ९ कोरियाली, ३४ चिनियाँ र ५० भारतीयसहित ५४५ जना अझै सम्पर्कविहीन छन् । आयोजनाको क्षतिग्रस्त अडिट र हेडवक्र्स क्षेत्रमा मिनी एक्स्काभेटर लैजान सेनाको हेलिकप्टर प्रयोग गर्ने तयारी भइरहेको छ भने कम्पनीले सम्पर्कविहीन कर्मचारीका परिवारलाई तत्काल राहत वितरणको काम सुरु गरिसकेको छ । उता चिलिमे जलविद्युत् केन्द्रको पहुँच सुरुङको ११० मिटर सफाइ भइसकेको छ । सुरुङभित्र ग्याप देखिनुका साथै आवाज दिँदा प्रतिध्वनि (इको) सुनिएकाले भित्र फसेकाहरू जीवितै हुनसक्ने आसमा नेपाली र भारतीय सेनाको टोलीले खोजी कार्य थप तीव्र बनाएको छ ।  यस्तै, १७८ जना सम्पर्कविहीन रहेको ३७ मेगावाटको त्रिशूली थ्री ‘बी’ आयोजनामा भवनका जगहरू नै बगाएकाले उत्खनन जारी राखिएको छ भने लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ३९ जना अझै बेपत्ता रहेका छन् ।

३८३ अस्पताललाई २ अर्ब १ करोड रुपैयाँ भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदान गरेका ३८३ स्वास्थ्य संस्थालाई स्वीकृत दाबीबापत उक्त रकम भुक्तानी गरेको हो। विवरणअनुसार विभिन्न जिल्लाका सरकारी, निजी  र सामुदायिक अस्पताललाई रकम भुक्तानी गरिएको हो ।  बोर्डको निर्णयअनुसार स्वीकृत दाबी रकममध्ये भुक्तानी हुन बाँकी वैशाखसम्मको रकम सेवा प्रदायक संस्थाको खातामा पठाइएको छ ।

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं  । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औं एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्नु आफैंमा गौरवको विषय भएको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रन आग्रह गरे ।  उनले व्यक्तिगत प्रदर्शनसँगै राष्ट्रको प्रतिष्ठा र गौरवलाई ध्यानमा राखेर खेल्न खेलाडीलाई सुझाव दिए । 'देशको प्रतिनिधित्व गरेर जान लाग्नुभएको छ । सीमित स्रोत र साधनका बाबजुद मेहनत गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु,' मन्त्री पोखरेलले भने, ' प्रतियोगितामा सहभागी हुनु जित्नकै लागि हो । तर जिते पनि नजिते पनि खेलाडीको सम्मान राज्यका तर्फबाट घट्ने छैन । अहिले जसरी बिदाइ गरिएको छ, भोलि जितेर आए पनि हारेर आए पनि त्यति नै सम्मानका साथ स्वागत गर्नेछौं ।'  उनले नेपाली खेलाडीमा पर्याप्त प्रतिभा र क्षमता रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा हासिल गर्न सरकारबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताए । खेलाडीको क्षमता विकास, प्रशिक्षण, खेल पूर्वाधार तथा खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।  जापानमा आगामी असोज ३ देखि १८ गतेसम्म आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपालबाट २११ सदस्यीय टोली सहभागी हुँदैछ । टोलीमा २१ खेलका १३५ खेलाडी रहेका छन् । तीमध्ये ५७ महिला र ७८ पुरुष खेलाडी छन् । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, मेडिकल टिमका ६ सदस्य, चार पत्रकार तथा विशिष्ट अतिथि, सेभ द मिसन, डेपुटी सेभ द मिसन र अन्य अधिकारीसमेत सहभागी हुनेछन् । नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुददेखि सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा एथलेटिक्सतर्फ मात्र नौ सदस्यीय टोली सहभागी भएको नेपालले यसपटक २१ खेलमा प्रतिस्पर्धा गर्नेछ ।  नेपालले एसियाली खेलकुदमा पहिलो पदक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औं संस्करणमा जितेको थियो। त्यसयता नेपाल एसियाली खेलकुदबाट पदकबिहीन भएर फर्किएको छैन । सरकारले खेलाडीको क्षमता विकासका लागि वैदेशिक प्रशिक्षण तथा अन्तर्राष्ट्रिय एक्सपोजरको व्यवस्था गर्दै आएको जनाएको छ ।  विदेशमा प्रशिक्षणरत केही खेलाडी त्यहीँबाट जापान पुग्नेछन् । नेपालमा रहेका खेलाडीलाई विदेशी प्रशिक्षकमार्फत प्रशिक्षण दिइएको छ । तीन वर्षदेखि विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई पछिल्लो दुई महिनादेखि बन्द प्रशिक्षणमा राखेर उच्चस्तरीय तयारी गराइएको जनाइएको छ । यसपटक कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी सहभागी हुनेछन् । क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ, बक्सिङमा सात तथा जुडो, एथलेटिक्स, टेबल टेनिस र कुस्तीमा समान छ/छ खेलाडी सहभागी हुनेछन् । खेल तालिकाअनुसार नेपाली खेलाडी जापान जाने क्रम सुरु भइसकेको छ । विभिन्न खेलका खेलाडी प्रतियोगिताको तालिकाअनुसार फरक-फरक मितिमा जापान पुग्नेछन् ।

कार्यक्षेत्रमा घाइते कर्मचारीलाई क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी सन्देश मगर (शेरबहादुर मगर) लाई विद्युत् क्षतिपूर्ति विनियमावली, २०७७ बमोजिम क्षतिपूर्ति तथा उपचार खर्च गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका-१०, आम्बोटेमा २०८२ चैत ११ गते १५ केभी प्रसारण लाइनको डिस्क पिन परिवर्तन गर्ने क्रममा करेन्ट लागेर घाइते भएका मगरको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरिएको थियो ।  उपचारका क्रममा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो । विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति तथा उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो । यसअघि १० लाख पेश्की प्राप्त गरिसकेका मगरलाई बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराउने गरी सञ्चालक समितिले स्वीकृति प्रदान गरेको छ ।