काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शुक्रबार पार्टी कार्यालय च्यासलमा बस्दैछ । पार्टीको आगामी वैचारिक, राजनीतिक र संगठनात्मक दिशासँगै नेतृत्व व्यवस्थापनका विषयमा तयार भएका फरक प्रस्तावमाथि बैठकमा छलफल हुने भएको छ ।
एमाले उपमहासचिव तथा कार्यदलका सदस्य लेखराज भट्टका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा निर्वाचन परिणामको समीक्षा, पार्टी पुनर्गठन तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने भट्टले जानकारी दिए ।
एमालेले गत जेठ १० गते पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउने उद्देश्यले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना बनाउन १५ सदस्यीय कार्यदल गठन गरेको थियो । उपाध्यक्ष रामबहादुर थापा संयोजक रहेको कार्यदलमा महासचिव शंकर पोखरेल सदस्यसचिव रहेका छन् ।
कार्यदलभित्र भने नेतृत्व व्यवस्थापन र कार्यकाल सीमित गर्ने विषयमा फरक धारणा देखिएको एक नेताले जानकारी दिए । महासचिव पोखरेलले तयार पारेको ६५ पृष्ठ लामो प्रतिवेदनमा पछिल्लो विधान अधिवेशनबाट हटाइएको ७० वर्षे उमेर हद पुनः लागू गर्नुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा रहन नपाउने व्यवस्था गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ ।
पोखरेलको प्रतिवेदनले पार्टीभित्र अवसरको वितरणलाई प्रभावकारी बनाउने प्रस्ताव अघि सारेको पोखरेल निकट एक नेताले जानकारी दिए । पोखरेलको प्रतिवेदनमा एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री र मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको ती नेताको दाबी छ । उनले नयाँ पुस्तालाई अवसर दिने र नेतृत्वमा अवसरको न्यायोचित वितरण गर्ने उद्देश्यले यस्तो व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा प्रस्ताव गरेका छन् ।
महासचिव पोखरेलले आफ्नो प्रतिवेदन कार्यदलका संयोजक थापालाई करिब तीन साताअघि नै बुझाइसकेका छन् । थापाले उक्त प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष बुझाइसकेका छन् । शुक्रबारको बैठकमा भने संयोजक थापाले अध्यक्ष ओलीको निर्देशनअनुसार आफ्नो छुट्टै प्रतिवेदनसमेत प्रस्तुत गर्ने तयारी गरेको उच्च स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार थापाको प्रतिवेदनमा तत्कालीन नेतृत्वको विकल्प खोज्न नहुने धारणा अघि सारिएको छ । थापाले ७० वर्षे उमेर हद र प्रमुख पदमा दुई कार्यकालको व्यवस्थाको समेत बचाउ गरेका छन् । उनको प्रस्ताव पार्टी पुनर्गठनको बहस संगठनात्मक सुधारमा मात्रै सीमित नभई एमालेको भावी नेतृत्व र अध्यक्ष ओलीको निरन्तरतासँग समेत जोडिएको देखिएको ती नेताले बताए ।
एउटै कार्यदलभित्र नेतृत्वको निरन्तरता र कार्यकाल सीमित गर्ने विषयमा फरक प्रस्ताव आएपछि शुक्रबारको बैठकलाई एमालेको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले महत्वपूर्ण मानिएको नेताहरूले बताएका छन् । बैठकले दुवै प्रतिवेदनमाथि छलफल गर्दै पार्टी पुनर्गठनको साझा प्रस्ताव तयार गर्ने र त्यसलाई नेतृत्वसमक्ष लैजाने तयारी गरेको छ ।