विकासन्युज

एमाले पुनर्गठन कार्यदलमा नेतृत्वको विषय पेचिलो, ओलीको विकल्प नखोज्न बादलको प्रस्ताव

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शुक्रबार पार्टी कार्यालय च्यासलमा बस्दैछ । पार्टीको आगामी वैचारिक, राजनीतिक र संगठनात्मक दिशासँगै नेतृत्व व्यवस्थापनका विषयमा तयार भएका फरक प्रस्तावमाथि बैठकमा छलफल हुने भएको छ । एमाले उपमहासचिव तथा कार्यदलका सदस्य लेखराज भट्टका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा निर्वाचन परिणामको समीक्षा, पार्टी पुनर्गठन तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने भट्टले जानकारी दिए । एमालेले गत जेठ १० गते पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउने उद्देश्यले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना बनाउन १५ सदस्यीय कार्यदल गठन गरेको थियो । उपाध्यक्ष रामबहादुर थापा संयोजक रहेको कार्यदलमा महासचिव शंकर पोखरेल सदस्यसचिव रहेका छन् । कार्यदलभित्र भने नेतृत्व व्यवस्थापन र कार्यकाल सीमित गर्ने विषयमा फरक धारणा देखिएको एक नेताले जानकारी दिए । महासचिव पोखरेलले तयार पारेको ६५ पृष्ठ लामो प्रतिवेदनमा पछिल्लो विधान अधिवेशनबाट हटाइएको ७० वर्षे उमेर हद पुनः लागू गर्नुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा रहन नपाउने व्यवस्था गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ । पोखरेलको प्रतिवेदनले पार्टीभित्र अवसरको वितरणलाई प्रभावकारी बनाउने प्रस्ताव अघि सारेको पोखरेल निकट एक नेताले जानकारी दिए । पोखरेलको प्रतिवेदनमा एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री र मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको ती नेताको दाबी छ । उनले नयाँ पुस्तालाई अवसर दिने र नेतृत्वमा अवसरको न्यायोचित वितरण गर्ने उद्देश्यले यस्तो व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा प्रस्ताव गरेका छन् । महासचिव पोखरेलले आफ्नो प्रतिवेदन कार्यदलका संयोजक थापालाई करिब तीन साताअघि नै बुझाइसकेका छन् । थापाले उक्त प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष बुझाइसकेका छन् । शुक्रबारको बैठकमा भने संयोजक थापाले अध्यक्ष ओलीको निर्देशनअनुसार आफ्नो छुट्टै प्रतिवेदनसमेत प्रस्तुत गर्ने तयारी गरेको उच्च स्रोतले जानकारी दियो । स्रोतका अनुसार थापाको प्रतिवेदनमा तत्कालीन नेतृत्वको विकल्प खोज्न नहुने धारणा अघि सारिएको छ । थापाले ७० वर्षे उमेर हद र प्रमुख पदमा दुई कार्यकालको व्यवस्थाको समेत बचाउ गरेका छन् । उनको प्रस्ताव पार्टी पुनर्गठनको बहस संगठनात्मक सुधारमा मात्रै सीमित नभई एमालेको भावी नेतृत्व र अध्यक्ष ओलीको निरन्तरतासँग समेत जोडिएको देखिएको ती नेताले बताए । एउटै कार्यदलभित्र नेतृत्वको निरन्तरता र कार्यकाल सीमित गर्ने विषयमा फरक प्रस्ताव आएपछि शुक्रबारको बैठकलाई एमालेको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले महत्वपूर्ण मानिएको नेताहरूले बताएका छन् । बैठकले दुवै प्रतिवेदनमाथि छलफल गर्दै पार्टी पुनर्गठनको साझा प्रस्ताव तयार गर्ने र त्यसलाई नेतृत्वसमक्ष लैजाने तयारी गरेको छ ।

पर्यटन बोर्डको सीईओको लागि आवेदन माग

काठमाडौं । नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।  बोर्डले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ बमोजिम खुला प्रतिस्पर्धाबाट सीईओ छनोट गर्न लागिएको जनाएको छ । इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित आवेदन पेस गर्न बोर्डले सूचना जारी गरेको छ ।  सीईओ पदको लागि नेपाली नागरिक हुनुका साथै मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभव हुनु अनिवार्य गरिएको छ । आवश्यक कागजातहरु उम्मेदवारले आफ्ना प्रमाणित व्यक्तिगत विवरण, शैक्षिक तथा अनुभवका प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ । त्यसको अतिरिक्त बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि अधिकतम ३ हजार शब्दको ‘रणनीतिक कार्ययोजना’ पेश गर्नुपर्ने छ ।  यसका साथै, आफूले हासिल गरेका मुख्य उपलब्धि समेटिएको अधिकतम एक हजार शब्दको प्रतिवेदन र स्वघोषणा पत्रसमेत संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ । दरखास्त दस्तुर  आवेदनका लागि १५ हजार दस्तुर निर्धारण गरेको छ । आवेदकले नबिल बैंकको तीनधारा शाखामा रहेको नेपाल पर्यटन बोर्डको खातामा जम्मा गरी भौचर पेश गर्नुपर्नेछ । उम्मेदवारले भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा वा इमेलमार्फत आफ्नो आवेदन पठाउन सक्नेछन् ।   

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तरता र आवश्यकताअनुसार थप सेवा उपलब्ध गराउने निर्णयअनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली नुवाकोट पठाउन लागेको हो ।  यसअघि नै प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको अवस्थामा मातृ तथा नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा थप आवश्यक रहेकाले अर्को टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ । टोलीमा कान्ति बाल अस्पतालकी ११औँ तहकी बालरोग विशेषज्ञ डा. बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ र डा. श्रीराम खड्का तथा सोही अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. धनबहादुर रहेका छन् । टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकताअनुसार मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ । टोलीसँग आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाइनेछ । बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य सेवामा पर्न सक्ने अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यकता पहिचान गरी थप विशेषज्ञ जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री परिचालन गर्दै आएको छ ।

युनाइटेड इदी मर्दी हाइड्रोका सेयरधनीले ५.२६ प्रतिशत सेयर पाउने

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव आगामी १७औँ वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशत बराबर २ करोड ४१ लाख ९३ हजार २६० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३२ प्रतिशत बराबर १२ लाख ७३ हजार ५३३ रुपैयाँ २१ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । उक्त लाभांश प्रस्ताव वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन् ।  

म्यानमारले इन्धन आपूर्ति सहज हुन थालेपछि यातायातको जोर-बिजोर प्रणाली हटायो

काठमाडौं । इन्धन संकट चुलिएपछि सवारीसाधनमा कोटा तोकेको म्यानमारले झण्डै छ महिना लामो ‘जोर-बिजोर’ प्रणाली औपचारिक रूपमा अन्त्य गरेको छ । बजारमा इन्धन आपूर्ति र दैनिक खपत सामान्य लयमा फर्किएको भन्दै त्यहाँको सरकारले नम्बर प्लेटका आधारमा सडकमा लगाइएको आवागमन प्रतिबन्ध सेप्टेम्बर ९ देखि खारेज गरेको हो । मध्यपूर्वमा चर्किएको द्वन्द्व र त्यसले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पारेको असरका कारण म्यानमारले गत मार्च महिनादेखि सवारीसाधनमा जोर-बिजोर नियम लगाएको थियो । इन्धनको अत्यधिक खपत रोक्न र देशभित्रको मौज्दात जोगाउन सरकारले सवारीसाधनलाई आलोपालो र दिनमा मात्र सडकमा गुडाउन अनुमति दिएको थियो । सरकारको यो नियमका कारण लामो समयदेखि सार्वजनिक यातायात अस्तव्यस्त हुनुका साथै उद्योग-कलकारखाना र आपूर्ति शृंखला नराम्ररी प्रभावित हुँदै आएको थियो । राष्ट्रपति कार्यालयले दिएको सूचनामा इन्धनको आपूर्ति र मौज्दात स्थिर विन्दुमा आइपुगेकाले नागरिकको दैनिक आवागमन सहज बनाउन र आर्थिक गतिविधिलाई बिनाअवरोध चलायमान राख्न जोर(बिजोर नियम हटाउने निर्णय गरिएको उल्लेख छ । यस निर्णयले लामो समयदेखि यात्रामा सास्ती भोगिरहेका सर्वसाधारण र ढुवानी व्यवसायीलाई ठूलो राहत पुग्ने बाताइएको छ ।   सवारी आवागमन पूर्ण रूपमा खुला गरिए पनि इन्धन भर्ने पम्पहरूमा भने सरकारी नियन्त्रण अझै खुकुलो बनाइएको छैन । इन्धनको दुरुपयोग, कालोबजारी र अनावश्यक भण्डारण रोक्न जोर-बिजोरसँगै सुरु गरिएको ‘क्युआर कोड’ मा आधारित वितरण प्रणालीलाई भने सरकारले यथावत् राखेको छ । यसको अर्थ, सवारीधनीले अब सडकमा जुनसुकै दिन गाडी निकाल्न पाए पनि पेट्रोल पम्पबाट इन्धन खरिद गर्दा भने डिजिटल प्रणालीमार्फत तोकिएको कोटा र प्रक्रियाभित्रै रहनुपर्नेछ ।

सशस्त्रमा ६ सय ६६ जनाका लागि जागिर खुल्यो

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ६ सय ६६ जनालाई भर्ना गर्ने भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले सूचना जारी गर्दै सशस्त्र प्रहरी जवानसहित विभिन्न पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार सशस्त्र प्रहरी जवान ६ सय ४ जना, भान्से ३८ जना, कुचिकार ८ जना, सूचीकार ६ जना, केशकर्तक ७ जना, चर्मकर्मी २ जना र माली १ जनाका लागि दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।   

बेनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज भदौ २६ गते अन्तिम दिन रहेको छ । गत भदौ २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख कित्ता स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता विदेशमा रहेका नेपाली, २ प्रतिशत अर्थात् २० हजार ८०० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ५२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ ।  दोस्रो चरणमा कम्पनीले ८ करोड ६३ लाख २० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

१५० ठाउँको घरजग्गा बेच्दै ज्योति विकास बैंक

काठमाडौं । ज्योति विकास बैंकले गैरबैंकिङ सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेको विभिन्न स्थानका जग्गा बिक्री गर्न लागेको हो । बैंकले विभिन्न स्थानमा रहेका १५० कित्ता घरजग्गा बिक्रीमा राखेको जनाएको छ । बैंकका अनुसार झापा, मोरङ, महोत्तरी, रुपन्देही, धनुषा, प्युठान, बर्दिया, नवलपरासी, स्याङ्जा, चितवन, तनहुँ, नुवाकोट, कैलाली, काठमाडौं, ललितपुर, कास्की, सर्लाही र बाराका विभिन्न स्थानमा रहेका जग्गा बिक्री गरिनेछ । बैंकले बिक्रीमा राखिएका जग्गा खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने जनाएको छ ।