वीर अस्पतालमा दुर्लभ न्युरोसर्जरी, एउटै शल्यक्रियाबाट ६ वटा एन्युरिज्मको सफल क्लिपिङ

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालमा ४७ वर्षीया महिलाको जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । 

अस्पतालका अनुसार मस्तिष्कमा रक्तस्राव भएपछि उपचारका लागि ल्याइएकी बिरामीको परीक्षणका क्रममा दुवै पक्षमा गरी सात वटा एन्युरिज्म (रक्तनली फुल्ने समस्या) रहेको पत्ता लागेको थियो ।

अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बिरामीको बायाँतर्फ तीन, अगाडिका दुई प्रमुख रक्तनली जोडिने स्थानमा दुई तथा दायाँतर्फ दुई वटा एन्युरिज्म पहिचान भएका थिए । 

सामान्यतया दुवै पक्षका एन्युरिज्मको उपचारका लागि छुट्टाछुट्टै शल्यक्रिया आवश्यक पर्ने भए पनि वीर अस्पतालका न्युरोसर्जनहरूले बायाँतर्फबाट एउटै शल्यक्रियात्मक पहुँच बनाएर दुवै पक्षका ६ वटा एन्युरिज्म सफलतापूर्वक क्लिपिङ गरेका छन् । 

विशेषगरी दायाँतर्फका एन्युरिज्ममा समेत बायाँतर्फबाट पुगेर क्लिप लगाउनु यस शल्यक्रियाको प्रमुख विशेषता रहेको अस्पतालले जनाएको छ । 

करिब सात घण्टा लामो शल्यक्रियाको नेतृत्व प्रा. डा. राजीव झाले गरेका थिए भने शल्यक्रियामा डा. नम्रता खड्का र डा. योगेन्द्र देवकोटा सहभागी थिए । 

बाँकी रहेको सातौं एन्युरिज्मको उपचार भने रक्तनलीभित्रबाट गरिने विधिमार्फत गर्ने योजना रहेको अस्पतालले जनाएको छ ।

चिकित्सकहरूका अनुसार एन्युरिज्म फुटेर मस्तिष्कमा रक्तस्राव हुनु अत्यन्त गम्भीर अवस्था हो । यसले मृत्यु तथा दीर्घकालीन स्नायु सम्बन्धी अशक्तताको जोखिम बढाउने गर्दछ । 

समयमै उपचार हुन नसके प्रतिकूल परिणामको जोखिम ७० प्रतिशतसम्म पुग्न सक्ने चिकित्सकहरूको भनाइ छ ।

शल्यक्रियामा बेहोस बनाउने तथा अन्य सहयोगी चिकित्सक टोलीमा डा. अजय चौधरी, डा. तिलक देवकोटा, डा.मनोज विष्ट, डा. ल्हाप्चा त्सेरिङ शेर्पा, डा. आर्यन यादव, डा.ऋतु प्रधान, डा. सन्दीप किरण प्रधान तथा डा. गौरव रत्न बज्राचार्य सहभागी थिए । 

नर्सिङ टोलीमा सिन्धु गौतम, अस्मी मगर र युज्जु मानन्धर सहभागी रहेको अस्पतालले जनाएको छ ।

वीर अस्पतालले यसअघि पनि यही प्रविधिबाट नौ जना बिरामीमा सफलतापूर्वक एन्युरिज्म क्लिपिङ गरिसकेको जनाएको छ । 

शल्यक्रियापछि बिरामी पूर्ण रूपमा होसमा रहेको र हाल कुनै स्नायुसम्बन्धी कमजोरी नदेखिएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार एउटै शल्यक्रियात्मक पहुँचबाट ६ वटा एन्युरिज्मको सफल क्लिपिङ नेपालमा मस्तिष्क तथा रक्तनलीसम्बन्धी शल्यचिकित्साको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

Share News