विकासन्युज

प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक रहेको नदेखिएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा त्यसतर्फ ध्यान जान नसकेको पनि बताए । उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताए । उनले सरकार आफैँले उद्योग सञ्चालन गर्नेभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा जोड दिए । २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले के रोज्छ भन्ने कुराले देशलाई कता लैजाने भन्ने निर्धारण गर्ने बताए । तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुन नसक्ने सभापति थापाको दाबी थियो । उनले भने, ‘प्राइममिनिस्टरले कतातिर जाने भन्ने निर्णय गर्ने हो । कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो । जो अहिले प्राइममिनिस्टर हुनुहुन्छ । अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन । अहिलेको प्रधानमन्त्री, मेरो आफ्नो बुझाइमा हैन, हि हेट्स प्राइभेट सेक्टर । यो मैले अनुमानको आधारमा भनेको होइन । अहिले उहाँका पछिल्ला समयका कतिपय अभिव्यक्तिहरू र निर्णयहरू अत्यस्तै छन् ।’ उनले सरकारले निजी क्षेत्रका लागि लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थानेश्वर पौडेलले दिए २५ लाख २५ हजार

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि २५ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो क्षति पुगेको थियो । बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पौडेलले भदौ २५ गते बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारमा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले अघि सारेका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेको पौडेलले बताए । उनले अकस्मात् आएको विनाशकारी बाढीबाट भएको क्षतिपछिको पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका नेपालीसहित सबै पक्षलाई खुलेर सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

चौधरी, ढकाल, श्रेष्ठ र गोल्यानसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भइरहेको हो । छलफलमा उद्योगी तथा व्यवसायीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन् । मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित हुने जनाइएको छ। त्यस्तै, निजी क्षेत्रले भोगिरहेका व्यावसायिक तथा लगानीसम्बन्धी समस्या पहिचान गरी त्यसको समाधानका लागि सरकार र निजी क्षेत्रबीच आवश्यक समन्वय तथा सहकार्यका विषयमा समेत छलफल हुने बताइएको छ ।

इरान युद्धमा ट्रम्पको अडान–‘पछुतो छैन, फेरि पनि आक्रमण गर्नसक्छु’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गरेकोमा आफूलाई कुनै पछुतो नभएको बताएका छन् । उनले फेरि यस्तो अवस्था आएमा पनि आफूले अहिले गरेकै काम दोहोर्‍याउने प्रतिबद्धतासमेत जनाएका छन् । बिहीबार अमेरिकामा फक्स न्युजकी प्रस्तोता लौरा इन्ग्राहमसँग कुरा गर्दै ट्रम्पले मध्यावधि निर्वाचनमा असर पर्ने भए पनि आफूले इरानमाथि आक्रमण गर्ने बताएका हुन् । इन्ग्राहमले ट्रम्पलाई ‘यदि इरानविरुद्ध युद्ध सुरु नगरेको भए अहिले मध्यावधि निर्वाचनमा तपाईं सहज रूपमा विजयी हुने अवस्थामा हुनुहुन्थ्यो’ भनेकी थिइन् । त्यसको जवाफमा ट्रम्पले इरानले आणविक हतियार प्राप्त गरेको भए त्यसलाई प्रयोग गर्ने दाबी गरे । उनले इरानसँग आणविक हतियार भएको अवस्थामा इस्लामिक गणतन्त्रले इजरायल र मध्यपूर्वलाई ‘समाप्त पार्ने’ तथा अमेरिकी सहरहरूमा समेत आक्रमण सुरु गर्ने दाबी गरे । ट्रम्पको यस्तो भनाइ अमेरिकी राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूले इरान युद्ध आफ्नो वर्तमान कार्यकालभन्दा पनि लामो समयसम्म तन्किन सक्ने सम्भावनाबारे छलफल गरेको वाल स्ट्रिट जर्नलको रिपोर्ट सार्वजनिक भएपछि आएको हो ।  यससँगै बजारमा पनि इरान युद्ध लामो समयसम्म चल्नसक्ने चिन्ता बढेको छ । ट्रम्पले भने मध्यावधि निर्वाचन सकिएलगत्तै युद्ध अन्त्य हुने दाबी गर्दै आएका छन् । उनले युद्ध अन्त्य भएपछि तेल तथा ग्यासको मूल्य पनि घट्ने बताएका छन् । युद्ध छिट्टै अन्त्य हुने दाबी उनले पछिल्ला केही महिनादेखि गर्दै आएका छन् । यसैबीच, बिहीबार न्युजनेसनसँगको छुट्टै अन्तर्वार्तामा ट्रम्पले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानले आफ्ना कैयौं लडाकु विमानमा प्रहार गरेको भन्ने दाबी अस्वीकार गरेका छन् । अमेरिकी सैन्य सम्पत्तिमा कुनै क्षति पुगेको हो कि भन्ने प्रश्नमा ट्रम्पले ‘कुनै क्षति भएको छैन, केही पनि भएको छैन’ भन्दै रिपोर्टमा कुनै सत्यता नभएको बताए । इरानमाथि आर्थिक दबाब थप कडा अमेरिकाले इरानलाई उसको आर्थिक सञ्जालबाट अलग पार्ने प्रयासलाई थप तीव्र बनाएको छ । अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले आगामी साता ‘ठूलो बैंक’माथि प्रतिबन्ध लगाउने संकेत गरेका छन् । बेसेन्टका अनुसार ९११ मा ज्यान गुमाएका अमेरिकी नागरिकहरूको सम्मानमा प्रतिबन्धसम्बन्धी घोषणा सोमबार गरिनेछ । उनले सोमबार हुने कदमलाई नजिकबाट हेर्नसमेत आग्रह गरेका छन् । बेसेन्टले इजिप्टको दोस्रो ठूलो बैंकको दुबईस्थित शाखाहरूमा प्रतिबन्ध लगाएर बन्द गरिएको दाबी गरेका छन् । उक्त बैंकले इरानलाई १.८ अर्ब अमेरिकी डलर उपलब्ध गराएको उनको आरोप छ । इरानी पक्षलाई रकम उपलब्ध गराउँदै आएको ‘टर्कीको सबैभन्दा ठूलो बैंक’माथि पनि प्रतिबन्ध लगाइएको उनले बताएका छन् । यद्यपि उनले उक्त बैंकको नाम भने खुलाएका छैनन् । न्युजनेसनसँगको अन्तर्वार्तामा ट्रम्पलाई वर्तमान आर्थिक दबाबका बीच इरानले कसरी सामना गरिरहेको छ भन्ने प्रश्न पनि गरिएको थियो । जवाफमा ट्रम्पले इरानले यो अवस्था कति समयसम्म थेग्न सक्छ भन्ने आफूलाई थाहा नभएको बताए । तर उनले मध्यावधि निर्वाचनपछि वा सम्भवतः त्यसअघि नै यो विषय समाधान हुने दाबी दोहोर्‍याए । ट्रम्पले भने, ‘निर्वाचनपछि यो समाधान हुनेछ। वा सम्भवतः त्योभन्दा अगाडि नै । तर निर्वाचन सकिएलगत्तै यो समाधान हुनेछ ।’

सोलुखुम्बुको हुंगा खोलाबाट पानी बग्न थाल्यो, खतरा टरिसकेको छैन

काठमाडौं । सोलुखुम्बुको हुंगा खोलामा पहिरो खसेर बनेको ‘ड्याम’बाट पानी बग्न सुरु गरेको छ । पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र करिब १५ मिटर अग्लो ‘ड्याम’ बनेको थियो ।  पानी बगेर नर्मल हुँदै गइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार खतरा भने टरिसकेको छैन । बिहान करिब ९ः१० बजे खोलामा पहिरोका कारण बनेको ‘ड्याम’को ताल भरिएपछि पानी निकास हुन सुरु भएको हो ।  प्रहरीले नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ । आज बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२ र ४ नम्बर वडाको हुंगा खोलामा गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नं २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको थियो ।  प्रहरी टोलीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँबस्ती तथा उक्त खोलामा रहेका गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोसी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुईवटा हाइड्रोपावरलाई घटनाबारे जानकारी गराइसकेको छ । हाइड्रोपावरमा रहेका कामदार तथा सवारीसाधनलाई सुरक्षित स्थानतर्फ जान प्रहरीले आग्रह गरेको छ ।

बाढीपीडितलाई आइसीएफसी फाइनान्सद्वारा २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत वितरण र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ । संस्थाले बाढीमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिहरूको सकुशल खोजी र उद्धार होस् भन्ने कामना गरेको जनाएको छ । फाइनान्सले विपद्को यस कठिन समयमा सरकार, सम्बन्धित निकाय, संघसंस्था र आम नागरिकबीच सहकार्य तथा एकता आवश्यक रहेको उल्लेख गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आइसीएफसी फाइनान्सले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक र समुदायको साथमा रहँदै आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।

ग्रे लिस्टबाट नेपाललाई निकाल्न प्रयास भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाललाई ग्रे लिस्टबाट चाँडोभन्दा चाँडो बाहिर निकाल्न अन्तर्राष्ट्रिय समुदायमा समेत पहल भइरहेको बताए । नेपालको पक्ष बलियो ढंगले प्रस्तुत गर्न सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५–६ जनाको टोली परिचालन गरेको उनले जानकारी दिए । उक्त टोली अहिले मलेसियामा रहेर काम गरिरहेको उनले बताए । एफएटीएफकै विषयमा अमेरिकी अर्थमन्त्रीसँग आफूले भेट गर्ने प्रयास गरिरहेको पनि वाग्लेले बताए । नेपाल समयमै ग्रे लिस्टबाट बाहिरिन नसके त्यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण र पुँजी प्रवाहमा पर्ने उनको भनाइ छ । ‘एफएटीएफको ग्रे लिस्टबाट नेपाललाई निकाल्न हाम्रो भगीरथ प्रयास चलिरहेको छ । यसैका लागि चालिएका केही कदमबाट अफवाह पनि फैलिने गरेका छन्,’ उनले भने । नेपालको पक्ष अन्तर्राष्ट्रियस्तरमा बलियो ढंगले प्रस्तुत गर्न सरकार गम्भीर भएर लागेको उनले बताए । ‘यो हलुका विषय होइन । यसले हाम्रो अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण र पुँजी प्रवाहसँग सोझै सम्बन्ध राख्छ,’ उनले भने । वाग्लेले वर्षौंदेखि टारिँदै आएका सुधारका कामलाई सरकारले अघि बढाइरहेको बताए । ती सुधारका क्रममा आलोचना र प्रहारसमेत भोग्नुपरेको उनको भनाइ छ । उनले ग्रे लिस्टबाट बाहिरिन सरकारले चालिरहेका कदमबारे अफवाह नफैलाउन पनि आग्रह गरे । यसैगरी, प्राकृतिक विपद्बाट भएको क्षति र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा पनि सरकार केन्द्रित रहेको उनले बताए । पुनर्निर्माणलाई पुरानै संरचना बनाउने अवसरका रूपमा मात्र नलिई जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको वाग्लेले बताए । उनले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्न खोजिरहेको बताए । लगानीमैत्री वातावरण निर्माण गर्न आफू अर्थमन्त्री भएकै दिनदेखि नीतिगत सुधारमा लागेको दाबी पनि उनले गरे ।

रसुवामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरु

काठमाडौं । रसुवा बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै रसुवामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुने जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए ।  उनका अनुसार  गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लगाउनेछन् ।   खोप अभियानअन्तर्गत लक्षित चार पालिकाभित्रका १ वर्षभन्दा माथिका सबै उमेर समूहका नागरिकलाई हैजाविरुद्धको खोप लगाइँदैछ । तर, हाल ज्वरो आएका र पखाला लागिरहेका बिरामीलाई भने यो खोप लगाइने छैन ।  उनीहरू निको भएपछि मात्र खोप दिइने जिल्ला जनस्वास्थ्य  कार्यालय रसुवाले जनाएको छ । यसैगरी,बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा उद्धार तथा राहत वितरणमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई हैजाको खोपका साथै ‘टिटानस र डिप्थेरिया’विरुद्धको खोप पनि लगाइने व्यवस्था मिलाइएको छ । दूषित पानी र प्रतिकूल वातावरणका कारण हैजा जस्ता जलजन्य रोग फैलन सक्ने जोखिम उच्च रहने भएकाले पूर्वतयारी स्वरूप यो कदम चालिएको हो ।  स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको टोली खटाएर सञ्चालन गरिएको अभियानमा सहभागी भई तोकिएका केन्द्रबाट खोप लिन स्वास्थ्य प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।