भोटेकोशी बाढीबाट विस्थापित १३२ बालबालिका विद्यालय जान थाले

काठमाडौं । काठमाडौं महानगरपालिकाले रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौंमा आश्रय लिएका १३२ जना बालबालिकालाई विद्यालय पठाउन सुरु गरेको छ ।

नागार्जुनस्थित पहेँलो गुम्बामा बसिरहेका बालबालिकालाई डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कूलमा अध्ययनको व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

विद्यालय जाने बालबालिकालाई पुस्तक र दिवा खाजाको व्यवस्था गरिएको छ । पहिलो दिन ५९ जना बालबालिका कक्षामा उपस्थित भएका थिए भने दोस्रो दिन उपस्थित हुनेको संख्या बढेर ६१ पुगेको छ ।  

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विद्यालय पुगेर बालबालिकालाई विद्यालय आउन प्रोत्साहित गरेकी छन् ।

प्रधानाध्यापक र शिक्षकसँग उनले बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई ध्यानमा राखेर आत्मीय व्यवहार गर्न आग्रह गरिन् । 'वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ । उनीहरूसँग आत्मीय व्यवहार गरेर मनको आघात बिर्सन सघाउनुहोस् । किताब र पाठभन्दा पहिले उनीहरूको त्रास कम गराउन परामर्शमा ध्यान दिनुहोस्,' डंगोलले भनिन् ।

बालबालिकालाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि र शिक्षा विभागका अधिकारीहरू पनि विद्यालय पुगेका थिए । महानगरका अनुसार विद्यालय जाने बालबालिकामध्ये केहीले बुबा–आमा दुवै गुमाएका छन् भने केहीका बुबा वा आमा छैनन् । कतिपय परिवार सुरक्षित भए पनि उनीहरूको घर र बसोबास बाढीले बगाएको छ ।

विद्यालय जाने बालबालिकाका लागि कोशिस नेपालले झोला र विद्यालय पोशाक उपलब्ध गराएको छ । संस्थाले मनोसामाजिक परामर्श सेवा पनि प्रदान गरिरहेको छ । यस्तै, आश्रयस्थलदेखि विद्यालयसम्म आउजाउका लागि एलआरआई स्कूलले सवारी साधन उपलब्ध गराएको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशील सुवेदीले जानकारी दिए ।  

महानगरपालिकाको सम्पर्कमा इसीडीदेखि कक्षा १२ सम्म अध्ययनरत १३२ जना विद्यार्थी रहेका छन् । उनीहरूमध्ये सबैभन्दा धेरै कक्षा १ मा अध्ययन गर्ने ४५ जना छन् ।

कक्षा २ मा ८ जना, कक्षा ३ मा ११ जना, कक्षा ४ मा १२ जना, कक्षा ५ मा ९ जना, कक्षा ६ र ७ मा ६/६ जना, कक्षा ८ मा ११ जना, कक्षा ९ मा १० जना र कक्षा ११ मा ५ जना विद्यार्थी रहेका छन् । इसीडी, नर्सरी र कक्षा १० मा २/२ जना तथा युकेजी र कक्षा १२ मा १/१ जना विद्यार्थी छन् ।

विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले विद्यालय आउने विषयलाई बालबालिकाको इच्छामा आधारित राखिएको बताए ।

उनका अनुसार गहिरो मानसिक आघातमा रहेका बालबालिकालाई जबर्जस्ती विद्यालय आउन बाध्य नपारिएको र परामर्शमार्फत विस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको छ । विद्यालय आउने विद्यार्थीको संख्या दैनिक बढिरहेको उनले बताए ।

Share News