बाढीपीडितको स्वास्थ्यमा समितिको चासो, तत्काल सेवा प्रभावकारी बनाउन निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार (आज) सिंहदरबारमा बसेको समितिको बैठकले बाढी प्रभावित क्षेत्रमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाका लागि सञ्चालित घुम्ती स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको हो । समितिकी सभापति डा. ओजस्वी शेरचनले होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी जोखिमका आधारमा उपचारको प्राथमिकता निर्धारण गर्न निर्देशन दिइन् । उनले दीर्घरोगीलाई नियमित औषधिसहित आवश्यक औषधिको निरन्तर आपूर्ति तथा जटिल अवस्थाका बिरामीलाई समयमै रेफर र फलोअपको व्यवस्था गर्नुपर्ने बताइन् । ‘होल्डिङ सेन्टरमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई घुम्ती स्वास्थ्य सेवा टोलीमार्फत सेवा भइरहेको छ । यसलाई अझ प्रभावकारी बनाउन प्रारम्भिक स्क्रिनिङ, जोखिमका आधारमा प्राथमिकता निर्धारण, नियमित औषधिसहित आवश्यक औषधिको निरन्तर आपूर्ति तथा जटिल बिरामीको समयमै रेफरल र फलोअप सुनिश्चित गर्नुपर्नेछ,’ सभापति शेरचनले भनिन् । बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारीको जोखिमलाई ध्यानमा राख्दै जीवनजल, ओआरएस, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), आवश्यक औषधि तथा अन्य स्वास्थ्य सामग्री पर्याप्त मात्रामा भण्डारण गर्न पनि समितिले निर्देशन दिएको छ । त्यस्तै, प्रभावित क्षेत्रमा सुरक्षित खानेपानी, हात धुने व्यवस्था, पोषिलो भोजन, शौचालय, सरसफाइ तथा उचित फोहोर व्यवस्थापन सुनिश्चित गर्न र जनस्वास्थ्य तथा वातावरणीय स्वास्थ्यसम्बन्धी जनशक्ति परिचालन गरी नियमित अनुगमन गर्न पनि भनिएको छ । समितिले रोगको नियमित निगरानी तथा शीघ्र रिपोर्टिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अर्ली वार्निङ, अलर्ट एन्ड रेस्पोन्स सिस्टम (ई–वार्स) प्रभावकारी रूपमा सञ्चालन गर्न पनि निर्देशन दिएको छ । सम्भावित प्रकोपको तत्काल पहिचान, अनुसन्धान तथा नियन्त्रणका लागि र्‍यापिड रेस्पोन्स टिम परिचालन गर्नसमेत समितिले भनेको छ । बाढीबाट प्रभावित नागरिकमा देखिन सक्ने मानसिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै मनोवैज्ञानिक प्राथमिक उपचार तथा मनोसामाजिक परामर्शको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ । प्रारम्भिक सहयोगपछि पोस्ट–ट्राउमेटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी), एन्जाइटी तथा डिप्रेसनजस्ता समस्या देखिएमा मानसिक स्वास्थ्य विशेषज्ञबाट उपचार, फलोअप र रेफरलको व्यवस्था गर्नुपर्ने समितिको भनाइ छ । त्यस्तै, नजिकका अस्पताल तथा एम्बुलेन्स सेवासँग प्रभावकारी समन्वय गरी आकस्मिक बिरामीको समयमै उपचार सुनिश्चित गर्न तथा स्वास्थ्य संयोजक टोली, स्थानीय तह, प्रदेश सरकार र हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरबीच स्पष्ट जिम्मेवारीसहित समन्वय कायम गर्न समितिले निर्देशन दिएको छ । बाढीबाट क्षतिग्रस्त स्वास्थ्य संस्थाका लागि वैकल्पिक सेवा व्यवस्था गरी प्राथमिकताका आधारमा समयबद्ध रूपमा पुनःस्थापना तथा पुनःनिर्माणका काम अघि बढाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । यसैगरी, बाढीमा मृत्यु भएकाको सम्मानजनक व्यवस्थापन, पहिचान हुन बाँकी शवको वैज्ञानिक अभिलेखीकरण तथा डीएनए परीक्षण गरी परिवारलाई समयमै हस्तान्तरण गर्ने व्यवस्था मिलाउन समितिले सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न निर्देशन दिएको छ । यसका लागि नेपाल प्रहरी, विधिविज्ञान प्रयोगशाला, स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय कायम गर्नुपर्ने सभापति शेरचनले बताइन् ।
म्याद गुज्रिएको लड्डु र गन्हाएको आलु बेच्ने आकाश फुड्सलाई ३ लाख जरिवाना
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका विभिन्न खाद्य व्यवसायमा गरेको आकस्मिक बजार अनुगमनका क्रममा बालुवाटारस्थित आकाश फुड्समा म्याद गुज्रिएको लड्डु र गन्हाएको आलु भेटिएको छ । विभागका अनुसार आकाश फुड्सको अनुगमनका क्रममा म्याद नाघेका आठ प्याकेट लड्डु भेटिएका थिए । ती लड्डुमा उत्पादन मिति २७ अगस्ट २०२५ र ‘बेस्ट बिफोर’ १५ दिन उल्लेख गरिएको थियो । त्यस्तै, पानीपुरीमा प्रयोग हुने आलुको स्टफिङमा अस्वाभाविक गन्ध आएको पाइएको थियो । फ्राइङ तेलको समेत टीपिएम भ्याल्यु २३ पाइएको विभागले जनाएको छ । अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरेको छ । गन्हाएको करिब १०० ग्राम आलु तथा म्याद सकिएका आठ प्याकेट लड्डु नष्ट गरिएको छ । खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई निर्देशनसमेत दिइएको छ । यसैगरी, चन्द्रागिरी ३ स्थित सुजल डेरी प्रालिको अनुगमन गर्दा सरसफाइ सामान्य, दूध प्रशोधन भइरहेको तथा प्रयोगशाला र कर्मचारीको व्यक्तिगत सरसफाइ सन्तोषजनक पाइएको छ । थप अनुसन्धानका लागि दूधको नमुना संकलन गरी प्रयोगशाला परीक्षणमा पठाइएको छ । बाफलस्थित बाजेको डेरी पसलमा भने सरसफाइ सन्तोषजनक नरहेको, खुला दही तथा दूध बिक्री भइरहेको र घ्यू उत्पादन गर्ने गरेको पाइएको छ । फ्रिजमा पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थसमेत भेटिएका छन् ।
बुवाको मुख हेर्ने दिनमा नबिल बैंकको भावुक भिडियो सन्देश- जब छोराले ‘बाबा’ भन्न सकेन
काठमाडौं । आज बुवाको मुख हेर्ने दिन । आफ्ना सन्तानको सफलतामा खुसी हुने, उनीहरूका असफलतामा काँध थाप्ने र कठिन परिस्थितिमा पनि भरोसाको बलियो आधार बनेर उभिने बुवाहरूलाई सम्झिने दिन । यही अवसरमा नबिल बैंकले सार्वजनिक गरेको भावुक भिडियो सन्देशले बुवाको त्यही निःस्वार्थ भूमिकालाई स्मरण गराएको छ । ‘सन्तानका सपनालाई आफ्नो सपना बनाउने, सन्तान लड्दा हात समाउने र आफू थाकेर पनि सन्तानका लागि सधैँ बलियो भएर उभिने बुबा केवल एउटा सम्बन्ध होइन, जीवनभरको भरोसा हुनुहुन्छ’ भन्दै बैंकले सम्पूर्ण बुवाप्रति सम्मान व्यक्त गरेको हो । तर बुवाको मुख हेर्ने दिन केवल पारिवारिक खुसी र शुभकामनाको दिन मात्रै होइन । कतिपय बुवाका लागि यो दिन वर्षौंदेखि बोकेको संघर्ष, डर, पीडा र सन्तानप्रतिको असीम मायालाई सम्झिने अवसर पनि हो । यस्तै एउटा कथा हो एक बुवाको, जसले आफ्नो छोरालाई संसारको ‘मानक’ अनुसार बदल्न खोज्ने सोचबाट यात्रा सुरु गरे । तर समयसँगै उनको सोच बदलियो । अन्ततः उनले बुझे, छोरालाई संसारअनुकूल बनाउनुभन्दा संसारलाई नै आफ्नो छोरालाई बुझ्ने बनाउन आवश्यक रहेछ । ‘मेरो छोरो बिरामी होइन, ऊ संसारलाई फरक तरिकाले महसुस गर्छ ।’ यी शब्दमा ती बुवाको वर्षौंको अनुभव, संघर्ष र छोराप्रतिको बुझाइ लुकेको छ । हरेक बुवाजस्तै उनले पनि छोराका लागि थुप्रै सपना देखेका थिए । छोरोले पहिलोपटक ‘बाबा’ भन्ला, पहिलो दिन स्कुल जाँदा रोला, दशैंमा नयाँ लुगा लगाएर रमाउला- उनका कल्पनाहरू पनि अरू बुवाका जस्तै थिए । तर समय बित्दै जाँदा उनले महसुस गरे, उनका छोराको संसार अरू बालबालिकाको भन्दा फरक रहेछ । मान्छेहरू घरमा आउँदा छोरो लुक्थ्यो । कसैले बोलाउँदा हेर्दैनथ्यो । भीडभाड भयो भने कान थुनेर बसिहाल्थ्यो । छोराको व्यवहार देखेर वरपरका मानिसहरू प्रश्न गर्थे- के भयो यसलाई ? ‘आजकलका बच्चालाई अलि कडा भएर हुर्काउनुपर्छ । मोबाइल अलि बढी भएजस्तो छ ।’ सल्लाह दिनेहरू धेरै थिए । तर छोराको व्यवहारभित्रको कारण बुझ्नेहरू भने कमै थिए । यस्ता टिप्पणीहरूले ती बुवालाई कहिलेकाहीँ डराउँथे । समाजसँग भन्दा पनि आफ्नो बच्चाले यही समाजमा कसरी आफूलाई सम्हाल्ला भन्ने चिन्ता उनलाई बढी हुन्थ्यो । किनकि उनको छोरो आफ्नो पीडा शब्दमा व्यक्त गर्न सक्दैनथ्यो । तर बुवाले उसको आँखामा केही देख्थे- एक किसिमको थकान । अन्ततः उनले थाहा पाए, उनका छोरा अटिजम स्पेक्ट्रममा छन् । त्यसपछि भने उनको बुझाइ बदलियो । ‘मेरो छोरो अरू बच्चाजस्तो छैन’ भन्ने सोच विस्तारै ‘मेरो छोरो पनि एउटा सामान्य बच्चा हो, उसले संसारलाई फरक तरिकाले महसुस गर्छ’ भन्ने बुझाइमा बदलियो । उसका लागि ठूलो आवाज असहज हुन सक्छ । भीड भारी लाग्न सक्छ । आफ्ना भावनाहरू शब्दमा व्यक्त गर्न कठिन हुन सक्छ । तर त्यसको अर्थ उसको माया कम छ भन्ने होइन । बरु उसको माया अभिव्यक्त गर्ने तरिका फरक छ । ‘पहिले म चाहन्थेँ, ऊ संसारजस्तो बनोस् । तर अहिले म संसारलाई उसको लागि अलिक राम्रो बनाउन चाहन्छु ।’ यो एउटा बुवाको सोचमा आएको ठूलो परिवर्तन हो । सन्तानलाई संसारअनुकूल बनाउने प्रयासबाट संसारलाई नै सन्तानअनुकूल बनाउनुपर्छ भन्ने यात्रासम्म आइपुग्दा उनले एउटा कुरा बुझेका छन्- हरेक बच्चा एउटै हुँदैन । तर हरेक बुवाको आफ्नो सन्तानप्रतिको चाहना भने उस्तै हुन्छ । सन्तानले दुःख नपाओस् । उसलाई कसैले हेप्न नपरोस् । उसले आफूलाई अरूभन्दा कम महसुस गर्न नपरोस् । छोराले उनलाई धेरैपटक ‘बाबा’ भन्न नसक्ला । तर जब ऊ आएर बुवाको हात समाउँछ, त्यो स्पर्श नै उनका लागि संसारकै ठूलो शब्द बन्छ । बुवाको भूमिका सधैँ बोलिरहने वा बाटो देखाइरहने मात्रै हुँदैन । कहिलेकाहीँ त्यो भूमिका चुपचाप सन्तानको छेउमा उभिएर उसको संसार बुझिदिनु पनि हो । आफूभित्रका अनेकौं डर र संघर्ष लुकाएर सन्तानका कठिनाइमा भरोसा बन्नु पनि हो । आज बुवाको मुख हेर्ने दिनमा नमन ती सबै बुवाहरूलाई, जो आफ्ना सन्तानका लागि आफूभित्रका अनेकौं लडाइँ लडिरहेका छन् । ती बुवाहरूलाई, जसले समाजका प्रश्नभन्दा माथि उठेर आफ्ना सन्तानको मौन भाषा बुझिरहेका छन् । र ती बुवाहरूलाई पनि, जसले सन्तानलाई संसारजस्तो बनाउनुभन्दा संसारलाई नै सन्तानका लागि अलिक सहज, संवेदनशील र स्वीकार्य बनाउन चाहिरहेका छन् । हरेक बच्चा फरक हुन्छ । तर हरेक बुवाको माया उस्तै हुन्छ ।
शल्यक्रिया गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार दिने शर्माको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो घोषणा गरेका हुन् । उनले काठमाडौं मेडिकल कलेज (केएमसी) र दुवाकोट तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत एक हजार बिरामीको गम्भीर रोगको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेका हुन् । मेडिकल कलेजमा अध्ययन गर्न आउने आर्थिक रूपमा विपन्न विद्यार्थीका लागि छात्रवृत्तिको प्याकेज ल्याउने तयारी भइरहेको समेत बताए । स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा रहेको फाउन्डेसनका गतिविधिलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्नुपर्ने बताए । उनले पार्टी र मुलुकको आर्थिक समृद्धिको आधार तयार गर्न नेता कोइरालाले खेलेको भूमिकाबारे आउँदो पुस्तामाझ पुर्याउन आवश्यक रहेको पनि बताए । उनले भने, ‘म सभापतिज्यूलाई साक्षी राखेर यो वर्ष मात्रै बिरामी नै पुगेन भन्दा थाहा छैन । यो मुलुकभित्रका पैसा नभएर आर्थिक रूपमा उपचार गर्न नसक्ने एक हजार वटा मेजर अप्रेसनहरू हामी काठमाडौं मेडिकल कलेजको दुवाकोट र विराटनगरमा नोबेल मेडिकल कलेजमा गरेर निःशुल्क गर्ने घोषणा गर्न चाहन्छौँ । अब हामीले मेडिकल कलेजमा केही छात्रवृत्तिहरूको घोषणा गर्ने सोचिराखेका छौँ । यो विषयमा दिदीसँग सल्लाह गरेर तपाईंहरूलाई भन्ने छु ।' उनले पार्टीमा देखिएको विवाद समाधान गरी नागरिकका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
शवको पहिचान गर्न अमेरिकन एफबीआईका फरेन्सिक विशेषज्ञ नेपालमा
काठमाडौं । बाढी ज्यान गुमाएका व्यक्तिहरूको पहिचान गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरोले काम गर्न थालेको छ । एफबीआईका फरेन्सिक विशेषज्ञहरूले बाढीबाट ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि नेपाल प्रहरीसँग सहकार्य गरिरहेका छन्। एफबीआईका विशेषज्ञहरूले आफ्नो विशेष फरेन्सिक तथा मानवीय विशेषज्ञता प्रयोग गर्दै नेपाल प्रहरीलाई सहयोग गर्दै आएका छन् । एफबीआईको सहयोगबाट बाढीमा परी ज्यान गुमाएका अमेरिकी नागरिकसहित सबै पीडितको पहिचान गर्ने अमेरिकी दूतावासले जनाएको छ। उनीहरूका परिवारलाई आफन्तको अवस्थाबारे यथार्थ जानकारी उपलब्ध गराउन सहयोग गर्ने दूतावासले जनाएको छ । बाढी प्रभावित क्षेत्र २ सय किलोमिटरभन्दा लामो रहेकाले भौगोलिक क्षेत्रमा बेपत्ता तथा मृतकको पहिचान गर्न समस्या भइरहेको छ दूतावासले उल्लेख गरेको छ । बेपत्ता भएका शवको पहिचान गर्नुपर्ने भएकाले सावधानीपूर्वक, व्यवस्थित र वैज्ञानिक ढंगले अघि प्रक्रिया अगाडि बढाउनुपर्ने अवस्था रहेको एफबीआईले जनाएको दूतावासले बताएको छ । पीडितको पहिचान कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्न एफबीआईले नेपाल सरकार तथा नेपाली अधिकारीहरूसँग विभिन्न तहमा समन्वय गरिरहेको दूतावासले जनाएको छ । दूतावासले खोज तथा उद्धारका कार्य जारी रहँदा अमेरिका आफ्ना नागरिकका बेपत्ता आफन्तको खोजीमा सहयोग गर्न तथा नेपाललाई आवश्यक मानवीय सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।
प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक रहेको नदेखिएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा त्यसतर्फ ध्यान जान नसकेको पनि बताए । उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताए । उनले सरकार आफैँले उद्योग सञ्चालन गर्नेभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा जोड दिए । २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले के रोज्छ भन्ने कुराले देशलाई कता लैजाने भन्ने निर्धारण गर्ने बताए । तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुन नसक्ने सभापति थापाको दाबी थियो । उनले भने, ‘प्राइममिनिस्टरले कतातिर जाने भन्ने निर्णय गर्ने हो । कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो । जो अहिले प्राइममिनिस्टर हुनुहुन्छ । अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन । अहिलेको प्रधानमन्त्री, मेरो आफ्नो बुझाइमा हैन, हि हेट्स प्राइभेट सेक्टर । यो मैले अनुमानको आधारमा भनेको होइन । अहिले उहाँका पछिल्ला समयका कतिपय अभिव्यक्तिहरू र निर्णयहरू अत्यस्तै छन् ।’ उनले सरकारले निजी क्षेत्रका लागि लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थानेश्वर पौडेलले दिए २५ लाख २५ हजार
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि २५ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो क्षति पुगेको थियो । बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पौडेलले भदौ २५ गते बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारमा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले अघि सारेका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेको पौडेलले बताए । उनले अकस्मात् आएको विनाशकारी बाढीबाट भएको क्षतिपछिको पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका नेपालीसहित सबै पक्षलाई खुलेर सहयोग गर्न आग्रहसमेत गरेका छन् ।
चौधरी, ढकाल, श्रेष्ठ र गोल्यानसँग छलफल गर्दै प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भइरहेको हो । छलफलमा उद्योगी तथा व्यवसायीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन् । मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित हुने जनाइएको छ। त्यस्तै, निजी क्षेत्रले भोगिरहेका व्यावसायिक तथा लगानीसम्बन्धी समस्या पहिचान गरी त्यसको समाधानका लागि सरकार र निजी क्षेत्रबीच आवश्यक समन्वय तथा सहकार्यका विषयमा समेत छलफल हुने बताइएको छ ।