अमेरिकी विदेश नीतिमा धर्म र राजनीतिको टकराव : राष्ट्रपति ट्रम्प र पोप लियोबीच वाकयुद्ध
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेश नीतिको आलोचना गरेको भन्दै पोप लियोलाई कडा शब्दमा आक्रमण गरेका छन् । आइतबार राष्ट्रपति ट्रम्पले पोप लिओ १४ द्वारा इरानसँगको अमेरिकी युद्धबारे गरिएको आलोचनामाथि प्रतिक्रिया दिँदै उनलाई कडा आलोचना गरेका हुन् । ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भने, ‘म यस्तो पोप चाहन्नँ, जसले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको आलोचना गर्छ । किनकि म ठ्याक्कै त्यही काम गरिरहेको छु, जसका लागि म भारी मतान्तरले निर्वाचित भएको हुँ ।’ ट्रम्पले पोपको चयनलाई आफ्नै राष्ट्रपति पदमा पुनरागमनसँग जोड्दै भने, ‘लियोले कृतज्ञ हुनुपर्छ, किनकि सबैलाई थाहा छ, उनी अप्रत्याशित रूपमा पोप बनेका हुन् । उनी पोप बन्ने सूचीमा थिएनन् र चर्चले उनलाई केवल अमेरिकी भएकै कारण त्यहाँ राख्यो । यदि म ह्वाइट हाउसमा नभएको भए लियो भ्याटिकनमा हुने थिएनन् ।’ ट्रम्पले लियोलाई ‘अपराधप्रति कमजोर, आणविक हतियारबारे कमजोर’ भन्दै आलोचना गरे र भने कि उनले बाराक ओबामाका पूर्व राजनीतिक सहयोगी डेभिड एक्सेलरोडजस्ता ‘ओबामा समर्थक’हरूसँग भेट गर्नु पनि आफूलाई मन नपरेको बताए । उनले एक्सलरोडलाई चर्च जाने मानिसहरू र धर्मगुरुहरूलाई गिरफ्तार गर्न चाहनेहरूमध्ये एक भएको आरोप लगाए । शिकागोका निवासी तथा अमेरिकी मूलका पहिलो पोप लियोले भने ट्रम्पको इरान युद्ध प्रयासको कडा आलोचना गरेका छन् । शनिबार उनले भनेका थिए, ‘आत्म र पैसाको पूजा अब पर्याप्त भयो ! शक्ति प्रदर्शन अब पर्याप्त भयो ! युद्ध अब पर्याप्त भयो ! साँचो शक्ति जीवनको सेवा गर्ने कार्यमा प्रकट हुन्छ ।’ पोपले ट्रम्पले हालै इरानमा ‘सम्पूर्ण सभ्यतालाई नष्ट गर्ने’ धम्की दिएको विषयलाई पनि ‘पूर्ण रूपमा अस्वीकार्य’ बताएका छन् । लियोले आफ्नो इस्टर सन्देशमार्फत पनि शान्तिको आह्वान गरेका थिए। उनले भने, ‘हातहतियार भएका मानिसहरूले ती राखून् ! युद्ध भड्काउने शक्ति भएका मानिसहरूले शान्ति रोजून् ! बल प्रयोग गरेर थोपारिएको शान्ति होइन, संवादमार्फत प्राप्त हुने शान्ति होस् ! अरूलाई नियन्त्रण गर्ने चाहनाबाट होइन, उनीहरूसँग भेटघाट गर्ने इच्छाबाट शान्ति कायम होस् !’ लियो र अन्य चर्च नेताहरूले ट्रम्पको आन्तरिक आप्रवासन नीतिहरूमाथि पनि बेला–बेला कडा आलोचना गर्दै आएका छन् । पोपले नोभेम्बरमा युनाइटेड स्टेट कन्फेरेन्स अफ क्यालोथिक बिशपद्वारा जारी सन्देशलाई समर्थन गरेका थिए, जसमा ‘प्रोफाइलिङ र आप्रवासन कार्यान्वयनसँग सम्बन्धित प्रश्नहरूका कारण जनतामा डर र चिन्ताको वातावरण देख्दा हामी चिन्तित छौं’ भनिएको थियो । बिशपहरूले लेखेका थिए, ‘हामी हाम्रो देशका आप्रवासन कानुन र प्रक्रियामा सार्थक सुधारको पक्षमा छौं। मानव गरिमा र राष्ट्रिय सुरक्षा परस्पर विरोधी होइनन्। यदि सद्भावना भएका मानिसहरू मिलेर काम गर्छन् भने यी दुवै सम्भव छन् ।’ परमाणु हतियार त्याग्न इरानले गर्यो अस्वीकार, वार्ताबाट बाहिरिए भेन्स युद्धविरामलाई लिएर ‘इजरायली मिडिया’ चिन्तित, नेतान्याहूले ‘ट्रम्पसामु आत्मसमर्पण गरेको’ आरोप
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
काठमाडौं । विश्वव्यापी ऊर्जा सङ्कट चर्किरहेका बेला इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो तेलसम्बन्धी छलफलका लागि रुस जाने भएका छन् । उनी आइतबार साँझ जकार्ताबाट मस्को प्रस्थान गर्ने कार्यक्रम रहेको सरकारी स्रोतले जनाएको छ । राष्ट्रपतिका अनुसार यो भ्रमण ऊर्जा सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । विदेशमन्त्री सुगियोनोले तेल आपूर्ति र ऊर्जा स्थायित्वलाई वार्ताको मुख्य एजेन्डा बनाइएको बताए । उनले राष्ट्रपति प्रबोवोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेर विश्व भूराजनीति र ऊर्जा बजारको अवस्थाबारे विस्तृत छलफल गर्ने जानकारी दिए । राष्ट्रपति प्रबोवोले पछिल्ला दिनहरूमा दक्षिण कोरिया र जापानको भ्रमण गरेका थिए । ती भ्रमणहरूलाई उनले विदेश नीति सुदृढ गर्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन् । उनले आफ्ना मन्त्रीहरूलाई सम्बोधन गर्दै ऊर्जा सुरक्षालाई राष्ट्रिय प्राथमिकता बनाउँदै विश्वका प्रमुख राष्ट्रहरूसँग प्रत्यक्ष संवाद आवश्यक भएको बताएका थिए । इन्डोनेसिया विश्वकै ठूलो अर्थतन्त्रहरूमध्ये एक भए पनि इन्धन क्षेत्रमा चुनौतीपूर्ण अवस्थामा छ । देशले केही तेल उत्पादन गरे पनि ठूलो मात्रामा आयातमा निर्भर रहनुपर्छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य वृद्धि हुँदा इन्डोनेसियामा पनि त्यसको प्रभाव देखिएको छ । गत महिना सरकारले ऊर्जा सङ्कट नियन्त्रण गर्न इन्धन रासनिङको घोषणा गरेको थियो । साथै, ऊर्जा बचतका लागि सरकारी कर्मचारीहरूलाई हप्तामा एक दिन घरबाट काम गर्न अनिवार्य गरिएको छ । सरकारले निकट भविष्यमा इन्धनको मूल्य नबढाउने प्रतिबद्धता व्यक्त गरेको छ । रुसका लागि इन्डोनेसियाका राजदूत सर्गेई टोल्चेनोभले यसअघि इन्डोनेसियालाई तेल आपूर्ति गर्न रुस तयार रहेको बताएका थिए । उनले इन्डोनेसियालाई आवश्यक परे सहयोग उपलब्ध गराउने संकेत गरे । गत वर्ष इन्डोनेसिया रुस र चीनसहित उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्समा सामेल भएको थियो । यद्यपि राष्ट्रपति प्रबोवोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार सम्झौता पनि गरेका छन् जसले देशको विदेश नीति सन्तुलित बनाउन खोजिएको संकेत गर्दछ । रासस
भ्यानमा बन्द बालकको उद्धार
काठमाडौं । पूर्वी फ्रान्सको एउटा गाउँमा करिब दुई वर्षदेखि अमानवीय अवस्थामा बन्दी बनाइएका नौ वर्षीय बालकको उद्धार भएपछि स्थानीय समुदाय स्तब्ध बनेको छ । सन् २०२४ देखि आफ्नै बुबाले युटिलिटी भ्यानभित्र थुनेर राखेको अवस्थामा भेटिएका ती बालकलाई गम्भीर कुपोषण र शारीरिक कमजोरीका कारण तत्काल अस्पताल भर्ना गरिएको छ । स्थानीय अभियोजक निकोलस हेट्जका अनुसार स्विट्जरल्यान्ड र जर्मनीको सीमाना नजिक रहेको ह्यागेनबाख गाउँमा सोमबार छिमेकीले ‘बच्चाको आवाज’ सुनेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेका सुरक्षाकर्मीहरूले बलपूर्वक भ्यान खोल्दा अत्यन्तै दयनीय अवस्थामा बालकलाई फेला पारेका थिए । अभियोजकका अनुसार बालक भ्रूणजस्तो अवस्थामा खुम्चिएको, नग्न, फोहोर र मलमूत्र नजिकै कम्बलले ढाकिएको अवस्थामा थिए । लामो समय एउटै स्थितिमा बसेका कारण उनी हिँड्नसमेत असमर्थ बनेका छन् भने स्पष्ट रूपमा कुपोषित देखिएका छन् । बालकले सन् २०२४ यता आफूले नुहाउनसमेत नपाएको जानकारी दिएका छन् । अनुसन्धानका क्रममा बालकका बुबाले नोभेम्बर २०२४ मा उनलाई भ्यानमा राखेको स्वीकार गरेका छन् । उनका अनुसार आफ्नी साथीले तत्कालीन सात वर्षीय बालकलाई मानसिक अस्पताल पठाउन चाहेकाले आफूले यस्तो कदम चालेका थिए । तर अभियोजकले बालकको कुनै मानसिक समस्या रहेको प्रमाणित हुने मेडिकल अभिलेख नभएको र उनी विद्यालयमा राम्रो प्रदर्शन गर्ने विद्यार्थी रहेको स्पष्ट पारेका छन् । बालकले अनुसन्धानकर्तासँगको बयानमा आफ्नो बुबाको साथीसँग ‘ठूलो कठिनाइ’ भएको उल्लेख गर्दै आफूलाई थुन्नु बाहेक बुबासँग अन्य विकल्प नभएको बताएको अभियोजकको कार्यालयले जनाएको छ । प्रहरीले बालकका बुबालाई प्रारम्भिक रूपमा अपहरणसहित विभिन्न अभियोगमा हिरासतमा राखेको छ । बुबाकी साथीले भने बालक भ्यानमा रहेको कुरा आफूलाई थाहा नभएको दाबी गरेकी छन् । उनलाई जोखिममा परेका नाबालिगलाई सहयोग नगरेको आरोपमा प्रारम्भिक अभियोग लगाइएको छ र न्यायिक निगरानीमा रिहा गरिएको छ । यस घटनासँग सम्बन्धित रूपमा बालककी १२ वर्षीया दिदी र बुबाकी साथीकी १० वर्षीया छोरीलाई सामाजिक सेवाको संरक्षणमा राखिएको छ । अभियोजकको कार्यालयले बालक लामो समयसम्म बन्दी अवस्थामा रहँदा अन्य कसैलाई जानकारी थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानका क्रममा बालकका साथीभाइ र आफन्तहरूले उनी मानसिक स्वास्थ्य संस्थामा रहेको ठानेको बताएका छन् । विद्यालयका शिक्षकहरूलाई समेत बालक अन्यत्र विद्यालयमा स्थानान्तरण भएको जानकारी दिइएको थियो । घटनापछि ह्यागेनबाखका स्थानीय बासिन्दाहरूले गहिरो दुःख व्यक्त गरेका छन् । उनीहरूले बालकको अवस्थाबारे पहिले थाहा नभएको बताए पनि घटनाका विवरणबारे खुलस्त टिप्पणी गर्न चाहेका छैनन् । अधिकारीहरूले पीडित बालक र उनका परिवारका सदस्यहरूको पहिचान गोप्य राखेका छन् । अभियोजकले थप अनुसन्धान जारी रहेको जनाउँदै यसबारे विस्तृत टिप्पणी गर्न अस्वीकार गरेका छन् । रासस