काठमाडौं । युक्रेनको राजधानी किभमा एक साताभित्र भएको दोस्रो ठूलो रूसी आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
सहरका शीर्ष सैन्य प्रशासक तिमुर तकाचेन्कोका अनुसार आक्रमणमा ४६ जना घाइते भएका छन् जसमा पाँच बालबालिका पनि छन् ।
यसैबीच, किभ क्षेत्रका अन्य स्थानहरूमा पनि तीन जनाको मृत्यु भएको छ । आपत्कालीन सेवाका अधिकारीहरूका अनुसार २० भन्दा बढी स्थानमा उद्धार अभियान जारी छ ।
अधिकारीहरूले जनाएअनुसार सहरका दुई जिल्लामा रहेका अग्ला आवासीय भवनहरू पनि आक्रमणको निशानामा परेका छन् ।
यी आक्रमणहरू टर्कीमा हुने नेटो शिखर सम्मेलनको ठीक एक दिनअघि भएका हुन्, जहाँ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता हुने अपेक्षा गरिएको छ ।
नयाँ आक्रमण हुनुभन्दा केही घण्टाअघि मात्रै जेलेन्स्कीले रूसले किभमा अर्को ूठूलो आक्रमणू गर्ने तयारी गरिरहेको चेतावनी दिएका थिए । गत बिहीबार भएको रूसी आक्रमणमा ३० जनाको मृत्यु भएको थियो ।
लगातार विस्फोटका तीव्र आवाजबीच किभवासीहरूले फेरि एक भयावह रात बिताए । आक्रमणका क्रममा ठूलो संख्यामा सर्वसाधारणले आफ्नो सुरक्षाका लागि भूमिगत आश्रयस्थलहरूमा शरण लिएका थिए ।