युद्धविरामलाई लिएर ‘इजरायली मिडिया’ चिन्तित, नेतान्याहूले ‘ट्रम्पसामु आत्मसमर्पण गरेको’ आरोप

काठमाडौं । इरान र अमेरिकाबीच युद्धविरामको घोषणा भएपछि इजरायली मिडियाले यस सम्झौताप्रति असन्तुष्टि व्यक्त गरेको छ । यस युद्धको कुनै पनि लक्ष्य हासिल हुन नसकेको इजरायली मिडियाको भनाइ छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान १४ दिनको युद्धविराम र होर्मुज स्ट्रेट पुनः खोल्ने घोषणा गरेका थिए । उनले होर्मुज स्ट्रेट खोल्न दिएको आफ्नो डेडलाइन सकिनु ठीकअघि यो घोषणा गरेका थिए । सम्झौताका लागि भइरहेको वार्ता असफल हुने र लडाइँ अझ तीव्र हुने इजरायली मिडियाले यसअघि अनुमान गरेको  थियो । विशेषगरी दक्षिणपन्थी टिप्पणीकारहरू यसको पक्षमा थिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सुरुमा सामाजिक सञ्जाल प्लेटफर्म एक्समा अंग्रेजीमा पोस्ट गर्दै भनेका थिए कि इजरायल ‘ट्रम्पको दुई हप्तासम्म हमला रोक्ने निर्णयलाई समर्थन गर्दछ ।’ पछि उनले हिब्रू भाषामा पनि विस्तृत पोस्ट गरेका थिए । उनले उक्त पोस्टमा इजरायलका केही लक्ष्यहरू अझै बाँकी रहेको र उक्त लक्ष्यहरू सम्झौतामार्फत वा पुनः लडाइँमार्फत हासिल गरिने बताएका थिए । इजरायलको सार्वजनिक प्रसारक ‘केन’ ले एक अज्ञात स्रोतलाई उद्धृत गर्दै भनेको छ कि सरकार ‘ट्रम्पको निर्णयबाट अचम्मित भएको थियो’ र उनीहरूलाई ‘अन्तिम समयमा मात्र जानकारी दिइएको थियो ।’ यो घोषणा पासओभर (यहूदी पर्व) का कारण मिडियामा सीमित रूपमा मात्र कभर भयो । दक्षिणपन्थी च्यानल १४ ले यो समाचार कभर गरेन, किनकि त्यो च्यानल बिदा र सप्ताहन्तमा प्रसारण गर्दैन । यो च्यानलले लडाइँको समर्थन गर्दै आएको थियो र ट्रम्पको प्रशंसा पनि गर्दै आएको थियो । मुख्यधाराका मिडिया संस्थाहरू भने अझै पनि युद्धकालीन नाराहरू देखाइरहेका थिए, जस्तै ‘युद्धमा सबै एक साथ ।’ विपक्षी नेताहरूले पनि युद्धविरामको कडा आलोचना गरेका छन् । याइर लपिडले यसलाई ‘राजनीतिक विपत्ति’ भनेका छन् भने याइर गोलनले ‘पूर्ण असफलता’ बताएका छन् । इजरायली मिडियामा द न्यू योर्क टाइम्सको एउटा रिपोर्टलाई पनि प्रमुखता दिइएको छ, जसमा इरानविरुद्धको युद्धमा अमेरिकालाई समावेश गराउन नेतान्याहूको कति प्रभाव थियो भन्ने उल्लेख गरिएको छ । विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् कि यस युद्धका कारण ट्रम्पसँगको सम्बन्ध बिग्रिएको छ, किनकि कुनै पनि लक्ष्य हासिल हुन सकेन । इजरायली अखबार हारेट्जका रक्षा विश्लेषक अमोस हरेलले युद्धविरामलाई ‘जाल’ बताएका छन् । उनले भने कि नेतान्याहूले ट्रम्पलाई यस्तो योजना प्रस्तुत गरेका थिए जसमा केही हप्तामै इरानको मिसाइल क्षमता समाप्त गर्ने, शासन कमजोर बनाउने र होर्मुज स्ट्रेट खुला राख्ने दाबी गरिएको थियो, तर त्यो सम्भव हुन सकेन । अमेरिकासँग इजरायलको शाख ‘निकै कमजोर भएको’ र अब ट्रम्पलाई ‘अनावश्यक युद्धमा तानिएको’ आरोप लागिरहेको छ । नेतान्याहूका नजिकका व्यक्तिहरूले यस अभियानका तीन मुख्य लक्ष्य बताएका थिए, जसमा इरानको सरकार गिराउनु, परमाणु कार्यक्रम समाप्त गर्नु र ब्यालिस्टिक मिसाइलको खतरा अन्त्य गर्नु रहेका छन् । तर हालसम्म यीमध्ये कुनै पनि लक्ष्य हासिल हुन सकेको छैन । ‘केन’ की कूटनीतिक संवाददाता जिली कोहेनले नेतान्याहूले ‘ट्रम्पसामु आत्मसमर्पण गरेको’ बताइन् । च्यानल १२ का पत्रकार युवल साडेले लेखेका छन्, ‘असफलता वा भनौं ठूलो अवसर गुमाएको अनुभूति भइरहेको छ ।’ ‘जुन युद्ध ऐतिहासिक उपलब्धिको रूपमा सुरु भएको थियो, त्यो अहिले कमजोर राहतको साससहित अन्त्य भइरहेको छ,’ उनले थपे । नेतान्याहूले एक्समा भनेका छन्, ‘जब तपाईं बम शेल्टर र सुरक्षित कोठामा बसेर पनि दृढ रहनुभयो, हामीले मिलेर ठूलो जीत हासिल गर्यौं । हाम्रो लडाकुहरू मोर्चामा थिए र तपाईं गृह मोर्चामा ।’ ‘इजरायल राष्ट्रले ठूलो सफलता हासिल गरेको छ । यस्ता सफलता, जुन केही समयअघिसम्म असम्भव जस्तै लाग्थ्यो । इरान पहिलेभन्दा धेरै कमजोर छ र इजरायल पहिलेभन्दा धेरै बलियो छ । अहिलेसम्मको अभियानको निष्कर्ष यही हो,’ उनले थपे । उनले अझै पनि केही लक्ष्यहरू बाँकी रहेको पनि बताए । इरानको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलले सर्तसहित युद्धविरामको घोषणा गरेको थियो । त्यसपछि जारी गरिएको बयानमा भनिएको थियो कि सम्झौताका विवरण अन्तिम रूप दिन अधिकतम १५ दिनभित्र इस्लामावादमा वार्ता हुनेछ । बयानमा भनिएको छ कि यो वार्ता ‘मैदानमा इरानले हासिल गरेको जीतलाई राजनीतिक वार्तामा पनि सुदृढ बनाउन’ का लागि हुनेछ । काउन्सिलका अनुसार अमेरिका इरानविरुद्ध ‘आक्रामक कारबाही’ पुनः नगर्ने ग्यारेन्टी, होर्मुज स्ट्रेटमा इरानको नियन्त्रण कायम रहने, युरेनियम सम्वर्धन स्वीकार गर्ने, सबै प्रतिबन्ध हटाउने, संयुक्त राष्ट्र सुरक्षा परिषद र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका सबै प्रस्ताव समाप्त गर्ने, इरानलाई क्षतिपूर्ति दिने, क्षेत्रबाट अमेरिकी लडाकु फौज फिर्ता गर्नेजस्ता शर्तहरू रहेका छन् । इरानी सरकार र सरकारी मिडियाले यस सम्झौतालाई ठूलो जीतका रूपमा प्रस्तुत गरिरहेका छन् । काउन्सिलले भनेको छ कि इरानले युद्धमा आफ्ना अधिकांश लक्ष्य हासिल गरेको छ र शत्रुले ऐतिहासिक असफलताको सामना गरिरहेको छ । युद्धको सुरुवातमै अलि खामेनेई र इस्लामिक रिभोल्युशनरी गार्ड कोरका वरिष्ठ जनरलहरूको अमेरिकी–इसराइली हमलामा मृत्यु भएको थियो । यो लडाइँ त्यहाँको शासनका लागि अस्तित्वको प्रश्न बनेको थियो । त्यसैले इरानले आफूलाई विजयी मानेको छ, किनकि उसले अमेरिका र इजरायलसँग ३० दिनभन्दा बढी चलेको युद्धमा टिकेर बाँच्न सफल भएको छ । त्यसैले इरानले आफूलाई विजेता भनेर प्रस्तुत गर्नु महत्त्वपूर्ण मानिएको छ । वार्ताको अर्को चरण सुरु हुन लाग्दा यो कुरा ध्यान दिनुपर्ने छ कि अमेरिका र इरानबीच विश्वासको निकै कमी छ । पछिल्लो एक वर्षमा इरान र अमेरिकाबीच दुई पटक वार्ता भएको छ, तर दुवैपटक वार्ताकै बीचमा युद्ध सुरु भएको थियो । (बीबीसीबाट अनुदित तथा सम्पादित) इरान-अमेरिका तनावमा पाकिस्तानको ‘इन्ट्री’ : शरिफ र मुनिरको पहलमा ट्रम्प युद्ध रोक्न सहमत ‘बिटक्वाइनको स्रष्टा’ पहिचान गरेको ‘न्यूयोर्क टाइम्स’को दाबी

अमेरिकी उपराष्ट्रपति भन्छन्, ‘इरानले गलत बुझ्यो, युद्धविराममा लेबनान समावेश छैन’

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले अमेरिका र इरानबीच भएको युद्धविराममा लेबनान समावेश नभएको बताएका छन् । रोयटर्सका अनुसार भेन्सले बुडापेस्टमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मलाई लाग्छ यहाँ गलत बुझाइ भएको छ । इरानीहरूले युद्धविराममा लेबनान पनि समावेश छ भन्ने ठाने तर वास्तविकता त्यस्तो होइन । उनले अमेरिका पक्षको धारणा युद्धविरामलाई इरान र अमेरिकाका सहयोगीहरूबीच केन्द्रित राख्ने रहेको बताए, जसमा इजरायल र खाडीका अरब देशहरू समावेश छन् । भेन्सले भने, ‘इसराइलले लेबनानमा संयमता देखाउने सहमति त जनाएको छ, तर यसबारे विस्तृत जानकारी दिएको छैन ।’ उनले थपे, ‘मेरो बुझाइअनुसार, इजरायलले लेबनानमा केही हदसम्म आफूलाई नियन्त्रणमा राख्ने प्रस्ताव गरेको छ, किनकि उनीहरू हाम्रो वार्ता सफल होस् भन्ने चाहन्छन् । यसअघि बुधबार शेहबाज शरिफले युद्धविराम लेबनानमा पनि लागू हुने बताएका थिए। तर इसराइलले आफ्नो आधिकारिक वक्तव्यमा दुई साताको युद्धविराम सम्झौतामा लेबनान समावेश नभएको स्पष्ट पारेको थियो । इरान-अमेरिका तनावमा पाकिस्तानको ‘इन्ट्री’ : शरिफ र मुनिरको पहलमा ट्रम्प युद्ध रोक्न सहमत

‘बिटक्वाइनको स्रष्टा’ पहिचान गरेको ‘न्यूयोर्क टाइम्स’को दाबी

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनका रहस्यमय स्रष्टा सातोशी नाकामोटोको वास्तविक पहिचानबारे दशकौंदेखि चलिरहेको बहस पुन: एकपटक चर्किएको छ।  न्यू वर्क टाइम्सले गरेको एक वर्ष लामो अनुसन्धानले बेलायती कम्प्युटर वैज्ञानिक एडम ब्याक नै सातोशी हुन सक्ने दाबी गरेपछि यो विषय पुनः चर्चाको केन्द्रमा आएको हो । सन् २००८ मा प्रकाशित ‘बिटक्वाइन : मध्यस्थकर्ता विहीन डिजिटल नगद प्रणाली’ नामक श्वेतपत्रमार्फत बिटक्वाइनको अवधारणा सार्वजनिक गरिएको थियो । त्यसपछि २००९ मा यसको सफ्टवेयर कार्यान्वयन सुरु भयो र केही वर्षमै यो विश्वव्यापी वित्तीय प्रणालीमा ठूलो प्रभाव पार्ने प्रविधि बन्यो । तर यसको आविष्कारकर्ता सातोशी नाकामोटो भने २०१०–११ तिर सार्वजनिक रूपमा हराए र आजसम्म पनि उनको वास्तविक पहिचान रहस्यमै छ । न्यूयोर्क टाइम्सको अनुसन्धान अनुसार एडम ब्याक सातोशी हुन सक्ने सम्भावना विभिन्न प्राविधिक, भाषिक र ऐतिहासिक प्रमाणका आधारमा प्रस्तुत गरिएको छ ।  एडम ब्याक रिपोर्टमा विशेषगरी ‘स्टाइलोमेट्रिक एनालाइसिस’ अर्थात् लेखन शैलीको तुलना प्रयोग गरिएको छ । सातोशीका इमेल, फोरम पोस्ट र बिटक्वाइनसँग सम्बन्धित प्रारम्भिक सामग्रीहरूलाई ब्याकका पुराना लेखनहरूसँग तुलना गर्दा समान ढाँचा, ब्रिटिश अंग्रेजीको प्रयोग र केही विशिष्ट शब्द प्रयोगमा मिल्दोजुल्दो पाइएका छन् । यस अनुसन्धानका लागि पत्रकारले हजारौं क्रिप्टोग्राफी मेलिङ लिस्टका पोस्टहरू अध्ययन गरेका थिए, जहाँबाट सम्भावित उम्मेदवारहरूको सूची ३४ हजारभन्दा घटाएर अन्ततः एक जनामा सीमित गरिएको दाबी गरिएको छ । एडम ब्याक बिटक्वाइनको विकासभन्दा पहिलेदेखि नै डिजिटल मुद्रा र क्रिप्टोग्राफी क्षेत्रमा सक्रिय व्यक्ति हुन् । उनले सन् १९९७ मा ‘ह्यासक्यास’ नामक प्रणाली विकास गरेका थिए, जुन पछि बिटक्वाइनको ‘प्रूफ अफ वर्क’ मेकानिज्मको आधार बनेको मानिन्छ । साथै ब्याक सातोशीसँग प्रत्यक्ष सम्पर्कमा आएका पहिलो व्यक्तिमध्ये एक रहेको पनि उल्लेख गरिएको छ । तर, यी सबै दाबीहरूका बाबजुद एडम ब्याकले आफू सातोशी नभएको कुरा बारम्बार अस्वीकार गरेका छन् । उनले न्यूयोर्क टाइम्सको रिपोर्टपछि पनि उक्त दाबीलाई अस्वीकार गर्दै यसलाई संयोग मात्र भएको बताएका छन्। हङ्गेरीमा रहेको बिटक्वाइनका अज्ञात संस्थापकको सालिक  सातोशीको पहिचानबारे यस्ता दाबीहरू पहिला पनि सार्वजनिक भएका थिए । यसअघि पनि विभिन्न व्यक्तिहरू जस्तै हल फिन्ने, निक स्जाबो वा अन्य प्राविधिक व्यक्तिहरूलाई सातोशीको रूपमा प्रस्तुत गरिएको थियो, तर ती सबैले दाबी अस्वीकार गरेका थिए । सातोशी नाकामोटोको पहिचान महत्त्वपूर्ण हुनुको प्रमुख कारण बिटक्वाइनसँग सम्बन्धित ठूलो धनराशि हो । अनुमान अनुसार प्रारम्भिक चरणमा सातोशीले करिब १० लाखभन्दा बढी बिटक्वाइन माइन गरेका थिए, जसको मूल्य हाल अर्बौं डलर बराबर छ । यदि यी बिटक्वाइनहरू चलायमान भए भने विश्व क्रिप्टो बजारमा ठूलो प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ । यद्यपि क्रिप्टो समुदायका धेरै सदस्यहरू भने न्यूयोर्क टाइम्सको निष्कर्षप्रति सशंकित छन् । उनीहरूको भनाइमा अहिलेसम्म कुनै पनि दाबीलाई प्रमाणित गर्ने निर्णायक ‘क्रिप्टोग्राफिक प्रूफ’ सार्वजनिक भएको छैन । त्यसैले सातोशीको पहिचान अझै रहस्यकै विषय रहेको छ । केही विशेषज्ञहरू त सातोशी एकल व्यक्ति नभई समूह पनि हुन सक्ने तर्क गर्छन् । बिटक्वाइनको कोड र अवधारणाको जटिलता हेर्दा यस्तो सम्भावना बलियो देखिने उनीहरूको भनाइ छ । यसैबीच केहीले सातोशीको पहिचान खुलाउनु आवश्यक छैन भन्ने पनि तर्क गर्छन् । उनीहरूका अनुसार बिटक्वाइनको मूल दर्शन नै विकेन्द्रीकरण र गुमनामतामा आधारित भएकाले यसको स्रष्टाको पहिचान सार्वजनिक हुनु आवश्यक छैन । समग्रमा न्यूयोर्क टाइम्सको पछिल्लो अनुसन्धानले बिटक्वाइनका स्रष्टाबारेको बहसलाई पुनः ताजा बनाएको छ । तर एडम ब्याकको अस्वीकार र ठोस प्रमाणको अभावका कारण यो रहस्य अझै पूर्ण रूपमा सुल्झिएको भने छैन । सातोशी नाकामोटो को हुन् भन्ने प्रश्न अझै पनि आधुनिक प्रविधि र वित्तीय इतिहासकै सबैभन्दा ठूलो अनुत्तरित रहस्यहरूमध्ये एक बनेको छ ।