ट्रम्पले रोके इरानसँगको दोस्रो चरणको वार्ता, अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित दोस्रो चरणको वार्ता रद्द गरेका छन् । उनले पाकिस्तान जाने तयारीमा रहेका अमेरिकी प्रतिनिधिमण्डलको यात्रा रद्द गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लामो यात्रा समय, कार्यभारको चाप तथा इरानी नेतृत्वभित्र देखिएको असमझदारीका कारण उक्त निर्णय गरिएको उल्लेख गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकासँग वार्तामा सबै आवश्यक शक्ति रहेको बताउँदै यदि इरान पक्षले संवाद गर्न चाहन्छ भने सिधै सम्पर्क गर्न सकिने धारणा व्यक्त गरेका छन् । यसअघि पनि उनले आफ्ना ज्वाइँ जेरेड कुश्नर र विशेष दूत स्टीभ विटकोफको पाकिस्तान भ्रमण स्थगित गरिएको जानकारी गराएका थिए । यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पाकिस्तानको औपचारिक भ्रमण सम्पन्न गरी इस्लामाबाद छोडेका छन् । उनले पाकिस्तानको शान्ति प्रयास तथा मध्यस्थ भूमिकाको प्रशंसा गर्दै यसलाई फलदायी भ्रमणका रूपमा वर्णन गरेका छन् भने अमेरिकी पक्षको कूटनीतिक प्रतिबद्धताबारे प्रश्नसमेत उठाएका छन् । अमेरिका र इरानबीचको सम्बन्ध सन् १९७९ को इरानी क्रान्तिदेखि नै तनावपूर्ण रहँदै आएको छ । विशेष गरी सन् २०१५ मा भएको आणविक सम्झौता (जेसीपीओए) बाट डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालमा अमेरिका बाहिरिएपछि र इरानमाथि ‘अधिकतम दबाब’ को नीति अन्तर्गत कडा आर्थिक प्रतिबन्धहरू लगाएपछि यो विवाद चरम अवस्थामा पुगेको हो । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गरे पनि अमेरिकाले यसलाई क्षेत्रीय सुरक्षाका लागि खतरा मान्दै आएको छ, जसका कारण दुई देशबीच प्रत्यक्ष वार्ताको वातावरण बन्न सकेको छैन । अमेरिका र इरान दुवैसँग कूटनीतिक र रणनीतिक सम्बन्ध कायम राखेको राष्ट्र भएकाले पाकिस्तानले लामो समयदेखि यी दुई मुलुकबीच मध्यस्थकर्ताको भूमिका खेल्ने प्रयास गर्दै आएको छ । खाडी क्षेत्रमा तनाव बढ्दा त्यसको प्रत्यक्ष असर दक्षिण एसिया र ऊर्जा सुरक्षामा पर्ने भएकाले पाकिस्तानले ‘शान्ति दूत बनेर संवादको ढोका खोल्न खोजेको हो । इरानी विदेशमन्त्रीको हालैको इस्लामावाद भ्रमण र अमेरिकी प्रतिनिधिमण्डलको प्रस्तावित यात्रा यसै कूटनीतिक कसरतका हिस्सा थिए, जसमा पाकिस्तानले दुवै पक्षलाई एउटै टेबुलमा ल्याउने वा सन्देश आदानप्रदान गर्ने लक्ष्य राखेको थियो । इरान र अमेरिकाबीचको राजनीतिक तनावको प्रत्यक्ष प्रभाव विश्वकै सबैभन्दा महत्त्वपूर्ण व्यापारिक जलमार्ग ‘हर्मुज जलडमरूमध्य’ मा पर्ने गरेको छ । विश्वको ठूलो हिस्सा खनिज तेल यही मार्गबाट ओसारपसार हुने भएकाले इरानले समय(समयमा यो मार्ग बन्द गर्ने चेतावनी दिने र अमेरिकाले आफ्नो नौसेना परिचालन गरी सुरक्षा दिने गर्नाले यो क्षेत्र सधैं सैन्य टकरावको जोखिममा रहन्छ । हालैका दिनहरूमा समुद्री मार्गमा देखिएका अवरोध र खानीसम्बन्धी चुनौतीहरूले गर्दा अमेरिकाले त्यहाँ आफ्नो सैन्य सतर्कता बढाएको हो, जसले गर्दा कूटनीतिक वार्ताहरू थप जटिल बनेका छन् ।
कोलम्बियामा बम आक्रमण हुँदा ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते
काठमाडौं । कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने बीसभन्दा बढी व्यक्ति घाइते भएका छन् । रिपोर्टका अनुसार काली र पोपायान जोड्ने पान–अमेरिकी राजमार्गको एल टुनेल क्षेत्रमा गुडिरहेको बसमा बम प्रहार गरिएको थियो, जसले बसको छाना र झ्यालहरूमा गम्भीर क्षति पुर्याएको छ । राजमार्गमा पनि नोक्सानी भएको देखिन्छ । प्रत्यक्षदर्शी चालकहरूका अनुसार हतियारधारी व्यक्तिहरूले एक ट्रक र बस अपहरण गरी सडक अवरुद्ध बनाएका थिए र ती सवारीसाधनहरूमा एक विद्रोही समूहसँग सम्बन्धित नाराहरू लेखिएका थिए । काउका विभागका गभर्नर अक्टाभियो गुज्मानले यसलाई नागरिकमाथिको अन्धाधुन्ध आक्रमण भन्दै कडा निन्दा गरेका छन् । सुरक्षा निकायहरू घटनास्थलमा खटिएको जानकारी दिँदै प्रभावित क्षेत्रमा जनताको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय सरकारलाई ठोस कदम चाल्न आग्रह गरेका छन् ।
ट्रम्पको डिनर पार्टीमा अन्धाधुन्ध गोली प्रहार, ह्वाइट हाउसमा मच्चियो खैलाबैला
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटा होटलमा ह्वाइट हाउसका पत्रकारहरूसँग डिनर (कोरेस्पोन्डेन्ट्स डिनर) गरिरहेका थिए, त्यही बेला गोली चलेको आवाज सुनियो । त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हतार–हतार बाहिर निकालियो । त्यहाँ उपस्थित एक सुरक्षा अधिकारीका अनुसार कार्यक्रममा सातदेखि आठ राउन्ड गोली चलेको थियो । केहीबेरपछि डोनाल्ड ट्रम्पले भने, ‘शूटर पक्राउ परिसकेको छ, तर कार्यक्रम जारी रहनुपर्छ।’ यस घटनापछि डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने, ‘यो साँझ अब पहिले जस्तो रहेन, यो डिनर फेरि आयोजना गर्नुपर्छ ।’ घटनाको केही समयपछि डोनाल्ड ट्रम्पले आफै शूटर पक्राउ परेको बारे जानकारी दिए । उनले ट्रूथ सोसलमा लेखे, ‘वाशिङ्टन डीसीमा साँझ निकै घटनापूर्ण रह्यो । सिक्रेट सर्भिस र कानुन कार्यान्वयन टोलीले उत्कृष्ट काम गरे । उनीहरूले तुरुन्त र साहसिक कदम चाले ।’ ‘आक्रमणकारी पक्राउ परिसकेको छ । मैले कार्यक्रम जारी राख्ने सुझाव दिएको छु । तर अन्तिम निर्णय कानुन कार्यान्वयन टोलीले गर्नेछ । उनीहरूले चाँडै निर्णय लिनेछन् । जे निर्णय भए पनि, यो साँझ अब पहिले जस्तो हुने छैन र हामीले यसलाई फेरि आयोजना गर्नुपर्नेछ,’ उनले थपे । घटनापछि डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग थप जानकारी गराएका थिए । उनले भने, ‘यो कार्यक्रम अभिव्यक्ति स्वतन्त्रतालाई समर्पित थियो र यसको उद्देश्य सबैलाई जोड्नु थियो । तर एक व्यक्ति धेरै हतियारसहित सुरक्षा चेकपोइन्टमा हमला गर्न आयो । उसलाई सिक्रेट सर्भिसका बहादुर सदस्यहरूले रोके ।’ ट्रम्पले एक सिक्रेट सर्भिस अधिकारीले बुलेट प्रूफ ज्याकेट लगाएकाले ज्यान जोगिएको बताए । ट्रम्पले कार्यक्रमअघि कुनै पनि सुरक्षा खतरा भएको जानकारी उनको टोलीलाई थाहा नभएको बताए । उनले भने, ‘मलाई यसको उद्देश्य के थियो थाहा छैन, तर संदिग्ध निकै खराब देखिन्छ ।’ डोनाल्ड ट्रम्प वाशिङ्टन हिल्टनमा कुराकानी गरिरहेका देखिन्थे, त्यही बेला टेबलतर्फ हलचल भएपछि उनको कुरा रोकियो । ठूलो विस्फोटजस्तो आवाज सुनियो । त्यसपछि सिक्रेट सर्भिसका धेरै सदस्यहरूले ‘तल बस्नुस्’ भनेर निर्देशन दिए । डिनरमा उपस्थित पत्रकार ड्यानियल बुशले बताए कि गोलीजस्तो आवाज आएपछि मानिसहरू टेबलमुनि लुके । पहिले ट्रम्पलाई बाहिर लगियो र केहीबेरपछि रक्षामन्त्री पीट हेजसेथसहित वरिष्ठ प्रशासनिक अधिकारीहरूलाई पनि सुरक्षा टोलीले बाहिर निकाले । केहीबेरपछि पाहुनाहरू टेबलमुनिबाट बाहिर निस्किएर अवस्था बुझ्न थाले। ड्यानियल भन्छन्, ‘यो डिनरमा हालसम्मकै पहिलो सुरक्षा चूक हो, सायद पहिलो पटक । र यो पनि पहिलो पटक थियो जब ट्रम्पले राष्ट्रपतिका रूपमा यस कार्यक्रममा भाग लिएका थिए ।’ उनी यस गोलीकाण्डबारे अझै ठूला प्रश्नहरू बाँकी रहेको बताउँछन । उनले भने, ‘वाशिङ्टन हिल्टनमा हुने यस कार्यक्रममा हरेक वर्ष राष्ट्रपति, क्याबिनेट मन्त्रीहरू र प्रशासनका उच्च अधिकारीहरू सहभागी हुन्छन् । साथै सयौं पत्रकारहरू पनि उपस्थित हुन्छन् ।’ ‘मुख्य हलमा प्रवेश गर्न पाहुनाहरूले विमानस्थलजस्तै सुरक्षा जाँच पार गर्नुपर्छ । होटल बाहिर पनि कडा सुरक्षा व्यवस्था हुन्छ,’ उनले थपे । ड्यानियल बुशका अनुसार, ‘यो वाशिङ्टनको सबैभन्दा सुरक्षित कार्यक्रम मानिन्छ । यसअघि कहिल्यै ह्वाइट हाउस कोरेस्पोन्डेन्ट्स डिनरमा यस्तो घटना भएको थिएन । तर आज रात जे भयो, त्यसपछि यस कार्यक्रमको सुरक्षामा अझ बढी ध्यान दिइनेछ ।’ (बीबीसीबाट अनुदित तथा सम्पादित)