अमेरिका–बेलायत सम्बन्धमा जोड
काठमाडौं । इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको भेटवार्ताले दुई देशबीचको पुरानो साझेदारीलाई पुनः केन्द्रमा ल्याएको छ । राज्यस्तरीय रात्रिभोजका क्रममा दुवै नेताले ‘विशेष सम्बन्ध’ को खुलेर प्रशंसा गरे । यद्यपि इरानको आणविक कार्यक्रमबारे ट्रम्पले सार्वजनिक रूपमा राखेको धारणा विवादको विषय बन्यो । भव्य स्वागत र औपचारिक कार्यक्रमबीच आयोजित रात्रिभोजमा ट्रम्पले इरानलाई सङ्केत गर्दै आफूहरूले ‘विशेष प्रतिद्वन्द्वीलाई सैन्य रूपमा पराजित गरेको’ दाबी गरे । उनले राजा चार्ल्स तृतीय पनि आफ्नो विचारसँग सहमत रहेको बताउँदै उक्त देशलाई कहिल्यै आणविक हतियार विकास गर्न नदिने अडान दोहोर्‍याए । तर यस विषयमा राजा चार्ल्स तृतीयले प्रत्यक्ष समर्थन जनाएको कुनै सङ्केत देखिएन र उनले आफ्नो सम्बोधनमा इरान वा युद्ध तनावको सीधा उल्लेख गरे । यसको सट्टा राजा चार्ल्स तृतीयले लन्डन र वासिङ्टनबीचको ऐतिहासिक सहकार्यलाई अझ मजबुत बनाउने आवश्यकता औँल्याउँदै बदलिँदो विश्व परिवेशमा साझा चुनौतीहरू सामना गर्न मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय गठबन्धनहरूको महत्त्व, विशेषगरी नाटो जस्ता संरचनाहरूको भूमिका, स्पष्ट रूपमा उल्लेख गरे, जसप्रति ट्रम्पले विगतमा आलोचनात्मक धारणा राख्दै आएका छन् । साथै, युक्रेनमाथि रुसको आक्रमणविरुद्ध निरन्तर समर्थन आवश्यक रहेकोमा उनले जोड दिए । कार्यक्रममा एप्पलका प्रमुख टिम कुक, अमेजनका जेफ बेजोस, एनभिडियाका जेन्सेन हुआङ तथा गल्फ खेलाडी रोरी म्याक्लरोय जस्ता प्रविधि र व्यवसाय क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति थियो । भोजको मेनुमा बगैँचाको तरकारी भेलुटे, स्प्रिङ हर्बेड रावियोली, डोभर सोल म्युनियर र अन्त्यमा मह तथा भ्यानिला बिन क्रेमेक्स समावेश गरिएको थियो । सम्बोधनका क्रममा दुवै नेताले हल्का मजाक पनि गरे । ट्रम्पले राजा चार्ल्स तृतीयको अमेरिकी कंग्रेसमा दिएको भाषणको प्रशंसा गर्दै डेमोक्रेट सांसदहरूलाई समेत उठ्न बाध्य बनाएको उल्लेख गरे । जवाफमा राजा चार्ल्स तृतीयले ऐतिहासिक सन्दर्भ जोड्दै बेलायत र फ्रान्सबीचको प्रतिस्पर्धाको प्रसङ्ग उठाएर रमाइलो टिप्पणी गरे । यसअघि कंग्रेसलाई सम्बोधन गर्दै राजा चार्ल्स तृतीयले लोकतान्त्रिक मूल्य, कानूनी शासन र शक्ति सन्तुलनको सिद्धान्तप्रति प्रतिबद्धता दोहोर्‍याएका थिए । उनले म्याग्ना कार्टाको सन्दर्भ उल्लेख गर्दै यसले अमेरिकी न्याय प्रणालीमा समेत प्रभाव पारेको बताए । उक्त अभिव्यक्तिले विशेषगरी विपक्षी डेमोक्रेट सांसदहरूबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । राष्ट्रपति ट्रम्पले स्वागत समारोहमा बेलायतलाई अमेरिकाको सबैभन्दा नजिकको सहयोगीको रूपमा चित्रण गरे । उनले अमेरिकी स्वतन्त्रतापछि पनि दुई देशबीचको सम्बन्ध निरन्तर सुदृढ रहेको उल्लेख गरे । यद्यपि, इरानलगायत केही नीतिगत विषयमा ट्रम्पले बेलायती प्रधानमन्त्री कीर स्टार्मरको आलोचना गर्दै आएका छन्, जसले सम्बन्धमा केही असहजता देखाएको छ । यस भ्रमणलाई सुरक्षा दृष्टिले पनि संवेदनशील मानिएको छ । वासिङ्टनमा हालै ट्रम्पमाथि कथित आक्रमण प्रयासको घटना सार्वजनिक भएपछि सुरक्षालाई कडा बनाइएको छ । हिंसात्मक गतिविधिप्रति असहमति जनाउँदै राजा चार्ल्स तृतीयले यस्ता कार्यहरू सफल नहुने स्पष्ट पारे । चार दिने भ्रमणअन्तर्गत शाही दम्पतीले बुधबार न्युयोर्कको भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ उनीहरूले ९/११ स्मारक स्थलको अवलोकन गर्नेछन् । त्यसपछि उनीहरू बर्मुडातर्फ प्रस्थान गर्ने तालिका रहेको छ । रासस
ट्रम्पको लोकप्रियता वर्तमान कार्यकालमा सबैभन्दा तल्लो स्तरमा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता उनको वर्तमान कार्यकालमा सबैभन्दा तल्लो स्तरमा पुगेको छ । यो कुरा बेलायती अखबार ‘द गार्जियन’मा प्रकाशित रोयटर्स–इप्सोसको नयाँ सर्वेक्षणमा खुलासा भएको हो । अमेरिकी नागरिकहरूको असन्तुष्टिको मुख्य कारण बढ्दो महँगीलाई ट्रम्पले नियन्त्रण गर्न नसक्नु हो । यसबाहेक इरानविरुद्धको उनको युद्ध पनि जनतालाई मन परेको छैन । यस युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्य बढेको छ । चार दिनसम्म चलेको यस सर्वेक्षणमा केवल ३४ प्रतिशत अमेरिकीहरूले ट्रम्पको कामकाजलाई सही बताएका छन्, जबकि १५ देखि २० अप्रिलबीच गरिएको अघिल्लो सर्वेक्षणमा यो आँकडा ३६ प्रतिशत थियो । महँगीसँग सम्बन्धित कामकाजमा ट्रम्पलाई केवल २२ प्रतिशत मानिसहरूको समर्थन प्राप्त भएको छ, जबकि अघिल्लो सर्वेक्षणमा यो २५ प्रतिशत थियो । रिपब्लिकन पार्टीका समर्थकहरूमा पनि चिन्ता बढ्दै गएको छ कि नोभेम्बरमा हुने मध्यावधि चुनावमा उनीहरू अमेरिकी संसद (कंग्रेस) मा कमजोर पर्न सक्छन् । यद्यपि, रिपब्लिकन पार्टीका ७८ प्रतिशत सदस्यहरू अझै पनि ट्रम्पको समर्थनमा छन्, तर ४१ प्रतिशत पार्टी सदस्यहरू महँगी नियन्त्रणमा उनको कामकाजप्रति असन्तुष्ट छन् ।
बैंकले ‘खातावाला’ खोजेपछि ‘मृत दिदीको कंकाल’ बोकेर बैंक पुगे भाइ
काठमाडौं । भारतको ओडिशा राज्यका एक व्यक्तिले आफ्नी मृत दिदीको कंकाल बोकेर बैंकमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ती व्यक्तिले आफ्नी दिदीको नाममा बैंकमा जम्मा भएको पैसा निकाल्ने प्रयासको क्रममा कंकाल नै बोकेर पुगेका हुन् । यो घटना ओडिशाको केओनझर जिल्लाको पतना ब्लकमा रहेको ओडिशा ग्रामीण बैंकको मलिपोसी शाखामा भएको हो । ५० वर्षीय जीतु मुन्डा भनेर चिनिएका ती व्यक्तिले प्रहरीलाई बताएअनुसार बैंकका व्यवस्थापकहरूले खातावालालाई आफूसँगै ल्याउन भनेपछि उनले यस्तो कदम चालेका हुन् । ती आदिवासी व्यक्तिले आफ्नी जेठी दिदी कलरा मुन्डाको बैंक खाताबाट २० हजार रुपैयाँ निकाल्न खोजिरहेका थिए । कलरा मुन्डाको जनवरी २६ मा मृत्यु भएको थियो । ‘म धेरैपटक बैंक धाएँ, त्यहाँका मानिसहरूले पैसा निकाल्न खातावालालाई ल्याउनुस् भने । मैले उनको मृत्यु भइसकेको बताए पनि उनीहरूले सुनेनन् र उनलाई बैंकमै ल्याउन जोड दिए । त्यसैले मैले चिहान खनी उनको कंकाल निकालेर मृत्यु भएको प्रमाणका रूपमा ल्याएँ,’ मुन्डाले सञ्चारकर्मीलाई बताए । पतना प्रहरी चौकीका इन्चार्ज निरीक्षक किरण प्रसाद साहुले भने बैंकले जीतुलाई पैसा निकाल्ने सही प्रक्रिया स्पष्ट रूपमा बुझाउन नसकेको बताए । ‘जीतु एक अशिक्षित आदिवासी व्यक्ति हुन् । उनलाई ‘कानुनी उत्तराधिकारी’ वा ‘नोमिनी’ के हो भन्ने थाहा छैन । बैंकका कर्मचारीहरूले मृत व्यक्तिको खाताबाट पैसा कसरी निकाल्ने भन्ने प्रक्रिया उनलाई बुझाउन असफल भएका छन्,’ साहुले समाचार एजेन्सी पीटीआईसँग भने । यता स्थानीय ब्लक विकास अधिकृत (बीडीओ) मानस दण्डपाटले भने आफूले पहिलोपटक यो घटनाबारे सुनेको बताए । ‘आज मात्रै मैले यो विषयमा थाहा पाएँ । समस्या समाधानका लागि के गर्न सकिन्छ हेर्नेछौं,’ बीडीओले पीटीआईसँग भने । घटनापछि प्रहरी अधिकारीहरू हस्तक्षेपमा उत्रिएका छन् र उक्त आदिवासी व्यक्तिलाई उनकी मृत दिदीको खाताबाट पैसा निकाल्न सहयोग गर्ने आश्वासन दिएका छन् । कंकाल अवशेषहरू प्रहरीको निगरानीमा पुनः चिहानमै गाडिएको छ ।