‘मोस्ट वान्टेड’ सूचीमा टेलिग्रामका संस्थापक पाभेल डुरोभ

टेलिग्राम गैरकानुनी गतिविधिमा प्रयोग भएको आरोपमा डुरोभलाई पेरिसमा पक्राउ गरिएको थियो ।

काठमाडौं । मेसेजिङ एप टेलिग्रामका संस्थापक तथा मालिक पाभेल डुरोभ अन्तर्राष्ट्रिय खोजी सूची (इन्टरनेशनल वान्टेड लिस्ट) मा परेका छन् ।

रुसको प्रमुख आन्तरिक सुरक्षा निकायले बुधबार आतंकवादमा सहयोग गरेको अभियोग लगाउँदै उनलाई इन्टरनेशनल वान्टेड लिस्टमा राखेको हो ।

रुसमा जन्मिएका तथा आफ्नो व्यवसायिक यात्रा त्यहीँबाट सुरु गरेका डुरोभ पछि विदेश बसाइँ सरेका थिए । रुसले देशकै सबैभन्दा लोकप्रिय सन्देश आदान–प्रदान एपमध्ये एक टेलिग्राममाथि थप प्रतिबन्ध पनि लगाइरहेको छ । 

यो कदम फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता क्रेम्लिनले इन्टरनेटमाथि पूर्ण नियन्त्रण स्थापित गर्ने दीर्घकालीन प्रयासको निरन्तरता मानिएको छ ।

रुसको फेडरल सेक्युरिटी सर्भिस (एफएसबी) ले जारी गरेको विज्ञप्तिमा टेलिग्राम प्रशासनले ‘धेरै च्यानल, च्याट र बोट’ हटाउन असफल भएको आरोप लगाएको छ । 

ती माध्यमहरूलाई युक्रेनी गुप्तचर निकाय, आतंकवादी तथा अतिवादी संगठनहरूले रुसभित्र तोडफोड, आतंकवादी गतिविधि, सामूहिक हत्या तथा साइबर ठगीको योजना बनाउन र समन्वय गर्न सक्रिय रूपमा प्रयोग गरेको र यसका कारण धेरै मानवीय क्षति भएको एफएसबीको दाबी छ ।

एफएसबीले युक्रेनका सुरक्षा निकायहरूले टेलिग्राममा रहेको लोकप्रिय डेटिङ च्याटबोट प्रयोग गरेर रुसी नागरिकलाई तोडफोड तथा आतंकवादी गतिविधिमा संलग्न गराउन फकाउने र भर्ती गर्ने गरेको आरोप पनि लगाएको छ । 

सन् २०२५ को जुलाईयता उक्त च्याटबोट प्रयोग गरेका १२ देखि २२ वर्ष उमेर समूहका ४६ जनालाई रुसभरि पक्राउ गरिएको, उनीहरूविरुद्ध सुरक्षाकर्मीमाथि आक्रमण, आगजनीलगायतका आरोप रहेको एफएसबीले जनाएको छ ।

डुरोभले यस वर्षको सुरुमै रुसी अधिकारीहरूले आफूमाथि आपराधिक अनुसन्धान सुरु गरेको जानकारी दिएका थिए । उनले टेलिग्राममाथिको पहुँच सीमित गर्न कृत्रिम बहाना बनाइएको र यो व्यक्तिगत गोपनीयता तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार दबाउने प्रयास भएको आरोप लगाएका थिए ।

यदि उनी दोषी ठहरिएमा रुसमा आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ ।

टेलिग्रामले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । कम्पनीको आधिकारिक वेबसाइटअनुसार टेलिग्रामको मुख्यालय दुबईमा रहेको छ । संयुक्त अरब इमिरेट्स (युएई) र फ्रान्सको दोहोरो नागरिकता भएका डुरोभ पनि दुबईमै बसोबास गर्छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा रुसले इन्टरनेटमाथि नियन्त्रण बढाउन विभिन्न उपाय अपनाउँदै आएको छ । सरकारले कडा कानुन लागू गरेको, नियम नमानेका वेबसाइट र डिजिटल प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको तथा अनलाइन गतिविधिको निगरानी र नियन्त्रण गर्ने प्रविधि विस्तार गरेको छ ।

रुसमा फेसबुक, इन्स्टाग्राम र एक्स (पूर्व ट्विटर) जस्ता लोकप्रिय सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको छ । युट्युबको सेवा सीमित गरिएको छ भने सिग्नल र भाइबरजस्ता मेसेजिङ एप अवरुद्ध गरिएका छन्। सबैभन्दा धेरै प्रयोग हुने ह्वाट्सएप र टेलिग्राममाथि पनि विभिन्न प्रतिबन्ध लगाइएको छ ।

डुरोभले टेलिग्राम सुरु गर्नुअघि स्थापना गरेको फेसबुकजस्तै रुसी सामाजिक सञ्जाल भीके अहिले क्रेम्लिन निकट कम्पनीहरूको नियन्त्रणमा पुगेको छ । रुसले सन् २०१८ देखि २०२० सम्म टेलिग्राम बन्द गर्ने प्रयास गरे पनि त्यसमा सफल हुन सकेको थिएन ।

यद्यपि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर केही प्रतिबन्ध छल्न अझै सम्भव भए पनि यस्ता सेवामाथि पनि नियमित रूपमा अवरोध लगाइँदै आएको छ ।

यसैबीच, रुसले म्याक्स नामक ‘राष्ट्रिय’ मेसेजिङ एपलाई सक्रिय रूपमा प्रवद्र्धन गरिरहेको छ । आलोचकहरूका अनुसार यो एप निगरानीका लागि प्रयोग हुन सक्ने जोखिम छ । 

विकासकर्ता र सरकारी अधिकारीहरूले यसलाई सन्देश आदान–प्रदान, सरकारी अनलाइन सेवा, डिजिटल भुक्तानीलगायत सबै सुविधा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने एपका रूपमा प्रचार गरेका छन् । 

प्रयोगकर्ताको जानकारी सरकारी निकायको मागअनुसार उपलब्ध गराइने कुरा यसले खुला रूपमा उल्लेख गरेको छ भने विज्ञहरूका अनुसार यसमा ‘एन्ड–टु–एन्ड इन्क्रिप्सन’ पनि प्रयोग गरिएको छैन ।

डुरोभ अन्य देशमा पनि कानुनी अनुसन्धानको सामना गरिरहेका छन् । सन् २०२४ मा उनको प्लेटफर्म मादक पदार्थ तस्करी तथा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री वितरणजस्ता गैरकानुनी गतिविधिमा प्रयोग भएको आरोपमा उनलाई पेरिसमा पक्राउ गरिएको थियो । डुरोभले सन् २०२५ को मार्चमा फ्रान्समा केही महिना बिताएपछि आफू दुबई फर्किएको बताएका थिए ।

अन्य पठनीय सामग्रीहरू :

इरानमाथि फेरि आक्रमणको संकेत ? ट्रम्पसँग नेतन्याहूको गोप्य छलफल

हर्मुजमा इरानको पकड बलियो, सबै विदेशी जहाज तेहरानकै मार्गमा

इरानका परमाणु केन्द्रमा धावा बोल्ने अमेरिकी योजना सार्वजनिक

साउदीको परमाणु डिलपछि किन चर्चामा आयो पाकिस्तान ?

Share News