काठमाडौं । अटोमोबाइल क्षेत्रका अनुभवी व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनीत भएका छन् ।
एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिमा पौडेललाई उपसभापतिको जिम्मेवारी दिएको हो ।
महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव, ज्ञान र सक्रिय सहभागिताले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
पौडेल हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का सचिव तथा अल्फा अटोमोटिभ प्रालि का निर्देशकका रूपमा कार्यरत छन् । उनी लामो समयदेखि नेपालको अटोमोबाइल व्यवसाय, बजार विस्तार तथा नीतिगत विषयमा सक्रिय रहँदै आएका छन् ।
नेपालमा दुईपांग्रे सवारीसाधनको बजार विस्तारको सुरुआती चरणदेखि नै अटोमोबाइल व्यवसायमा आबद्ध रहेका पौडेलले एउटा शोरुमबाट वार्षिक करिब ५० वटा मोटरसाइकल बिक्री हुने अवस्थादेखि अहिलेको विस्तारित बजारसम्मको यात्रा नजिकबाट अनुभव गरेको उल्लेख गरिएको छ ।
व्यवसायिक भूमिकासँगै पौडेल नाडामार्फत अटोमोबाइल क्षेत्रसँग सम्बन्धित कर तथा राजस्व नीति, एसेम्बली उद्योग, एमआरपी, व्यवसाय सञ्चालनको वातावरण तथा स्थानीय उत्पादन र स्वदेशी पार्ट्सको प्रयोगलगायत विषयमा सरकार र सम्बन्धित निकायसँग हुने छलफलमा पनि सक्रिय सहभागी रहँदै आएका छन् ।
स्थानीय उत्पादन र एसेम्बली उद्योगको विकास, अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वदेशी पार्ट्सको प्रयोग तथा व्यवसायमैत्री नीतिगत वातावरण निर्माणमा उनले निरन्तर जोड दिँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
एफएनसीसीआईको यातायात तथा पारवहन समितिले यातायात व्यवसाय, पारवहन, व्यापार सहजीकरण तथा यस क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा निजी क्षेत्रको धारणा प्रस्तुत गर्दै आएको छ । महासंघले पौडेलको अनुभवले समितिका आगामी पहल र नीतिगत छलफलमा थप योगदान पुग्ने अपेक्षा गरेको छ ।