डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म लगानी गर्न युएईका लगानीकर्तालाई ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुगेका ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन् ।

भेटका क्रममा नेपाल–युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो ।

सो अवसरमा ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डाटा सेन्टरका क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको बताए । नेपालमा पर्याप्त स्वच्छ ऊर्जा र चिसो हावापानी उपलब्ध रहेकाले सूचना प्रविधि तथा डाटा सेन्टर स्थापनाका लागि उपयुक्त गन्तव्य बन्न सक्ने उनको भनाइ थियो ।

त्यस्तै, केबलकार र स्की रिसोर्टजस्ता उच्चस्तरीय पर्यटन पूर्वाधारमा समेत लगानीको ठूलो अवसर रहेको उनले युएईका मन्त्रीलाई जानकारी गराए ।

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा दुवै पक्षले खुसी व्यक्त गरेका थिए । सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीका अवसरमा विशेष समारोह आयोजना गर्ने मन्त्री अल जेउदीको सोचको ढकालले स्वागत गरे ।

स्वर्ण जयन्तीलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले सरकारी तथा निजी क्षेत्रबीच उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताए ।

लगानीकर्तालाई नीतिगत तथा नियमनकारी स्पष्टतासहित विश्वास दिलाउन द्विपक्षीय लगानी सम्झौता (बीआईए) र दोहोरो कर मुक्ति सम्झौताजस्ता कानुनी आधारलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता पनि ढकालले औँल्याए ।

यसैगरी, ढकालले फ्लाई दुबईले युएईबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि पहल गरिदिन आग्रह गरे ।

भैरहवामा युएईबाट सिधा उडान सुरु भएमा युएईलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण प्रवेशद्वार बन्न सक्ने उनको धारणा थियो ।

ढकालले सन् २०२७ मा मनाइने नेपाल–युएई कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीले दुई देशबीच साझा समृद्धि र बलियो आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरे । 

Share News