काठमाडौं । स्वास्थ्यसम्बन्धी सामग्रीको बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको विराट हेल्थकेयर इन्डस्ट्रिज प्रालिले स्थापनाको छोटो अवधिमै कारोबारको आकार उल्लेख्य रूपमा बढाएको छ । सन् २०२१ मार्चमा स्थापना भएको कम्पनीले स्वास्थ्य सामग्रीको उत्पादन तथा व्यापारबाट सुरु गरेको व्यावसायिक यात्रा अहिले शिशु तथा वयस्कका लागि प्रयोग हुने डाइपर उत्पादनसम्म विस्तार गरेको छ ।
उत्पादनको दायरा विस्तार र बजारमा बढ्दो उपस्थितिको परिणामस्वरूप कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२/८३ मा ६० करोड ९० लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.३३ प्रतिशत अर्थात् १५ करोड ९० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ४५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा जम्मा १ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ९ करोड ३० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ३६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
मोरङको विराटनगरमा उत्पादन कारखाना सञ्चालन गर्दै आएको कम्पनीले सुरुमा स्वास्थ्य सामग्रीको उत्पादन तथा बिक्रीमा केन्द्रित भएर व्यवसाय अघि बढाएको थियो । क्रमशः उत्पादनको दायरा फराकिलो बनाउँदै लगेको कम्पनीले अहिले सेनिटरी प्याड, शल्यक्रियामा प्रयोग हुने मास्क तथा पञ्जा, परीक्षणमा प्रयोग हुने पञ्जा, एकपटक प्रयोग गरिने मास्क, शल्यक्रियामा प्रयोग हुने टोपी, शिशुका डाइपर र वयस्कका डाइपर उत्पादन तथा बिक्री गर्दै आएको छ ।
यसका अतिरिक्त डिस्पोजेबल क्याप, शिशुका लागि प्रयोग हुने वाइप्स र अल्ट्रासाउन्ड जेललगायतका सामग्री पनि कम्पनीको उत्पादन तथा बिक्री गर्दै आएको छ । ह्वाइट मुन सेनिटरी प्याड, विराट टुलिप्स ग्लोभ्स, बेबी मुन डाइपर र विराट टुलिप्स एडल्ट डाइपर कम्पनीका प्रमुख ब्रान्ड हुन् । नेपाली बजारमा स्थापित यी ब्रान्डमार्फत कम्पनीले आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउँदै आएको छ । बजारको मागअनुसार विभिन्न आकार, प्रकार र प्याकेजिङमा उत्पादन उपलब्ध गराउने रणनीतिले प्रतिस्पर्धात्मक बजारमा आफ्नो उपस्थिति कायम राख्न कम्पनीलाई सहयोग पुगेको जनाएको छ ।
विराट हेल्थकेयरको अध्यक्ष चिकित्सा क्षेत्रमा करिब चार दशकको अनुभव हासिल गरेका डा. ज्ञानेन्द्रमान सिंह कार्की हुन् । उनले सन् १९९१ देखि १९९४ सम्म तीन वर्ष स्त्रीरोग विशेषज्ञका रूपमा परामर्श सेवा प्रदान गरेका थिए ।
डा. कार्की विराट नर्सिङ होमका संस्थापक, अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत हुन् । उनले सन् २००८ देखि २००९ सम्म नोबेल मेडिकल कलेजको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । त्यस्तै, सन् २००६ देखि २०११ सम्म ग्लोबल अस्पतालको अध्यक्ष तथा प्रबन्ध निर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए । कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा सरोज खड्का कार्यरत छन् ।

डाइपर उत्पादनले बदलिँदो व्यावसायिक स्वरूप
विराट हेल्थकेयरको व्यावसायिक विस्तारमा डाइपर उत्पादनको प्रवेश महत्त्वपूर्ण कदम बनेको छ । आफ्नै उद्योगबाट डाइपर उत्पादन सुरु गरेपछि कम्पनीको उत्पादनको दायरा मात्र बढेको छैन, उत्पादन व्यवस्थापन र लागत संरचनामा समेत परिवर्तन आएको छ । यसले तेस्रो पक्षका उत्पादकबाट वस्तु खरिद गर्नुपर्ने निर्भरता घटाउँदै आफ्नै उत्पादन क्षमताको उपयोग गर्ने अवसर दिएको छ ।
यसको प्रभाव कम्पनीको सञ्चालन मुनाफामा पनि देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा २.५९ प्रतिशत रहेको ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको सञ्चालन मुनाफा अनुपात आर्थिक वर्ष २०८२/८३ मा बढेर ९.७८ प्रतिशत पुगेको छ । बिक्री परिमाणमा वृद्धि, वस्तुको बिक्री मूल्यमा सुधार र आफ्नै उद्योगबाट उत्पादित सामग्रीको योगदान बढ्नुले मुनाफा सुधारमा सहयोग गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको सञ्चालन मुनाफा अघिल्लो आर्थिक वर्षको १ करोड २० लाख रुपैयाँबाट बढेर गत आर्थिक वर्षमा ६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, अघिल्लो वर्ष खुद घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कुल नगद सञ्चिति पनि अघिल्लो वर्षको नगद घाटाको अवस्थाबाट सुधार हुँदै १ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
कारोबार र उत्पादनको दायरा विस्तार हुँदै जाँदा विराट हेल्थकेयरका लागि कार्यशील पुँजी व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको छ । विभिन्न प्रकारका सामग्री उत्पादन तथा बिक्री गर्नुपर्ने भएकाले कम्पनीले बजारको मागअनुसार कच्चा पदार्थ र तयारी वस्तुको पर्याप्त मौज्दात राख्नुपर्ने हुन्छ । डाइपर उत्पादन सुविधा सञ्चालनमा आएपछि यस्तो आवश्यकता थप बढेको छ ।
यसको असर कम्पनीको वस्तु भण्डारण अवधिमा देखिएको छ । अघिल्लो वर्ष ७४ दिन रहेको भण्डारण अवधि बढेर १५५ दिन पुगेको छ । आफ्नै उद्योगबाट डाइपर उत्पादन सुरु गरेपछि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तथा तयारी वस्तुको मौज्दात बढाउँदा भण्डारण अवधि लम्बिएको जनाएको छ ।
प्रतिस्पर्धात्मक बजारमा आफ्ना उत्पादनको बिक्री बढाउन कम्पनीले विशेषगरी वितरकलाई उधारोमा वस्तु उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८२/८३ मा ग्राहकबाट भुक्तानी सङ्कलन गर्न लाग्ने औसत अवधि करिब १०८ दिन रहेको छ । एकातिर ठूलो परिमाणमा वस्तु मौज्दात राख्नुपर्ने र अर्कोतिर बिक्री भएको रकम उठ्न लामो समय लाग्ने भएपछि कम्पनीको कार्यशील पुँजी चक्र लम्बिएको हो ।
दैनिक व्यावसायिक सञ्चालनका लागि आवश्यक रकम जुटाउन कम्पनीलाई बैंक तथा वित्तीय संस्थाको ऋणमा निर्भर बनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ । यसमध्ये ५२ करोड ५४ लाख रुपैयाँ दीर्घकालीन र ९७ करोड ४५ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । यसअघि कम्पनीको कुल ऋण १ अर्ब ३ करोड ६४ लाख रुपैयाँ थियो ।
चीनबाट आयातित कच्चा पदार्थ र डलरको जोखिम
विराट हेल्थकेयरको अर्को चुनौती कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव हो । कम्पनीले उत्पादनका लागि आवश्यक अधिकांश कच्चा पदार्थ चीनबाट आयात गर्दै आएको छ । आयातित कच्चा पदार्थको मूल्य बजारमा आधारित हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य परिवर्तन हुँदा कम्पनीको उत्पादन लागतमा सीधा असर पर्न सक्छ ।
गत आर्थिक वर्षमा कम्पनीको कुल सञ्चालन आम्दानीमा कच्चा पदार्थको लागतको हिस्सा करिब ७७ प्रतिशत रहेको छ । यसले कम्पनीको लागत संरचनामा कच्चा पदार्थको ठूलो हिस्सा रहेको देखाउँछ । त्यसमाथि आयातित कच्चा पदार्थको मूल्य अमेरिकी डलरमा आधारित हुने भएकाले विदेशी मुद्रा विनिमय दरको जोखिम पनि कम्पनीले बेहोर्नुपरेको जनाएको छ ।