याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग
काठमाडौं । होटल सङ्घ नेपाल (हान) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ । हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको हानको गतिविधिबारे अवगत गराएकी थिइन । कुनै पनि व्यक्ति वा संस्थाले कानुनले निर्धारण गरेको राजस्व, कर तथा शुल्क राज्यलाई बुझाउनुपर्ने कर्तव्यबाट विमुख हुन नहुने भन्दै उनले राज्यले तोकेको राजस्व तथा शुल्कको नियमसङ्गत हुने विषयमा समर्थन रहेको बताईन । नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको पाँचतारे होटल याक एण्ड यतीको इजाजत खारेजीबारे ध्यानाकर्षण गराउँदै अध्यक्ष राणाले यसबाट श्रमिक, कर्मचारीको पारिश्रमिक तथा करारअन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा–सुविधा उपलब्ध गराउन समस्या रहेको बताईन । राज्यको कानुनसङ्गत नियम पालना गराउने मामलामा हानको सहयोग रहने तर होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पु¥याएको योगदानको कदर गर्दै होटलजस्तो ठूलो लगानी भएको प्रतिष्ठानले अर्थतन्त्रमा पु¥याएको योगदानको कदर हुनुपर्नेमा उनको जोड थियो ।
गौतमबुद्ध विमानस्थलमा फागुन ६ गतेदेखि १५ गतेसम्म ‘क्यालिब्रेसन फ्लाइट’ हुने
काठमाडाैं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको छ । एरो थाइको जहाज फागुन ५ गते काठमाडौँस्थित त्रिभुवन अन्तरराष्टिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौंबाट भैरहवाका लागि उडान भरेर उडान गर्ने जनाइएको छ । गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायुसेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । परीक्षण उडान पश्चात यो विमानस्थमा व्यवसायिक उडान गर्ने तयारी गरिएको छ । रासस
बुद्ध एयरले पोखरादेखि धनगढी र जनकपुरमा पनि उडान गर्ने
काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखरादेखि धनगढी र जनकपुरमा पनि उडान गर्ने भएको छ । बुद्धले आगामी मार्च १ तारिखदेखि पोखराबाट सो गन्तव्यमा सिधा उडाड गर्न लागेको हो । शुरुमा साताका ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्धले जनाएको छ । जनकपुरधाम र पोखरा साताको ३ दिन सोमबार, बिहिबार र शनिवार र त्यसैगरि धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबारको उडान तालिका सार्वजनिक गरेको छ । सिधा उडानबाट अनावश्यक झन्झटको साथै यात्रुहरुको समय पनि वचत हुने जनाईएको छ । यस्तै, सो दुई गन्तव्यका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले आकर्षक प्याकेज समेत सार्वजनिक गरेको छ । यसअघि बुद्धले पोखरादेखि नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमराका साथै बिराटनगरमा प्रादेशिक उडान सञ्चालन गर्दै आएको छ ।