काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले हवाई यात्राका क्रममा हुनेगरेको पीसीआर परीक्षण र सीसीएमसीको फर्म हटाउन आग्रह गरेको छ । संघले बिहीबार प्रधानमन्त्री शेरवहादुर देउवालाई पत्र पठाउँदै पीसीआर परीक्षण र सीसीएमसी फर्म भर्नुपर्ने प्रावधान हटाउन आग्रह गरेको हो ।
छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य यूरोपियन मुलकहरुले समेत हवाईयात्राका लागि अनिवार्य गरिएको पीसीआर परीक्षणको हटाईसकेको भन्दै संघले नेपालमा समेत हटाउन माग गरेको हो ।
‘विगत केही समययता विश्वभरि नै कोरोना संक्रमण दर निकै घट्दो क्रममा छ । स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताहरुले समेत अब आउने दिनहरुमा कोरोनाको प्रभाव स्वतः कम हुँदै जाने आंकलन गर्दै यसअघि लगाईएका प्रतिबन्ध खुकुलो बनाइसकेका छन् । अन्तर्राष्ट्रिय संस्था आएटाले समेत पीसीआर परीक्षण र आइसोलेशनमा लाग्ने ठूलो खर्चलाई विस्थापित गरि खोपमा लगाउन आग्रह गरिसकेको छ,’ संघले प्रधानमन्त्री कार्यालयमा पठाएको पत्रमा भनिएको छ ।