होटल याक एण्ड यतिको इजाजत रद्द
काठमाडौं । काठमाडौंमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै उक्त होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ । सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा सो इजाजत रद्द गरिएको हो । बुधबार याक एण्ड यति होटल लिमिटेड, दरबारमार्गको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको मन्त्री आलेले जानकारी दिए। नेपाल सरकारले विसं २०४८ पुस २२ गते उक्त होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो । नेपाल सरकारलाई तिर्नु, बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम कानून बमोजिम होटलले दाखिला नगरेका कारण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कसिएको तथा यस विभागको अभिलेखमा आर्थिक वर्ष २०७६–०७७ सम्मको बँकी बक्यौता आर्थिक वर्ष २०७७–०७८ को इजाजतपत्र नवीकरण दस्तुर, आव २०७८–०७९ को रोयल्टी दस्तुर समेत गरी ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा नबुझाएकाले कानुनअनुसार क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको मन्त्री आलेले बताए । पर्यटन विभागले यो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहयोग गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उक्त होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन पनि पत्राचार गरिएको छ । त्यस्तै राष्ट्र बैंकलाई उक्त होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन समेत अनुरोध गरेको छ । बाँकी बक्यौता दाखिला गर्न गत कात्तिक ७ मा ३५ दिने र मिति २०७८ पुस २७ गते १५ दिने अवधि तोकी पत्राचार गरिएको थियो । उक्त रकम दाखिला नगरेको देखिएकाले यही माघ १९ गतेको गोरखापत्रमा ७ दिनभित्र क्यासिनो सञ्चालन बापतको रोयल्टी लगायतका रकम दाखिला गर्न सूचना प्रकाशन गर्दा पनि तोकिएको अवधिभित्र दाखिला नगरेकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम त्यस होटलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटलको पाँच तारा स्तरको वर्गीकरण प्रमणपत्र रद्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय गरिएको हो । विभागले बुधबारै उक्त होटललाई होटल तथा क्यासिनो सञ्चालन नगर्न नगराउन सूचना पनि पठाइएको जनाएको छ ।
ताप्लेजुङमा एक सातादेखि उडान अवरुद्ध
फुङ्लिङ । ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण यहाँको सुकेटार विमानस्थलमा सातादेखि उडान अवरुद्ध भएको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै उडान निरन्तर अवरुद्ध भएको हो । यसअघि गएको शुक्रबार र सोमबार उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । लिम्बूका अनुसार गएको शुक्रबार र सोमबार विमानस्थलमा भारी हिउँ थुप्रिएपछि उडान अवरुद्ध बनेको थियो । आज उडान अवरुद्ध बनेपछि काठमाडौंका लागि टिकट लिएका १४ जना यात्रु रोकिएका छन् । काठमाडौंदेखि ताप्लेजुङ आउन लागेका १२ जना यात्रु पनि उतै रोकिएका स्टेसन इन्चार्ज लिम्बूले बताए । सुकेटारमा हिमपातसँगै प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा पटक–पटक उडान अवरुद्ध हुँदै आएको नेपाल वायु सेवा निगमका ताप्लेजुङले जनाएको छ । निगमले सुकेटर विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार उडान सञ्चालन गर्दै आएको छ । बाक्लो हुस्सुसहित मौसम धुम्मिएकाले चिसोका कारण जिल्लाको जनजीवनसमेत प्रभावित बनेको छ । यसअघि पहिलो पटक हिमपात हुँदा पनि यहाँको उडान अवरुद्ध बनेको थियो । यस्तै सीता एअरलाइन्सको उडान पनि अवरुद्ध भएको ताप्लेजुङका सम्पर्क व्यक्ति श्रीप्रसाद खड्काले जानकारी दिए । आज बिहानको ताप्लेजुङको न्यूनतम् तापक्रम भने ५.४ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयले जनाएको छ । रासस
इलामको फाल्गुनन्द विमानस्थलमा निगमको परीक्षण उडान
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको छ । बुधबार निगमको टीवनअटर विमानले काठमाडौंबाट ९ः०५ बजे उडेर इलाममा १०ः०२ मा अवतरण गरेको थियो । परीक्षण उडानको अवतरण प्रतिवेदन तयार भएर नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि नियमित उडान गर्ने एयरलाइन्सले जानकारी दिएको छ । निगमले संस्कृति, पर्यटन तथा नागरिक उडड्यम मन्त्री प्रेमवहादुर आलेको विशेष निर्देशनमा सो विमानस्थलमा परीक्षण उडान गरिएको जनाएको छ ।