काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा आजदेखि (शुक्रबार) यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सुरु हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो ।
प्राधिकरणले ‘क्यालिब्रेसन फ्लाइट’ को जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) लाई दिएको छ । एरो थाइको जहाज फागुन ५ गते काठमाडौंस्थित त्रिभुवन अन्तरराष्टिय विमानस्थलमा अवतरण गरिसकेको छ । काठमाडौंबाट भैरहवाका लागि उडान भरेर उडान गर्ने जनाइएको छ ।
आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने छ । परीक्षण उडानको क्रममा अन्य उडानहरु प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलको प्राविधिक परीक्षण गर्न चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली बिहीबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त टोली बिहीबार साँझ नै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसकेका छन् । टोलीले विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणको सही ढंगले काम गरे/नगरेको जाँच गर्ने छ ।
गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । परीक्षण उडान पश्चात यो विमानस्थमा व्यवसायिक उडान गर्ने तयारी गरिएको छ ।
सरकारले आगामी बुद्ध पूर्णिमा (२ जेठ) देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।