काठमाडाैं । तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ । विमानस्थलको धावनमार्ग सम्पन्न भएपछि एयरलाइन्सले आज (बुधबार)बाट व्यवसायिक उडान भरेको हो ।
तारा एअरको नाईन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको थियो । तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले बताए । उनले विमानस्थल निरन्तर उडानका लागि प्रतिवद्ध रहेको समेत बताए ।
प्रमुख कार्यकारी अधिकृत रिमालले भने, ‘कमर्सियल फ्लाइट आजबाट शुरु भएको छ, त्यसलाई निरन्तरता दिनेछौँ । तपाईहरुको उपस्थिति, जहाज आउँदाको उत्सुकता देखेँ मलाई झनै प्रतिवद्ध हुने उत्सुकता आयो । इलामवासीको साथ र सहयोग भए निरन्तर उडान भर्न सकिन्छ ।’
त्यस्तै तारा एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विभिन्न पर्यटन व्यवसायी, पर्यटन बोर्ड र इलाम नगरपालिकाको सहकार्यमा मात्र उडान सफल भएको बताए । उनले आगामी दिनमा निरन्तर उडान भर्नका लागि अध्ययन भइरहेको र इलामवासीले सहयोग गरेर निरन्तर उडानलाई सहजता प्रदान गर्ने विश्वास रहेको बताए । अबका दिनमा सो विमानस्थलमा आईतबार र बिहीबार दुई दिनको लागि उडान तालिका बनाएको पनि जानकारी दिए ।
पहिलो व्यवसायिक उडानमा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाई, होटल एशोसिएशनका उपाध्यक्ष विनायक शाह सहितको पर्यटन व्यवसायी लगायत यात्रु तथा तारा एअरका प्राविधिक टोली गरी १४ जना सहभागी थिए ।