मुग्लिन-पोखरा सडक : धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती
गण्डकी । मुग्लिन-पोखरा सडक खण्ड पर्यटकीय नगरी पोखरा भित्रने मुख्य प्रवेशद्वार हो । यहाँ पछिल्लो समय चार लेनको बनाउने गरी सडक विस्तार र स्तरोन्नति हुँदैछ । संघीय राजधानी काठमाडौँ र गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने उक्त सडक विस्तार र स्तरोन्नतिको काम एसियाली विकास बैंकको आर्थिक सहयोगमा मुग्लिन-पोखरा सडक सुधार आयोजनाअन्तर्गत भइरहेको छ । सुस्त गतिमा काम अघि बढ्दा सडक आसपासका व्यवसायी तथा सर्वसाधारण दिक्क छन् । पोखरा आउजाउ गर्ने यात्रुपनि सडकको धुलो र हिलोले हैरान छन् । सडकमा पानी पर्दा हिलो तथा अरु बेला धुलो नै धुलो हुन्छ । ठाउँ ठाउँमा पहिराका कारण यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् । पोखरा–काठमाडौंको पाँच घण्टाको यात्रा १०-१२ घण्टासम्म लम्बिने गरेको छ । सडक स्तरोन्नति सुस्त गतिमा हुँदा पोखराको पर्यटन व्यवसाय प्रभावित बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायाण श्रेष्ठ बताउँछन् । विगतमा कोभिड–१९ लगायत कारणले थलिएको पोखराको पर्यटन व्यवसाय पोखरा–मुग्लिन सडकको अवस्थाले झन थला परेको उनले बताए । ‘सडकको काम समयमै सम्पन्न गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ’, उनले भने– ‘चाँडो काम सम्पन्न गर्ने व्यवस्था मिलाएर आवतजावत सहज बनाउनुपर्छ ।’ थलिएको पर्यटन विस्तारै अघि बढे पनि मुग्लिन–पोखरा सडक खण्डका कारण समस्या भएको अध्यक्ष श्रेष्ठ बताउँछन् । सडक स्तरोन्नति र विस्तार आवतजावतलाई असर नगर्ने ढंगले गर्नुपर्ने उनको भनाइ छ । पोखरा–मुग्लिन सडक खण्डलाई आँबुखैरेनी र जामुने तथा जामुने–पोखरा गरी दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ । आँबुखैरेनी–जामुने खण्डमा हालसम्म ३१ प्रतिशत र जामुने–पोखरा खण्डमा आठ प्रतिशतमात्र काम भएको छ । विदेशी तथा स्वदेशी पर्यटक घण्टौँ सडकमा बस्न बाध्य छन् । सडककै कारण बिरामी र अशक्त यात्रुलाई समस्या भएको अध्यक्ष श्रेष्ठले बताए । सम्झौता अनुसार उक्त सडक खण्डको स्तरोन्नति अबको आठ महिनामा सम्पन्न गर्नुपर्ने छ । दुई वर्षमा आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा ३१ प्रतिशतमात्रै काम भएको छ । जामुनेदेखि पोखरासम्मको खण्डमा आठ प्रतिशत काम भएको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअघि मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा अटाइएकामा अब मुख्य बजारमा काम थालिने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । यस खण्डमा पाँच सय पाँच घरटहरा भत्काउनुपर्नेमा हालसम्म तीन सय ५० घरटहरा भत्काइसकिएको छ । घरटहरा भत्काउँदा रु २६ करोड मुआब्जा निर्धारण भएकामा हालसम्म रु १७ करोड ५० लाख मुआब्जा वितरण गरिएको उनले बताए । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्र गर्न थालिएको छ । झण्डै ४२ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यसको म्याद २०८१ वैशाखसम्म रहेको प्रमुख सुवेदीले बताए । विसं २०२६ मा रेखांकन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा चार लेनको बनाउन थालिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाखमा तथा पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा गरिएको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको हो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ भदौसम्म रहेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५र२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । काम ढिलाइले अर्थतन्त्र मारमा निर्माणधीन सडक खण्डको ढिलाइले समग्र अर्थतन्त्र मारमा पारेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बताउँछन् । काम सन्तोषजनक नदेखिएको उल्लेख गर्दै उनले यसप्रति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । मुग्लिन पोखरा सडकखण्डको कामको ढिलाइका कारण बन्दीपुरको पर्यटन व्यवसाय प्रभावित बन्न पुगेको क्षेत्रीय होटल सङ्घ बन्दीपुरका सभापति संगीता प्रधानले बताउँछन्। उनले भने, ‘चितवनबाट आउने पर्यटक मुग्लिनबाटै काठमाडौँ फर्किनुहुन्छ । बाटोकै कारण बन्दीपुरमा पर्यटकको आगमन घटेको छ । यहाँका व्यवसायी मारमा परेका छन् ।’ धुलाम्य र हिलाम्य बाटोका कारण पर्यटक बन्दीपुर उक्लिन गाह्रो मान्ने गरेको अवस्था रहेको उल्लेख गर्दै प्रधानले पोखरा आएका पर्यटक सडकमार्ग भन्दा हवाईमार्गबाट काठमाडौँ जाने गरेका बताए। उनले भने, ‘सडक राम्रो हुन्थ्यो भने बन्दीपुर आएर एकरात भए पनि पर्यटक बस्ने अवस्था थियो । बन्दीपुरको मुख्य व्यवसाय होटल पर्यटन भए पनि अहिले हामी मारमा छौँ ।’ तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष बैकुण्ठनाथ मिश्र सडक धुलाम्य र जलाम्य हुँदा ज्यानै जान सक्ने खतरा रहेको बताउँछन् । उनले भने, ‘काम सुस्त छ, प्रदूषणले गर्दा ज्यानै जान सक्ने खतरा बढेको छ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।’ मिश्रले राजमार्गकै कारण व्यापार व्यवसाय चौपट भएको गुनासो गरे । तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले एउटै सडकमा तीनथरी मापदण्डले सबैमा अन्योल रहेको बताए । उनले भने, ‘सडक फराकिलो हुने कुरामा सबै खुसी छौँ, काममा ढिलाइ भइरहेको छ । तर मापदण्ड एउटै छैन । यसले अन्योलता बढायो ।’ तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले सडकको काम तीव्र गतिमा गर्नका लागि आयोजनालाई ध्यानाकर्षण गराइएको बताए । मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले काम सन्तोषजनकरुपमा भइरहेको बताए । उनका अनुसार हालसम्म ३२.५ प्रतिशत भौतिक प्रगति भएको छ । भदौदेखि कालोपत्रको काम सुरु गर्न निर्माण कम्पनीले सबै व्यवस्थापन गरिसकेको उनको भनाइ छ । उक्त खण्डमा १४ साना पुल सम्पन्न भइसकेका छन् । तीन वटा निर्माणको चरणमा छन् । बजार क्षेत्रमा छ तथा अन्यत्र चार लेनको सडक बनाउने योजना छ । जिल्लाका विभिन्न पालिका प्रमुखले आयोजनाको काममा सहजीकरण गर्दैआएको बताएका छन् । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले कामको गति सुस्त हुनुमा ठेकेदारको कमजोरी रहेको बताए। शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडकको कामको गति बढाउनुपर्ने बताए। म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले काममा ढिलाइ गर्नेलाई कारबाही र छिटो गर्नेलाई पुरस्कारको व्यवस्था गरिनुपर्ने बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सडक निर्माणको ढिलाइले प्रदेशको अर्थतन्त्रमा असर पुगेको र त्यसबाट बन्दीपुरको पर्यटन क्षेत्र पनि प्रभावित बन्न पुगको बताए । रासस
सिम्रिकले तिर्याे ५५ लाख बक्यौता
काठमाडौं । सिम्रिक एयर नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) लाई बक्यौता रकम भुक्तानी गरेको छ । लामो समयदेखि बक्यौता रकम भुक्तानी नगरेको भन्दै प्राधिकणले सिम्रिक एयरको जहाज नै ग्राउण्डेड गरेपछि कम्पनीले ५५ लाख १२ हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले उक्त रकम आइतबार बुझाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शुक्रबारदेखि कम्पनीका सबै उडानमा प्रतिवन्ध लगाएको थियो । बक्यौता रकम भुक्तानी नगरेको तथा प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडानमा रोक लगाईएकोे प्राधिकरणले जनाएको थियो । सिम्रिकले बक्यौता रकम भुक्तानी गरेसँगै कम्पनीमाथि लगाईएको उडान प्रतिबन्ध फकुवा भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उनका अनुसार कम्पनीले कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाडौंबाहिरका ३१ वटा विमानस्थललाई बुझाउनुपर्ने ल्यान्डिङ पार्किङ, एयर नेभेगिसनलगायत शुल्क पटक पटक ताकेता गर्दा पनि भुतानी गरेको थिएन ।
कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द
जाजरकोट । सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ । मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको हो । बिहानै मौसम नखुल्ने तर दिउँसो १२ बजेपछि उडान गर्न नपाउने गरी नेपाल नागरिक उड्यन प्राधिकरणले यही साउन १३ गते गरेको निर्णयले कर्णालीमा हवाई उडान रोकिएको छ । हवाई मार्ग रोकिए पछि हिमाली जिल्लाबाट उपचार तथा अन्य कामका लागि नेपालगन्ज तथा सुर्खेत झर्ने यात्रु मर्कामा परेका छन् । नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट, मुगुको ताल्चा र बाजुरामा पनि उडान बन्द भएको छ । त्यस्तै कालिकोट र डोल्पाको मसिनेचौरमा निर्माण भएको विमानस्थलमा अहिलेसम्म जहाजको अवतरण हुनसकेको छैन । वर्षायाममा सडक अवरुद्ध भएकाले बिरामी लैजान सबैभन्दा बढी समस्या हुने भएको सर्वसाधारणले बताए । मुगुको सोरु गाउँपालिका–८ पानमती रावलको सात महिनाको गर्भ छ तर उनलाई उपचारका लागि नेपालगञ्ज पुग्न निकै सकस परेको छ । रावलले नेपालगञ्ज जानका लागि आठ दिनसम्म रारा विमानस्थलमा जहाजको पर्खाइमा बिताइन् । त्यस्तै सोरु–८ कै सनिता शाहीले पनि जहाजका लागि विमानस्थलमा जहाज कुर्दा कुर्दा नौ दिन बित्तेको बताइन् । उनलाई बुबाको उपचारका लागि काठमाडौँमा समय मिलाउनुपर्ने बाध्यता छ तर जहाज नआउँदा बुबाको स्वास्थ्य समस्या थपिँदै गएको छ । कर्णालीका जिल्लामा अझै पनि भरपर्दो सडक नभएकाले हवाई मागको बिकल्प खोजिनुपर्नेमा डोल्पाका ठूलिभेरीस्थित जुफालका बालकृष्ण डाँगीले बताए । जुफाल विमानस्थलमा दैनिक जहाजको पखाइँमा ५० भन्दा बढी यात्रु आउने गरे पनि जहाज नआउँदा समस्या हुँदै गएको उनले बताए । प्रविधिको प्रयोग लाइफ क्यामरा, मेट्रोलोजीयन्त्रलगायत प्रविधिको विकासमामा ध्यान नदिई वर्षातको कारण देखाउँदै हवाई उडान बन्द गर्नु नेपाल नागरिक उड्डयन प्राधिकरणको गैर जिम्मेवार भएको पर्यटन व्यवसायीको आरोप थियो । हुम्लामा यातायात सेवा अझैँ जोडिएको छैन । डोल्पाको भेरी नदीमा पुल निर्माण नभएका कारण सहजरुपमा यात्रा असम्भव जस्तै छ । ठूलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले ६ दिनसम्म नेपालगन्ज विमानस्थल जहाज कुरेर अन्तिममा भेरी करिडोर हुँदै डोल्पा पुग्नुपरेको बताए । नेपालगन्जबाट डोल्पा पुग्दा भारी मात्रामा दुःख भएको उनको भनाइ थियो । उपल्लो डोल्पास्थित डोल्पोबुद्ध–३ याङ्की गुरुङले सात दिन जुफाल विमानस्थलमा कुर्दा पनि जहाज नआउदा आमाको उपचार गर्न नपाएको गुनासो गरिन् । स्थलमार्ग हुँदै नेपालगन्ज जाँदा तीन दिन लागेको र दुःख धेरै पाइएको उनले बताइन् । दुर्गम जिल्लामा बिहान मौसम नखुल्ने र मौसम खुल्ने समयमा विमान सञ्चालन नहुने भएकाले यहाँका रारा ,जुफाल र ताल्चा विमानस्थलका लागि यो निर्णय उपयुक्त नभएको रारा विमानस्थलका प्रमुख रोमन भट्टराईले बताए । उनका अनुसार बिहान हुस्सु लाग्ने र ११ बजे मौसम खुल्ने भएकाले हवाई उडान भर्न समस्या हुँदा यहाँका नागरिक मर्कामा परेका छन् । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सरकारले जनताको हितका लागि प्रतिकूल हुने नीतिगत व्यवस्थालाई सुधार गर्दै जानुपर्नेमा जोड दिए । ‘प्राधिकरणको यो निर्णयले त कर्णालीवासीको जिउधनको सुरक्षा गर्नेभन्दा पनि थप जटिलता थपेजस्तो भएको छ । यसलाई समन्वय गरी उपयुक्त निर्णयमा पुग्नुपर्छ,’ उनले भने । रासस