भक्तपुरमा एक वर्षमा १ लाख ६७ हजार पर्यटक भित्रिए
भक्तपुर । कोरोना भाइरस संक्रमणका कारण करिब ३ वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा संकटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकमा आगमन भएको छ । भ्रमणका लागि आएको विदेशी पर्यटकले भक्तपुर नगरपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकन गरेका हुन् । कोरोना महामारीपछि यस वर्ष भक्तपुरमा विदेशी पर्यटक घुम्न आउनेको संख्यामा उल्लेख्य वृद्धि भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । कोरोना महामारीको समयमा सामान्य रुपमा मात्र आउने पर्यटक यस वर्ष निकै बढेकाले अचेल भक्तपुर नगरमा दैनिक पर्यटकको चहलपहल बढ्दै गएको उनले बताए । उनका अनुसार यो एक वर्षमा भक्तपुर घुम्न आएको पर्यटकमध्ये ८६ हजार तीन सय ३४ जना दक्षिण एसियाली मुलुकका र ८१ हजार तीन सय १८ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्र र चीनका पर्यटक छन् । यसै आर्थिक वर्षमा पर्यटन शुल्कबाट १८ करोड ४० लाखभन्दा बढी संकलन भएको उनले जानकारी दिए । जसमध्ये गैरसार्क राष्ट्रका पर्यटकबाट १४ करोड ३४ लाख र सार्क राष्ट्र र चीनका पर्यटकबाट ४ करोड ६ लाख पर्यटन शुल्क संकलन भएको छ । आव २०७८/७९ मा भने ५३ हजार ५६० जना पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । जसमध्ये गैरसार्क राष्ट्रका २२ हजार ८७ जना र सार्क राष्ट्र एवं चीनका ३१ हजार चार सय ७३ जना पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । आव २०७८/२०७९ मा चार करोड ८९ लाख मात्रै पर्यटन शुल्क संकलन भएको थियो । जसमा गैरसार्क पर्यटकबाट तीन करोड २७ लाख र सार्क राष्ट्र एवं चीनका पर्यटकबाट एक करोड ५७ लाख ३६ हजार पाँच सय मात्रै पर्यटन शुल्क संकलन भएको थियो । आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा भक्तपुर नगरपालिका क्षेत्रका सम्पदा अवलोकन गर्न आउने पर्यटकको संख्यामा एक लाख १४ हजार ९२ जना वृद्धि भएको नगरप्रमुख प्रजापतिले जानकारी दिए । भक्तपुर आगमनमा वृद्धि भएका पर्यटकको संख्यामध्ये गैरसार्कबाट ६४ हजार दुई सय ४७ जना र सार्क एवं चीनका ४९ हजार आठ सय ४५ जना पर्यटक रहेका छन् । त्यस्तै आव २०७८/७९ को तुलनामा यस आव २०७९/८० मा १३ करोड ३१ लाख ३६ हजार चार सयले पर्यटन शुल्कबाट वृद्धि भएको छ । भक्तपुर नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्यांकअनुसार आव २०७९/८० मा अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक, डेनमार्क, इग्ङ्ल्याण्ड, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हल्याण्ड, हङ्गेरी, आइसल्याण्ड, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापानी, मलेसिया, मेक्सिको, न्युजिल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिङ्गापुर, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की र अन्य देशलगायतका पर्यटकले भक्तपुर भ्रमण गरेका छन् । भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठूलोब्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाति, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकसँग पर्यटन शुल्क संकलन गर्दै आएको छ । नगरपालिकाका प्रहरी एवं कर्मचारीले शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकलाई तुरुन्तै नियन्त्रणमा लिइ शुल्क तिर्न लगाउने गर्दै आएको छ । भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकसँग प्रतिपर्यटक १ हजार ५ सयलाई वृद्धि गरी १ हजार ८ सय रुपैयाँ कायम गरी शुल्क संकलन गर्दै आएको छ भने सार्क तथा चिनियाँ पर्यटकसँग ५ सय रुपैयाँ शुल्क संकलन गर्दै आएको छ । नगरपालिकाले सार्क तथा चिनियाँ पर्यटकलाई भने भक्तपुर भ्रमणमा छुटको व्यवस्था गर्दै कम शुल्कमा भक्तपुरको अवलोकन गर्न पाउने व्यवस्था गरेको छ । नगर प्रमुख प्रजापतिले पर्यटकबाट संकलन हुने पर्यटन सेवा शुल्क नै नगरपालिकाको मुख्य आयस्रोत भएको बताउँदै भक्तपुर नगरपालिकाले पर्यटकबाट उठेको शुल्कबाट भक्तपुरको सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्ने कार्यमा खर्चिंदै आएको बताए । नेपाल भ्रमणमा आएका पर्यटकलाई भक्तपुर एकपटक पुग्नैपर्ने गन्तव्य स्थलका रुपमा विकास गर्न नगरपालिकाले पर्यटन प्रवर्धनमा विशेष जोड दिँदै आएको उनको भनाइ छ । भक्तपुर नगर क्षेत्रमा हाल दैनिक औसतमा ४ सयदेखि ५ सयको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । भक्तपुर नगरपालिकाले पर्यटकलाई लक्षित गरी पर्यटक सूचना केन्द्र, पर्यटक बसपार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर वितरण, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रुपमा अशक्त पर्यटकका लागि ह्विल चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामका लागि बस्ने सुविधाको व्यवस्था गरेको केन्द्रका कर्मचारी मुरज दिदियाले जानकारी दिए । हाल भक्तपुर नगरपालिकाको पर्यटक सूचना तथा सेवा केन्द्रमा ३६ जना कर्मचारी कार्यरत रहेको र नगरपालिकाले स्थानीय पथप्रदर्शक परिचालन समिति बनाएर स्थानीय ‘टुरिष्ट गाइड’लाई आवश्यक तालिम दिइ व्यवस्थापन गर्दै आएको छ । नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा पहिलो र दोस्रो कार्यकालमा गरी २०७२ सालपछि हालसम्म ३४ वटाभन्दा बढी सम्पदाको पुनर्निर्माण एवं जीर्णोद्धार गरिसकेको छ भने थुप्रै सम्पदाको पुनर्निर्माण र जीर्णोद्धार जारी रहेको नगर प्रमुख प्रजापतिले जानकारी दिए । नगरपालिकाले समय-समयमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, प्रभातकालीन सम्पदा पदयात्रा, स्थानीय पथप्रदर्शकलाई तालिम तथा परिचालन गर्दै आएको छ । भक्तपुरको कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षण गर्ने समूहलाई आर्थिक सहयोग र सांस्कृतिक गुरुको सम्मान कार्यक्रम आयोजना गर्दै आएको नपाले सांस्कृतिक प्रदर्शनी केन्द्र निर्माण गर्ने तयारी गरेको छ । पर्यटन गतिविधि बढाउन सांस्कृतिक कार्यक्रमसहित योमरी प्रदर्शनी, प्रगतिशील भजन प्रतियोगिता, स्थानीय उत्पादनलाई प्रवर्धन गर्न घरेलु उत्पादन मेला, गाईजात्रामा सांस्कृतिक प्रतियोगितालगायतका गतिविधि गर्दै आएको छ । रासस
झोलुङ्गे पुलले बागलुङमा पर्यटक बढाउँदै, दैनिक १ हजार पर्यटक घुम्न आउने
ढोरपाटन । हिउँद होस् या बर्खा । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल खाली नै हुँदैन । कालिगण्डकी नदिमाथि निर्माण भएको विश्वकै लामो भनेर जिकिर गरिएको झोलुङ्गे पुलमा पछिल्लो समय दैनिक पर्यटकको आगमन बढ्दै बढ्न थालेको छ । पुल सञ्चालनमा आएको तीन वर्ष भयो । यो अवधिमा लाख बढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ आएको स्थानीयवासीको अनुमान छ । कोभिड–१९ सङ्क्रमणका बेला सञ्चालनमा आएको पुल अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । नजिकै प्रसिद्ध बागलुङ कालिका मन्दिर, छेउमै कालीगण्डकी नदी, केहीमाथि धार्मिक पर्यटकीयस्थल पञ्चकोट र शालिग्राम सङ्ग्रहालय रहेको हुँदा पछिल्लो समय बागलुङमा धार्मिक पर्यटकको आवागमन बढेको हो । तीन वर्ष अगाडिसम्म यहाँ आउने पर्यटकको सङ्ख्या साह्रै न्यून थियो तर अहिले हरेक दिन बागलुङ बजारमा पर्यटकको चहलपहल बढेको छ । पहिले अधिकांश पर्यटक बागलुङ कालिका मन्दिरसम्म आएर फर्कने गर्थे भने अहिले लामो झोलुङ्गे पुलले गर्दा बजार हुँदै पञ्चकोटसम्म पु¥याउने गरेको छ । पुल सञ्चालनमा आएपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका छन् । झोलुङ्गे पुलका कारण बागलुङसहित पर्वत र म्याग्दीमा पनि पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अहिले लामो पुलमा बालबालिकादेखि युवायुवती र बूढापाकाको भीड हुने गरेको छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या पनि निकै ठूलो देखिन्छ । अझ बिदाको दिन सयौँले पुल अवलोकनका साथै वारपार गर्ने गरेका छन् । हरेक दिन जिल्लामा पर्यटकको सङ्ख्या बढ्दै गएपछि कोभिडका कारण थला परेका जिल्लाका होटल व्यवसायीलाई यतिबेला भ्याइनभ्याइ छ । पर्यटकीय क्षेत्रको तीव्र प्रचार र सही व्यवस्थापन हुँदा पर्यटकको भित्रिने सङ्ख्या पनि बढ्दै गएको हो । पहिले यहाँ भारतीय पर्यटक निकै कम आउने गरेकामा अहिले दैनिकजसो पुल तर्नका लागि आउने गरेका छन् । भारतको चण्डिगढबाट घुम्न आएका पोकस चौधरीले यहाँको वातावरण, मन्दिर र लामो झोलुङ्गे पुल निकै रमणीय रहेको बताए । परिवारसहित मुक्तिनाथ दर्शनका लागि आएका उनले बागलुङका बारेमा धेरै पटक सुनेको हुँदा यसपालि घुम्न आएको बताए । ‘मुक्तिनाथ तीन पटकसम्म आएँ, मुक्तिनाथ जाने बेला गाडीबाट आकाशमाथि झोलुङ्गे पुल देखेको थिएँ, यहाँ आउन पहिलेदेखि नै मन लागेको थियो, विभिन्न कारणले आउन पाइएको थिएन, अहिले परिवारसहित आएको बेला पुल तरियो, कालिका मन्दिरको दर्शन पनि ग¥यौँ’, चौधरीले भने, ‘अहिले पनि हतार भयो, अर्को समय आउँदा अरु धेरै ठाउँ घुमेर जाने छौँ, यो ठाउँ साँच्चिकै ‘एमेजिङ’ रहेछ, धेरै खुसी लाग्यो ।’ कपिलवस्तु चन्द्रौटाका नविन बेलवासेले यहाँको लामो झोलुङ्गे पुलसँगै पञ्चकोट, शालिग्राम सङ्ग्रहालय र बागलुङ कालिका सामाजिक सञ्जालमा देखेर नै घुम्न आएको बताए । यहाँका स्थल भिडियो युट्यु र फेसबुक पेजमा धेरै भाइरल भएको भन्दै त्यसले धेरैलाई आकर्षित गरेको उनको भनाइ थियो । आफूहरु सात जनाको समूह बनाएर यहाँ आएको र धार्मिक तथा पर्यटकीय ठाउँको भ्रमण गरेर फर्किने बेलवासले बताए । उनले भने, ‘यसभन्दा अगाडि बञ्जीजम्पमा आएको थिए, अहिले यहाँसम्म आएका छौँ, गर्मी बिदाको मेसो मिलाएर आएको बेला ढोरपाटनसम्म पुग्ने योजना छ, यो पुल तर्ने ठूलो रहर थियो, तरियो, बीचमा पुग्दा डर पनि लाग्दो रैछ रमाइलो पनि भयो, यति लामो पुल अहिलेसम्म देखेको थिएन, हाम्रोतिर त छोटोछोटो मात्रै पुल बनेका छन् ।’ पछिल्लो समय अहिलेसम्मकै धेरै पर्यटक बागलुङ आउने गरेको होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । उनले लामो पुलले गर्दा बागलुङमा पर्यटक बढेको र होटल व्यवसाय पनि फस्टाएको बताए । पहिले कालिकामा आउने पर्यटकमध्ये १० प्रतिशत मात्रै बजारमा आउने गरेकामा अहिले ५० प्रतिशत बढी आउन थालेको अध्यक्ष चोखालको भनाइ थियो । अहिले अधिकांश पर्यटक पुल नै हेर्न र पार तर्न आउने गरेको देखिन्छ । ‘अहिले होटल व्यवासय राम्रो भईरहेको छ, होटलमा आउने पाहुनाको संङ्ख्या पनि बढीराखेको छ, हामीहरुले कस्तो सेवा दिएका छौँ, उनीहरुले मूल्याङ्कन गर्ने विषय हो, अहिले पर्यटक बढ्नुको मुख्य कारण भनेकै लामो झोलुङ्गे पुल हो’, उनले भने, ‘पुलको व्यापकरुपमा प्रचार भएकै कारण पर्यटक बढेका हुन्, अहिले अन्य पर्यटकीय ठाउँको पनि विकास भयो, त्यसले गर्दा पनि होला दिनप्रति दिन बागलुङमा आउनेको सङ्ख्या बढिरहेको पाएका छौँ ।’ मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ र म्याग्दीको गलेश्वरको प्रवेशद्वारमै लामो पुल हुँदा दैनिक एक हजार बढी पर्यटक यहाँ घुम्न आउने अध्यक्ष चोखालको भनाइ थियो । पुल हेर्न आएकामध्ये डेढ सय बढी पर्यटक बागलुङका होटलमा बास बस्ने गरेका छन् । अहिले राति घुम्न आउने पर्यटकलाई लक्षित गरी विद्युतीय बत्तीसमेत जडान गरिएको छ । ‘सिङ्गल स्पान’ मा संसारकै लामो भनिएको यो पुल पाँच सय ६७ मिटर लामो छ । विसं २०७७ देखि सञ्चालनमा आएको यो पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङसँग जोडिएको छ । पुल करिब नौ करोड २५ लाखमा सम्पन्न भएको थियो । पुल आसपासमा अहिले व्यावसायिक प्रयोजनका लागि पूर्वाधार निर्माण भइरहेका छन् । रासस
जहाज थप गर्दै बुद्ध एयर, १६ औं एटीआरको रुपमा शुक्रबार नयाँ जहाज आउँदै
फाइल फोटो काठमाडौं । नीजि क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले १६ औं एटीआर जहाजको रुपमा नयाँ जहाज भित्र्याउन लागेको छ । हाल १५ वटा ७२ तथा ४२ सिट क्षमताको एटीआर जहाजबाट उडान गर्दै आएको बुद्धले नयाँ जहाज थप गर्न लागेको हो । १६ औं जहाजको रुपमा ओमानको मस्टकबाट ल्याउन लागेको नयाँ जहाज शुक्रबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा अवतरण हुने बुद्धले जनाएको छ । बुद्धले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) सँग अनुमति लिएर शुक्रबार जहाज अवतरण गर्न लागिएको जनाएको छ । क्यानको अनुमति अनुसार बुद्धको नयाँ जहाज शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण हुने क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उनका अनुसार प्राधिकरणले थपिन लागेको जहाजलाई ९ एन–एएनडब्लु कलसाइन दिएको छ । जहाज ल्याउनका लागि बुद्धले यसअघि नै रिष्ठ पाइलट क्याप्टेन प्रमोद थापा र गौरव बोहराले ओमानको मस्कट पठाएको थियो । उनै पाइलटले नयाँ जहाज ल्याउन लागेका हुन् । पुरानो जहाज बिक्री गरेर बुद्धले हाल एटीआर कम्पनीका ४२ र ७२ सिटे १५ वटा जहाजबाट आन्तरिक उडान गर्दै आएको छ । सन् २००८ मा ४२ सिट क्षमताको पहिलो एटीआर जहाज भित्र्याएको थियो । बुद्धसँग हाल ३ वटा ४२ सिटे र बाँकी १२ वटा ७२ सिट क्षमताको एटीआर जहाज रहेको थियो । शुक्रबार ७२ सिट क्षमताको नयाँ एटीआर जहाज भित्रिएसँगै बुद्धसँग १६ वटा जहाज हुनेछ । बुद्ध एयरले सुरुवाती चरणमा उडान सुरु गरेको (२५ वर्ष) २ थान बिचक्राफ्ट ‘बी १९०० डी’ जहाज बिक्री गरेको छ । १९९७ सेप्टेम्बर ३० मा नेपाल पहिलो पटक नेपाल ल्याईएको बिचक्राफ्ट जहाज २५ वर्ष सञ्चालन गरेर गत माघमा क्यानडाको कम्पनीलाई बिक्री गरेको हो ।