काठमाडौं । सिम्रिक एयर नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) लाई बक्यौता रकम भुक्तानी गरेको छ । लामो समयदेखि बक्यौता रकम भुक्तानी नगरेको भन्दै प्राधिकणले सिम्रिक एयरको जहाज नै ग्राउण्डेड गरेपछि कम्पनीले ५५ लाख १२ हजार रुपैयाँ भुक्तानी गरेको हो ।
कम्पनीले उक्त रकम आइतबार बुझाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शुक्रबारदेखि कम्पनीका सबै उडानमा प्रतिवन्ध लगाएको थियो ।
बक्यौता रकम भुक्तानी नगरेको तथा प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडानमा रोक लगाईएकोे प्राधिकरणले जनाएको थियो ।
सिम्रिकले बक्यौता रकम भुक्तानी गरेसँगै कम्पनीमाथि लगाईएको उडान प्रतिबन्ध फकुवा भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
उनका अनुसार कम्पनीले कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाडौंबाहिरका ३१ वटा विमानस्थललाई बुझाउनुपर्ने ल्यान्डिङ पार्किङ, एयर नेभेगिसनलगायत शुल्क पटक पटक ताकेता गर्दा पनि भुतानी गरेको थिएन ।