सुनसान बन्दै पर्यटकीयस्थल मानुङकोट

काठमाडौं । पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे तर यतिबेला अहिले सो स्थानमा पर्यटकको चहलपहल घटेको छ । विशेष गरी जाडो महिनामा कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा पर्यटकको चहलपहल हुने गरेको छ । गर्मी मौसम भएका कारण पर्यटक मानुङ नउक्लिएको हुनसक्ने आँकलन गरिएको छ । जाडो महिनामा मानुङकोटमा पर्यटकको भीड हुने व्यास–५वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले भने, “मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिरोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।” अहिले पनि अलिअलि पर्यटक आउने उनको भनाइ छ । जाडो मौसममा भने दैनिक सयौँको सङ्ख्यामा पर्यटक मानुङकोट पुग्ने गरेका छन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल खुुल्ने क्रम बढेको छ । उनले भने, “मानुङकोटको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले पनि प्रयास गर्दै आइरहेको छ । प्रत्येक वर्ष मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता हुँदै आएको छ ।” मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । खानेपानीको अभावमा विसं २०५२ मा मानुङकोट छाडेकी बसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आएकी छिन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उनले बताइन् । मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ । रासस

कीर्तिमानी पर्वतारोहीलाई स्वागत

काठमाडौं । तीन महिनामा १४ हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका दुई जना पर्वतारोहीलाई स्वागत गरिएको छ । शनिवार नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो । शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए । पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण संघ लगायत विभन्नि पर्यटनसँग सम्बन्धित संघसंस्था एवं आरोहीहरु विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागतका लागि पुगेका थिए । हरिला र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् ।

ढोरबाराहीमा पर्यटकको आकर्षण बढ्दै, बोली नफुटेको बच्चा कुण्डमा डुबाएपछि बोल्ने विश्वास

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-९ वाजस्थलामा अवस्थित ढोरबाराही मन्दिरमा प्रत्येक दिन कुण्डमा बालबच्चालाई चुर्लुम्म डुबाएर निकालेको देखिन्छ । बच्चालाई कुण्डमा डुबाउनुको रहस्य भने अचम्मको छ । लामो समयसम्म बच्चाको बोली नफुटेको अवस्थामा मन्दिरको दर्शन गराएर बच्चालाई त्यहाँको कुण्डमा डुबाएर निकालेपछि बोल्छन् भन्ने विश्वासका कारण पछिल्लो समयमा टाढा–टाढाबाट बालबच्चा लिएर अभिभावक मन्दिरमा पुग्ने गरेको मन्दिरका पुजारी चिरञ्जीवी लम्सालले बताए । ‘बच्चा नबोलेको भन्दै मन्दिरमा दैनिक न्यूनतम एक–दुई जनादेखि १२–१५ जनासम्म बच्चा लिएर आउने गरेका छन्’, उनले भने, ‘मन्दिरको दर्शन गरी कुण्डमा डुबाएर लगेपछि यहाँ आउनेमध्ये अधिकांशको बोल्ने आउने गरेको पाइएको छ ।’ बोली खुलाउनका लागि कैयौँ स्थानमा उपचार गरेर सम्भव नभएका पनि यहाँ आएर दर्शन गरेसँगै बोल्ने गरेको विश्वासका कारण मन्दिरप्रतिको आस्था अझै बढेको छ । बोली नखुलेर पूजा गरी गएका अभिभावकहरू बच्चा बोलेपछि पुनः दर्शनका लागि आउने गरेका कारण पनि विश्वास झन्–झन् बढ्दै गएको उल्लेख गर्दैै उनले पछिल्लो समयमा सञ्चारमाध्यमबाट हुने गरेको प्रचार–प्रसारले पनि मन्दिरप्रतिको आस्था अझै जगाएको बताए । चारैतर्फ वनजङ्गलले घेरिएको पहाडको बीचमा रहेको यस मन्दिर र परिसरमा नै रहेको रहस्यात्मक लहरी आउने पानीको कुण्ड यहाँको विशिष्टता हो । बराहलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिने गरिएको छ । मन्दिर स्थापनाको यकिन तथ्य फेला नपरे पनि प्राचीनकालदेखि नै यसको अस्तित्व रहँदै आएको पाइएको छ । स्कन्दपुराणको हिमवत्खण्डमा ढोरबाराहीको महिमाबारे चर्चा गरिएका कारण पनि यसको महिमा र गरिमा चुलिएको छ । मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घन्टमध्ये एउटामा नेवारी भाषामा नेपाल संवत् ९६७ लेखिएको पाइएको पुजारी लम्सालको भनाइ छ । त्यसअघिका अन्य प्रमाण भने फेला नपरेको उनले बताए । मन्दिरमा प्रत्येक नयाँ वर्षको दिन, बडादसैँ, चैतेदसैँको दुर्गा पक्ष, श्रीपञ्चमीका साथै अन्य तिथि र पर्वमा ठूलो सङ्ख्यामा भीड लाग्ने गरेको छ । मन्दिरमा बोका, राँगाको बलि दिइन्छ भने परेवा उडाउने प्रचलन छ । मन्दिरमा एकादशी, औँसी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर भने बलि दिइँदैन । ती दिनमा अन्य नियमति पूजाआजा भने गरिन्छ । मन्दिरमा तनहुँसँगै देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् । बोली नखुलेका बच्चाको बोली आउने विश्वासका कारण पछिल्ला समयमा टाढा–टाढाबाट दर्शनार्थी आउने गरेको पुजारी लम्सालले बताए । विदेशमा विभिन्न सेवा पेसाका क्रममा गएका व्यक्तिहरू पनि बच्चाको बोली नखुलेपछि नेपालमा फर्केर ढोरबाराहीको दर्शन गर्ने गरेका छन् । मन्दिर परिसरमा रहेको कुण्डमा रहस्यात्मक लहरी ‘पानी घटबढ हुने’ छुट्नु यहाँको अर्को विशिष्टता हो । परिसरमा लगभग १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुईवटा शिला छन् । सामान्यतः पन्ध्र मिनेटदेखि आधा घन्टाको अन्तरालमा छुट्ने लहरीलाई धार्मिक आस्था विश्वाससँग जोडेर हेरिन्छ । लहरी चलेर एकैक्षणमा भरिने पानीको कुण्ड क्षणभरमा नै सुक्ने गर्दछ । लहरी चलेका बेलामा गरिने पूजाआजालाई अझै महत्वका साथ हेर्ने गरिएको छ । नबोल्ने बच्चालाई मन्दिरमा दर्शन गराए लहरी चलेका बेलामा कुण्डमा डुबाएर निकाल्ने प्रचलन छ । ढोरबाराही माता प्रशन्न हुँदा लहरी छुट्ने धार्मिक कथन एवं यहाँ छुट्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रूपमा लिइने गरिएको छ । लहरी छुट्ने मुख्यद्वारमा बस्ने रजबामलाई साक्षत् बराह भगवान्का रूपमा लिने गरिन्छ । लहरीका क्रममा मात्रै देखिने रजवामको दर्शनलाई भक्तजनले शौभाग्यका रूपमा लिने गरेका छन् । हिउँदयाममा केही समय लहरी नछुट्ने र त्यस समयमा ढोरबाराही माता माइत जाने भएकाले लहरी नछुट्ने किंवदन्ती पनि चल्दै आएको छ । ढोरबराहप्रतिको आस्था र विश्वास बढ्दै गएका अवस्थामा स्थानीय युवाहरू पनि यहाँको संरक्षण र विकासमा लागिपरेका छन् । ढोरबराह क्षेत्रको संरक्षण र विकास गर्दैै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सम्बद्ध क्षेत्रमा निरन्तर खबरदारी गर्दैै आइएको फिर्दी युनाइटेड क्लबका सचिव मनोज बानियाँले बताए । ढोरबराह मन्दिरप्रतिको धार्मिक पर्यटकीय आकर्षण दिनप्रतिदिन बढ्दै गएको ढोरबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं शुक्ला गण्डकी नगरपालिका–९ का वडाध्यक्ष बाबुराम पुलामीले बताए । ‘बोली नखुलेकाको मन्दिरको दर्शन गरेपछि बोल्न थालेका प्रत्यक्ष प्रमाणहरू हाम्रा वरपर नै छन्’, उनले भने, ‘पछिल्लो समयमा प्रचार–प्रसारले देशका टाढा–टाढाका साथै विदेश गएका व्यक्तिहरू पनि बोली आउने विश्वाका कारण मन्दिरमा दर्शन गर्न आउँछन् ।’ रासस