जलविरे झरनाबाट २८ लाख रुपैयाँ राजस्व संकलन

चितवन । जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढेको सो झरना पछिल्लो समय गाउँपालिकाको चिनारी समेत बन्दै गइरहेको छ । झरना गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ । झरना देखाएर गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २८ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । यहाँ प्रवेश गर्ने पर्यटकबाट ५० शुल्क लिने गरिएको छ । स्थानीय र विद्यार्थीलाई २० लिने गरेको गाउँपालिकाले जनाएको छ । यहाँ झरनासँगै अन्य पर्यटकीय गतिविधि पनि हुने गरेका छन् । क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र बाहिरी देशका समेत पर्यटक यहाँ आउने गरेका छन् । विदेशीका लागि क्यानोनिङ प्रतिव्यक्ति पाँच सय, वनभोजको एक हजारदेखि तीन हजारसम्म र फिल्म सुटिङको तीन हजारदेखि पाँच हजारसम्म लिने गरिएको छ । जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले प्राकृतिक सुन्दरता र चिसो एवं शान्त वातावरणका कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको बताए । उनले दैनिक एक सयदेखि डेढ सयसम्म पर्यटक यहाँ घुम्न आउने गरेको जानकारी दिए । ‘नयाँ वर्षका दिन पन्ध्र सय जना आएको तथ्याङ्क छ’, उनले भने, ‘जाडोको समयमा पनि विभिन्न जिल्लाबाट भ्रमण टोली आउने गरेका छन् ।’ उनले यस वर्ष झन् धेरै पर्यटक जलविरे झरनामा घुम्न आउने अनुमान गरिएको बताए । विकास समितिले झरना र यहाँ भइरहेका विकास निर्माणको रेखदेख, पर्यटकका समस्या समाधान र गुनासो सुन्ने काम गरिरहेको उनले बताए । पर्यटक यहाँ स्वतःस्फूर्तरूपमा आउँछन् । भारतबाट समेत आनन्द लिन यहाँ पर्यटक आउने गरेका छन् । जुनसुकै समयमा पुग्ने पर्यटक सो झरना हेरेपछि मन्त्रमुग्ध हुन्छन् । झरनामाथि रहेको गाउँ याकराङमा होमस्टे (घरबास) को समेत व्यवस्था रहेको समितिका अध्यक्ष गुरुङले बताए । नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको एक सय दुई मिटर लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ । झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सालगायतका जिल्लाबाट पर्यटक आउँछन् । नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गर्ने लामो दूरीका सवारीसाधन पनि यहाँ रोकिएर झरना अवलोकन गर्न पुग्ने गर्छन् । विसं २०६९ देखि पर्यटन विकास सुरु भएको यहाँ पछिल्लो समय पूर्वाधार निर्माणले पनि फड्को मारेको छ । झरना पुग्ने सडक निर्माणसँगै शौचालय, गोलघर, चेन्जिङ रुम र तलाउ निर्माण गरिएको छ । अन्य भौतिक संरचना र झरनाको सौन्दर्यकरणका काम भइरहेका छन् । यस्तै प्रदेश सरकारको सहयोगमा सिँढी, रेलिङ र पौडीपोखरी निर्माण गरिएको छ । यस वर्ष झरनाको विकासका लागि रु ३५ लाख बजेट विनियोजन भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । ‘झरनाको प्राकृतिकस्वरुप नबिग्रने गरी जिपलाइन अथवा साइक्लिङ निर्माणको तयारी गरेका छौँ’, गुरुङले भने, ‘पर्यटकीय गतिविधि बढाउने अन्य संरचना पनि निर्माण गर्ने योजनामा छौँ ।’ यस वर्ष गाउँपालिकाले झरनाको सरसफाइमा विशेष ध्यान दिने अध्यक्ष गुरुङले बताए । ‘सरसफाइका लागि कर्मचारीको व्यवस्था गरेका छौँ, झरनासम्म खानेपानी र विद्युत्को समेत व्यवस्था गर्दैछौँ’, उनले भने । झरना नजिकै तीन वटा सटर निर्माण गरिएको छ । त्यहाँ जाने पर्यटकले खाजा खानका लागि सहज हुनेछ । उनले झरनाबाट गाउँपालिकाले आम्दानीभन्दा पनि प्राकृतिक स्रोतको संरक्षण र त्यसको व्यवस्थापनमा जोड दिने बताए । उनले झरना क्षेत्रमा कोसेली घरसमेत निर्माणको तयारीमा रहेको जानकारी दिए । ‘इच्छाकामनामा उत्पादन भएका वस्तु कोसेली घरमा राखिने छ । यहाँ आउने पर्यटकले स्थानीय उत्पादन घर लैजान पाउनु हुनेछ’, उनले भने । यहाँ झरनाकै कारण होटल बढेका छन् भने व्यवसाय पनि बढेको अध्यक्ष गुरुङको भनाइ थियो । रासस

दुई सातादेखि अवरुद्ध बाजुराको कोल्टी हवाई उडान सञ्चालनमा

बाजुरा । कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले राससलाई जानकारी दिएका छन् । सुदूरपश्चिम र कर्णालीका पहाडी र हिमाली जिल्लामा वर्षायामको समयमा जोखिम उडान हुने भएको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले गत साउन १४ गतेदेखि सुदूर र कर्णलीका पहाडी र हिमाली जिल्लामा हवाई उडानमा रोक लगाएको थियो । चौतर्फी आलोचना तथा जनगुनासोपछि प्राधिकरणले बिहीबारबाट मौसम अनुकूल भए सुदूर र कर्णलीका विमानस्थलमा १२ः३० बजेपछि पनि उडान भर्न पाइने निर्णय गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण कोल्टीका प्रमुख वीरबहादुर बुढाले जानकारी दिए । ‘विमानस्थलको ‘अब्जेक्सन आवर’ बिहान ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो, सुदूर र कर्णलीका सबै विमानस्थलमध्ये जुम्लाको ‘जुम्ला’ विमानस्थल बाहेक सबैको ‘अब्जेक्सन आवर’ ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो’, उनले भने । त्यसैले ‘जुम्ला’ विमानस्थलबाहेक सुदूर र कर्णलीमा सञ्चालनमा रहेका सबै विमानस्थलमा प्राधिकरणले यो अवधिमा मात्रै उडान जोखिममुक्त हुने भएकाले वर्षायाममा विमानस्थलले आफ्नो ‘अब्जेक्सन आवर’ भित्र मात्रै उडान भर्न पाउने निर्णय गरेको थियो । जनगुनासो तथा पहाडी र हिमाली जिल्लाका नागरिकको अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले फेरि मौसम अनुकूल भए बिहाज ६ बजेदेखि साँझ ६ बजेसम्म उडान भर्न पाउने निर्णय गरेको हो । प्राधिकरण कोल्टीका अनुसार बाजुराको विकट क्षेत्रमा रहेको ‘कोल्टी’ विमानस्थलबाट दैनिक दुईदेखि बढी नियमित हवाई उडान हुन्छन् । कोल्टी–नेपालगञ्ज,नेपालगञ्ज–कोल्टी,कोल्टी–धनगढी र धनगढी–कोल्टीका लागि नेपाल एयरलाइन्स, सीता एयर, तारा एयर र समिट एयरले कोल्टीबाट उडान भर्दै आएका छन् ।

बङ्गलादेशबाट प्लेन चार्टर्ड गरेर आए ७०० पर्यटक, एअरपोर्टमा पञ्चेबाजा बजाएर स्वागत

काठमाडौं । बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक जहाज चार्टर्ड गरेर नेपाल आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । नेपाल आएका बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउण्ड ह्यान्डलिङ’ गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आएको टोली हालसम्मकै ठूलो हो । राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बङ्गलादेशी पर्यटक नेपाल आएका हुन् । एउटै कम्पनीमार्फत ठूलो समूहमा बङ्गलादेशी पर्यटक भित्रिएको पहिलो पटक भएको पाण्डले बताए ।