दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

जाजरकोट । मौसम खराबीका कारण कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो । डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन । हवाई उडान प्रभावित भएपछि नेपालगञ्ज विमानस्लथमा बस्नु परेको ठूलीभेरी नगरपालिका डोल्पाका इञ्जिनियर राजेन्द्र ठकुल्लाले जानकारी दिए । उनले भने, ‘दुई दिन भइसक्यो जहाज कुरोको, मौसममा सुधार नआउँदा डोल्पा जान सकिएको छैन । स्थलमा मार्गबाट जान पनि समस्या छ ।’ सडक यातायात भरपर्दो नहुँदा हवाई उडान सेवा लिनुपर्ने बाध्यता छ । तर मौसम प्रतिकुल बन्दा यात्रुहरुलाई समस्या हुँदै आएको छ । डोल्पामा सडक पुगेपनि वर्षायाममा सहज तरिकाले यात्रा गर्न अझै समस्या छ । खोलामा पानीको सतह बढेका कारण यात्रामा चुनौती हुँदै आएको हो । हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । नेपालगञ्ज विमानस्थल प्रशासनका अनुसार मौसममा सुधार भएको छैन । रासस

प्रतिकूल मौसमले आन्तरिक हवाई उडानमा समस्या, अन्तर्राष्ट्रिय नियमित सञ्चालन

काठमाडौं । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएको जानकारी दिए । आन्तरिक उडान रोकिए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उनले उल्लेख गरे । विभिन्न गन्तव्यमा उडान रद्ध भएको एयरलाइन्स कम्पनीले जनाएका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सुर्खेतको दुई र तुम्लिङटार गन्तव्यको एक उडान रद्द भएको छ । पोखराबाट भरतपुर र पोखरा-नेपालगञ्जको सबै उडान रद्द गरिएको छ । काठमाडौं-पोखरा गन्तव्यको उडान सामान्य असर परे पनि केहीबेर अघिदेखि पुनः उडान सञ्चालन गरिएको उनको भनाइ थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ । आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रासस

पुम्दीकोटको अर्को आकर्षण, सुमेरु पर्वत

गण्डकी । पोखराको नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा सुमेरु पर्वत आकर्षणका रुपमा देखिएको छ । समुदायको सहयोग एवम् पुम्दीकोट विकास समितिको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाइको महादेवको मूर्तिले स्वदेशी एवम् विदेशी पर्यटकलाई आकर्षित गरिरहेको यसस्थलमा नजिकैको अर्को थुम्कालाई सुमेरु पर्वतका रुपमा विकास गर्न लागिएको हो । महादेवस्थललाई कैलाशका रुपमा लिँदै नजिकै जोडिएको अर्को थुम्कालाई सुमेरु पर्वतका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण गरिएको पुम्दीकोट विकास समितिका सदस्य मातृका बरालले जानकारी दिए । पुम्दीकोटको वृहत् गुरुयोजना अनुसार यस क्षेत्रको समग्र विकास अघि बढिरहेको बताउँदै उनले विशाल मूर्तिस्थापनाका साथै नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिनेगरि संरचना निर्माण भइरहेको जानकारी दिए । ‘विशालमूर्ति रहेको स्थान (कैलाश) र सुमेरु पर्वतलाई जोड्ने गरी विद्युतीय चियरकार निर्माण गर्ने योजना समेत राखेका छौं’, उनले भने,’करिब चार सय मिटरको दूरीमा रहेका यी स्थललाई जोड्ने दीर्घकालीन लक्ष्य अनुसार नै चियरकार निर्माणको सोच अघि बढाइएको हो ।’ सुमेरु पर्वतलाई झकिझकाउ बनाउने गरी काम भइरहेको र त्यहाँ माता पार्वती र कुमार कार्तीकेयको मूर्ति तयार गरिसकिएको छ । सुमेरु पर्वत निर्माणका लागि जमिन सम्याउने, मूर्ति एवम् पूर्वाधार निर्माणका लागि करिब दुई लाख खर्च भइसकेको इञ्जिनीयर बाबुराम बरालले जानकारी गराए । गुरुयोजना अनुसार नै पुम्दीकोटमा विशाल महादेव मूर्तिसहित प्रशासनिक भवन र गुरुमहाराज आश्रम आदि निर्माण भइसकेका छन् । समितिले शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य राखेको छ । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ आदि स्थापनासँगै परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको छ । पछिल्ला समयमा पुम्दीकोट धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित बन्दै गर्दा यस क्षेत्रका बाटाघाटा एवम् अन्य विभिन्न पूर्वाधार निर्माणले गति लिएको छ । पुम्दीकोटमा स्वदेशी एवम् विदेशी पर्यटकको बढिरहेको आकर्षणले यो पोखराको महत्वपूर्ण गन्तव्यका रुपमा स्थापित बनिरहेको विशाल महादेव मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । गुरुयोजनामा समेटिएका पूर्वाधार निर्माणका काम बढिरहेको बताउँदै उनले हालसम्म करिब २६ करोड लगानी भइसकेको जानकारी गराए । समितिले मूर्तिसहित संरचना निर्माणका लागि ४० करोड लागत अनुमान सहितको गुरुयोजना तयार गरेको थियो । निर्माण कार्यका लागि समिति स्वयम्ले नै सक्रियता देखाइरहेका कारण लक्षित लागत अनुमानमा अन्य बाँकी काम सम्पन्न हुने विश्वास लिएको अध्यक्ष बरालले बताए । ‘विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन्’, उनले भने, ‘यहाँ देखिएको आकर्षणले योस्थल पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा स्थापित बन्ने हाम्रो विश्वास छ ।’ पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँबाट पोखरा र लेखनाथका विभिन्न भू–भागसँगै धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खलालाई नाङ्गो आँखाले अवलोकन गर्न सकिन्छ । प्रकृतिको बरादानयुक्त स्थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित विसं २०७३ फागुनमा यहाँ महाशिवपुराण लगाइएको थियो । उक्त समयमा महायज्ञबाट छ करोड १८ लाख रुपैयाँ सहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो । समितिले लक्षित पूर्वाधार निर्माणलाई सम्पन्न गर्ने लक्ष्यसहित २०७८ सालमा दोस्रो पटक महायज्ञ लगाएको थियो । उक्त महायज्ञबाट करिब तीन करोड दान सहयोग प्राप्त भएको थियो । यहाँको विकासलाई पछिल्लो समयमा सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहले सक्रियता देखाएका छन् । विभिन्न तिथि तथा पर्वमा ठूलो सङ्ख्यामा धार्मिक पर्यटक पुम्दीकोट आउने गरेको मूल पूजारी भरत पौडेल बताउँछन् । प्रत्येक दिन बिहान ५ बजेदेखि बेलुका सन्ध्याकालीन आरतीसम्म यस धाममा पूजाआजा हुने गरेको उनले जानकारी दिए । समय–समयमा आउने भक्तजनबाट हुने गरेको दान सहयोगबाट मात्रै हालसम्म पुम्दीकोटमा रु पाँच करोड सङ्कलन भइसकेको छ । गत शिवरात्रिमा मात्रै ५० हजारभन्दा बढी दर्शनार्थी पुम्दीकोट आएका थिए । सदस्य बरालका अनुसार समितिले शिवलिला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माणका लागि छलफल समेत गरिरहेको र त्यसका लागि करिब पाँच करोड खर्च लाग्ने अनुमान गरिएको छ । निर्माणकार्य अन्तिममा पुगेको सुमेरु पर्वत लगायत बनिरहेका संरचनाले यहाँको गरिमा र महत्वलाई अझै बढाउने उनले बताए । रासस